घरमै सृजनशील बनाउनु अभिभावकको दायित्व

|

टंकप्रसाद ढुंगाना

नेपालमा कोरोनको दोस्रो लहर देखिएसँगै बालबालिकाको रेखदेख गर्ने कुरा धेरै जटिल छ। हालको विषम परिस्थितिमा बालबालिकाहरूलाई कसरी घरभित्रै सुरक्षित राख्ने  भन्ने कुराको पनि जोखिम बढेको छ।

अझ परिवारका सदस्य कोरोना संक्रमण भई आइसोलेसनमा बस्नु परेको अवस्था आएमा बालबालिकालाई सुरक्षित राख्‍न झनै कठिनाइ हुन्छ। किनकि बालबालिकाको बुझ्ने क्षमता कम हुन्छ र परिवारका सदस्यले बुझाउन पनि खासै चासो गरेको पाइँदैन।

अर्को कुरा  बालबालिकाहरू पनि  आफूलाई भइरहेको समस्या, अनुभव र अनुभूति दोस्रो व्यक्तिलाई भन्न सक्ने हुँदैनन्। साना  बालबालिकाहरूलाई आजको यस विषम परिस्थितिमा उचित हेरचाहको जरुरत पर्दछ।  साना बालबालिकाहरूलाई पनि आज संसारभरि देखिएको कोरोना भाइरसको संक्रमणदर  उच्च रहेको छ।

ठूला मानिसको तुलनामा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ। उनीहरूलाई वातावरण अनुकूल हावापानी, घामपानीमा घुलमिल हुन गाह्रो पर्छ। त्यस किसिमको अनुकूलता नहुँदा बालबालिकालाई  ज्वरो, रूघाखोकीझाडापखाला र निमोनियाजस्ता अनेकौं समस्याले पिरोल्छ। त्यसैले अभिभावकले  अहिलेको अवस्थामा उचित स्याहार सम्भार पोसिलो खाना, उचित सरसफाइ र स्वास्थ्यका मापदण्ड अपनाएर घरमा नै सुरक्षित राख्नु अत्यन्तै जरुरी छ।

आजका साना बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन् भन्ने यथार्थ पटक-पटक मनन गर्नु जरुरी छ। कोभिड–१९ को कहरले उनीहरूले प्राप्त गर्नुपर्ने कतिपय आधारभूत आवश्यकतासमेत पूरा गर्न सक्ने अवस्था छैन।

उनीहरूले खाने, बस्ने, खेल्ने, मनोरञ्जनात्मक कार्यमा संलग्न हुने, पढाइ–लेखाइ गर्ने र अन्य आफूले चाहेअनुरूपका कुनै पनि क्रियाकलाप गर्न सकिरहेका छैनन्। यस्तो अवस्थामा आफ्ना अभिभावक नै उनीहरूका लागि गुरु, शिक्षक र उनीहरूका प्रेरणा हुन्।

बालबालिकाहरूलाई उनीहरूका आधारभूत आवश्यकता पूर्ति गर्नमा आमाबुवाको महत्वपूर्ण भूमिका हुन्छ।

बालबालिकाहरूले सोधेको प्रश्नको कति पनि झर्को नमानीकन बुझ्ने भाषामा नै जवाफ दिनुपर्छ। डर देखाउने, अनावश्यक गाली गर्ने, मानसिक यातना दिने जस्ता काम कहिल्यै पनि गर्नु हुँदैन। यसले उनीहरूलाई आत्मबल कमजोरी हुने अवस्था सिर्जना हुन्छ र सिर्जनात्मक काममा अग्रसर हुन रुचि देखाउँदैनन्।

कोरोना महामारीलाई एउटा महामारीको रूपमा बुझ्ने र बुझाउनेभन्दा पनि यस महामारी र महामारीले सिकाएको अनुभूतिलाई  एक अवसरका रूपमा चित्रण गरेर आत्मसात गर्नुपर्छ। आफ्ना बालबालिकाहरूलाई स्याहारसुसार अनि रेखदेख, पालनपोषण गरी एक जिम्मेवार अभिभावकका साथसाथै शिक्षकले विद्यार्थीलाई शिक्षण सिकाइ जसरी गराउँछन्, त्यसरी नै आफ्ना छोराछोरीहरूलाई आफूले जानेका सैद्धान्तिक र व्यावहारिक शिक्षा दिनुपर्छ। 

यस महामारीले सिर्जना गरेको स्थितिलाई अवसरमा बदल्न अभिभावकले पनि महत्वपूर्ण भूमिका खेल्नु आजको एक अनिवार्य आवश्यकता बनेको छ।

अघिपछि कामको सिलसिलामा आफ्ना छोराछोरीहरूलाई समय दिन नसकिने अवस्था थियो। उनीहरूलाई जति समय दिनपर्थ्यो त्यति समय दिन सक्ने समय थिएन। आज त्यो सबै समयलाई समयानुकूल प्रयोग गरी बढीभन्दा बढी आफ्ना छोराछोरीहरूलाई दिन सकिने स्थिति रहेको छ।

बालबालिकाको रुचिका विषयहरूलाई बुझेर सोहीअनुसार घरभित्रै सिर्जनशील र सर्वाङ्गीण वृद्दि तथा विकासमा उनीहरूलाई केन्द्रीकृत गर्न सकिन्छ।

आजभोलिका अभिभावकहरू आफ्ना नानी- बाबुहरूलाई  विद्यालय पठाएर आफूचाहिँ बढी सामाजिक सञ्जालमा लिप्त रहने गरेका प्रशस्त उदाहरण छन्।

तर, अहिलेको समयमा पनि  आफ्ना छोराछोरीहरूको उचित रेखदेख र स्याहारसुसारमा  हेलचेक्य्राइँ र बेवास्ता गरेमा  कोरोना संक्रमणको जोखिम  उच्च रहनुका साथै बालबालिकाहरूको मनोबलसमेत घट्ने सम्भावना धेरै हुन्छ।  

बालबालिकाहरूलाई हाउभाउ चलाख,  बाठो र सिर्जनशील बनाउने या नबनाउने भन्नेमा अभिभावकको ठूलो हात रहन्छ। आज हामी अभिभावकहरूले यस महामारीलाई एक अवसरका रूपमा लिएर आफ्ना बालबालिकाहरूको स्याहारसुसार गरी बढ्दो महामारीमा घरभित्रै उनीहरूलाई सिर्जनात्मक कार्य गराउने प्रयत्न गर्नुपर्छ।

अघिपछि कामको सिलसिलामा आफ्ना छोराछोरीहरूलाई समय दिन नसकिने अवस्था थियो। उनीहरूलाई जति समय दिनपर्थ्यो त्यति समय दिन सक्ने समय थिएन। आज त्यो सबै समयलाई समयानुकूल प्रयोग गरी बढीभन्दा बढी आफ्ना छोराछोरीहरूलाई दिन सकिने स्थिति रहेको छ।

यसबाट एकातिर आफ्ना बालबालिकालाई महामारीबाट बचाउन सकिन्छ भने अर्कातिर आफ्ना छोराछोरीहरूलाई सिर्जनशील भई भोलि किताबी ज्ञान मात्र नभएर व्यावहारिक र सैद्धान्तिक ज्ञान प्राप्त गरी सक्षम बन्दै जानसमेत सघाउ पुग्नेछ।

लेखक बाल संरक्षणसम्बन्धी एक गैरसरकारी संस्थामा संलग्न छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.