|

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट ५५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ।

असार १ गते प्रदेशले बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार बागमती प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको छ। कोरोना महामारीका कारण आर्थिक तथा विकास निर्माणको क्षेत्रमा परेको प्रभाव न्यूनीकरणको लागि पुनरुत्थान र पुनर्भरणको कार्यक्रम सञ्चालन गर्ने नीति लिएको प्रदेश सरकारले आगामी वर्ष बजेटको आकारमा थारै वृद्वि गर्दै ५५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।

प्रदेशले चालु आव २०७७-०७८ मा ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

 प्रर्याप्त स्रोतको पहिचान नगरी बजेटको आकार मात्रै बढाउँदा आम नागरिक तहसम्म आर्थिक भार बढ्नसक्ने भन्दै आर्थिक मामिला मन्त्रालयले चालु वर्षको बजेटमा थारै वृद्वि गर्दै बजेट ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रवक्ता विमला अधिकारीले जानकारी दिइन्।

मन्त्रालयले चालु वर्षमा करिब ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ। बितेको वर्ष ६० प्रतिशत हाराहारीमा मात्रै बजेट खर्च भएको थियो।

अधिकारीले आगामी आवको लागि प्रदेश सरकारले ल्याउन लागेको बजेटको आकार ठ्याक्कै भन्न नमिल्ने भन्दै चालु आवको भन्दा केही बढाएर ल्याउने तयारी भइरहेको बताइन्। उनले कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाको कारण राजस्व उठाउन नसकेको भन्दै राजस्व नउठी बजेट बढाएर ल्याउन पनि नसक्ने बताइन्।

अधिकारीले भनिन्, ‘बजेट यति नै आउँछ त म भन्न सक्दिनँ। तर, गतवर्षको तुलनामा यस वर्षको आवश्यकताहरू पनि बढेको छ। प्रदेश सरकारले गर्नुपर्ने काम र जिम्मेवारी पनि बढेको छ। त्यसैले चालु आवको बजेटभन्दा थोरै मात्रामा बढेर आउँछ।’

अधिकारीले नभने पनि प्रदेश सरकारले आगामी आवको लागि भोलि सार्वजनिक गर्न लागेको बजेटको आकार ५५ अर्बको हाराहारी हुने स्रोतको दाबी छ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालु आवको बजेटको आकारलाई केही मात्रामा बढाइएको बताए। उनले बजेटको तयारी अन्तिम अवस्थामा पुगेको भन्दै वर्तमान अवस्था र जनताको आवश्यकताअनुसारको कार्यक्रमलाई बजेटकमा प्राथमिकता दिइएको बताएका छन्।

कोरोना महामारी नियन्त्रणको लागि स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिनुका साथै कोरोनाबाट आर्थिक क्षेत्र र विकासमा परेको असर न्यूनीकरण गर्न उत्पादन र रोजगारी सिर्जनाको कार्यक्रमलाई जोड दिएर बजेट बनाउन लागिएको मन्त्री ढुंगेलले बताए। उनले कोरोनाबाट प्रभावित भएकाहरुलाई रोजगारीमा जोड्दै आर्थिक वृद्वि गर्न कृषि र उद्योगमा जोड्ने कार्यक्रमलाई पनि बजेटको प्राथमिकतामा राखिएको बताए।

स्वास्थ्य र रोजगारीको विषयलाई प्रदेशको नीति तथा कार्यक्रममा पनि उच्च प्राथमिकता दिइएको छ। प्रदेशका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने उद्देश्यले ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी हुँदै गएको भन्दै सोही कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने गरी बजेट निर्माण भइरहेको मन्त्रालयको भनाइ छ।

साथै साझेदारीमा आधारित कृषि उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक क्षमता विकाससम्बन्धी तालिम, प्राविधिक सीप र सहयोग उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.