|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार १५ देखि रेल चलाउने गरी तयारी गर्न रेल विभागलाई निर्देशन दिएका छन्।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा मन्त्री नेम्वाङले आवश्यक तयारी सकेर असार १५ गते प्रधानमन्त्रीबाट रेलको उद्घाटन गर्नेगरी काम गर्न निर्देशन दिएका हुन्। 

उनले त्यसका लागि आवश्यक समन्वयका लागि मन्त्रालय तयार रहेको बताए। ‘लकडाउन खुल्नेबित्तिकै छिटो जनकपुर–जयनगर रेल सञ्चालन गर्नुपर्छ। मैले भन्नुपर्‍यो भने त तपाई असार १५ गतेदेखि रेल चलाउने गरी तयारीमा लाग्नुस् भन्छु', उनले भने, 'त्यसका लागि चाहिने के–के हो बुँदागत रुपमा तयारी गर्नुस्, १५ गते प्रधानमन्त्री लगेर रेल उद्घाटन गर्ने हो लकडाउन पूर्णरुपमा खुल्दा। भएन भने भर्चुअलबाट पनि हुन्छ।

​मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् ।

उनले भने,  ‘साना वोटहरु हाम्रा नदी नालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदारुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहान्छु।’

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पारे। खुवालुङको सम्बन्धमा उठेका जन आवाजलाई ध्यान दिने उनको भनाई छ। त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.