|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। 

सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि थापालाई पार्टीले पदमुक्त गर्ने भनी गरेको निर्णय सदर भएको हो। 

यसअघि कारबाही विरुद्ध थापाले दायर गरेको रिटमा अदालतले जेठ २३ गते अन्तरिम आदेश जारी गर्दै उनको पद थमौती गरेको थियो। त्यसविरुद्ध प्रदेससभा सचिवालय र राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदनमा सोमबार सुनुवाई गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खारेज गर्ने आदेश दिएको हो।  

'अन्तरिम आदेश जारी भएपश्चात निवेदक कृष्ण थापालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ समेत बमोजिम पुनः स्पष्टीकरण सोधी थप कारबाहीसमेत सम्पन्न भई विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशमा नयाँ सरकार समेत गठन भइसकेको भन्ने तथ्यमा दुवै तर्फका कानुन व्यवसायीहरुले विवाद गर्नुभएको छैन', आदेशमा भनिएको छ, 'अतः यस अदालतबाट जारी भएको अन्तरिम आदेश पश्चात परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन।’

अन्तरिम आदेश विरुद्धको पुनरावलोकन निवेदन दर्ता गराएर जनमोर्चाले थापालाई दोहोर्‍याएर कारबाही गरेको थियो।

गण्डकी प्रदेशमा जनमोर्चाको समर्थनमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ। उनले कांग्रेससहितको विपक्षी गठबन्धनलाई सहयोग गर्न पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेपछि जनमोर्चाले कारबाही गरेको हो । 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.