यस्ताे छ सरकारको पूर्व-तयारी

|
फाइल तस्बिर

काठमाडौं : खानी तथा भूगर्भ विभागले यस वर्ष गण्डकी प्रदेशमा बढी बाढी–पहिरो जाने अनुमान गरेको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी सोमबार सञ्चारकर्मीसँग भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा भूगर्व विभागका उप-महानिर्देशक डा.राजेन्द्र प्रसाद भण्डारीले अघिल्लो वर्षहरुमा गएको बाढी–पहिरोको तथ्यांकले पनि यस वर्ष ती क्षेत्रमा जोखिम भएको बताएका छन्।

उनले पछिल्लो समय बढ्दो बस्ती र भू–वनाेटका कारण पहिरो जाने गरेको बताए। भने,‘अघिल्लो वर्षहरुको बाढी–पहिरोको तथ्यांक हेर्दा यसपाली पनि त्यही क्षेत्रमा बढी पानी पर्ने देखिन्छ,यस हिसाबले बढी पहिरोको जोखिम पनि त्यही छ।’

उनका अनुसार यस वर्ष बढी पानी पर्ने भएकाले पूर्वका जिल्लामा पनि उत्तिकै पहिरोको जोखिम छ। विभागसँग भएको स्रोत साधन र दक्ष जनशक्तिले भ्याएसम्म विपद्को प्रतिकार्य गर्ने उनको भनाई छ।

‘जहाँ पहिरो जान सकिने ठाउँ छैन,त्यहाँ ड्रोन उडाएर पनि पहिरोको कारणबारे जानकारी गरिरहेका छौँ,यस वर्षको विपद् जोखिम कम गर्न लागि पर्ने छौँ,’उनले भने। 

जल तथा मौसम विज्ञान विभागका मौसम विद् विभूति पोखरेलले यस वर्ष बढी मनसुन सक्रिय हुने भन्दै बढी बाढी–पहिरोको जोखिम जाने भएकाले अहिलेबाटै सचेत हुनुपर्ने सुझाइन्।

पाेखरेलले भनिन्,‘अबदेखि मनसुन सक्रिय हुँदै गएको छ,यस वर्ष अघिल्लो वर्षाको तुलनामा यस वर्ष बढी पानी पर्ने देखिएको छ,त्यसैले हामी सबै सर्तक हुन जरुरी छ।’

‘पहिरोबारे अगाडि नै जानकारी  दिन्छौँ’

विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले यस वर्षको बाढी–पहिरो रोकथाम गर्न विशेष कार्य याेजना बनाएकाे बताए।

‘हामीले बाढी–पहिरो रोकथाम गर्न ९ वटा जिल्लाबाट पहिरोको पूर्व सूचना दिने व्यवस्था गरेका छौँ,’उनले भने,‘अघिल्लो वर्षहरुमा यस्तो कार्य गरिएको थिएन,तत्कालै हेली प्याड तथा सामग्री पुर्‍याइने व्यवस्था गरिएकाे छ,दमकल,डोजर तयारी गरी राखिने छ।’

उनले तीन करोड रुपैयाँ बराबरको सामग्री किन्ने व्यवस्था पनि गरेको बताए। ‘नयाँ उपकरणहरु खरिद गर्न लागि परेका छौँ, प्रधानमन्त्री ज्यूले पनि राहत वितरण,उद्धार लगायत काममा कुनै कसरत नराखी गर्नु भनेर निर्देशन दिनु भएको छ,सक्दो काम गर्ने छौँ, देशभर बाढी–पहिराेले १८ लाख व्यक्ति प्रभावित हुने पनि देखिएको छ,’उनले भने।

जलस्रोत तथा सिँचाइ विभागका व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवले ३९ नदीको डिपिआर गरी अहिले दीर्घकालीन नियन्त्रण गरिरहेको बताए। ‘तराई क्षेत्रमा डुबान हुने भएकाले नदी खोलामा तटबन्ध लगाएका छौँ, सिमावर्ती क्षेत्रमा पानीको निकास अवरोध भएर हुन सक्ने बाढी तथा डुबानको सम्भावनालाई पूर्वानुमान गरी भारतको समन्वयमा निकास निकाल्ने छौँ,’यादवले भने।

राजमार्गको अवरोध तत्काल हटाउन डोजर र स्काभेटर राखिने

वर्षातको समयमा धेरै बाढी–पहिरो जान्छ। जस कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र हुने गर्छ। गृह मन्त्रालयको विपद्् तथा द्वन्द्व व्यवस्थापन महाशाखा सहसचिव गोविन्द रिजालले राजमार्गको अवरोध हटाउन अहिले नै ठाउँ-ठाउँमा डोजर र स्काभेटरको व्यवस्था गरेको बताए।

उनले भने,‘जहाँ राजमार्गमा पहिरोले अवरोध गरेको छ,तत्काल हटाउन डोजरको व्यवस्था गरिएको छ,अवरोध हटाउन सडकका सबै हेभी इक्वीप्मेण्ट डिभिजनलाई निर्देशन दिएका छौँ।’

गृह मन्त्रालयले ७७ वटै जिल्लाको विपद् व्यवस्थापन समितिलाई विपद्काे प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको उनले बताए। ‘मन्त्रालयले कुनै पनि ठाउँमा राहतको समस्या हुन नदिने, खोज उद्धार गर्न सबै विभागलाई निर्देशन दिएको छ,’उनले भने,‘सामग्रीहरु पुर्‍याइएकाे छ, कुनै ठाउँमा पुर्‍याउँदै छौँ,राहत व्यवस्थापनको लागि थप रकम पठाउने व्यवस्था मिलाएका छौँ।’

गृह मन्त्रालयले ८५ वटा साना ठूला नदीको कटान नियन्त्रण गर्न निर्देशन दिएकोमा सबै काम सकिएको पनि उनले बताए। 

याे पनि पढ्नुहाेस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.