|

हेटौंडा : बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलले संसदमा दिएको अभिव्यक्तिको आधारमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध किटानी जाहेरी दर्ताले प्रदेशसभाको विशेषाधिकारको हनन् भएको जनाएको छ।

दलका नेता ईन्द्र बहादुर बाँनियाले सोमबार विज्ञप्ति जारी गर्दै संसदमा दिएको अभिव्यक्तिलाई आधार मानेर किटानी जाहेरी दिनु संविधानको वर्खिलाप भएको जनाएका हुन्।

शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्ति कांग्रेसको आदर्श र संसदको गरिमा विपरित भएकोले आत्मालोचना गरेर संसदको रेकर्डबाट सो अभिव्यक्ति हटिसकेको अवस्थामा प्रहरीमा किटानी जाहेरी दिएर प्रदेशसभाको विशेषाधिकारको हनन् भएको कांग्रेस संसदीय दलको ठहर छ।

कांग्रेसले वैद्यले अभिव्यक्ती फिर्ता लिइसकेको अवस्थामा राजनीतिक प्रतिशोधको आधारमा किटानी जाहेरी दिएको आरोप लगाएको छ। संसदीय दलका नेता बानियाँले सरकारको दवाव र प्रभावमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्व हत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी दिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितीको विश्लेषण गर्दै उदाहरण दिने क्रममा भाववेशमा आएर सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित अभिव्यक्ती नेपाली कांग्रेसको आदर्श , नीति र संसदीय मर्यादा विपरित भएको छ।

सो कुरा जानकारी हुनासाथ दलले नरोत्तम वैद्यलाई उक्त अभिव्यक्ती फिर्ता लिन निर्देशन दिएकोमा निर्देशन बमोजिम वैद्यले अभिव्यक्ति फिर्ता लिई रेकर्डबाट हटिसकेको छ’ बाँनियाले विज्ञप्तिमा भनेका छन्।

नेपालको संविधानको धारा १८७ मा प्रदेशसभाको विशेषाधिकारको उपधारा १ मा प्रदेशसभा पूर्ण वाक स्वतन्त्रता रहने, प्रदेशसभामा दिएको कुनै कुरा वा मतलाई लिएर प्रदेशसभाको सदस्यलाई पक्राउ गर्ने थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन नपाइने भनिएको अवस्थामा संवैधानिक व्यवस्थाको बर्खिलाप गर्दै बद्नियतपूर्ण तवरबाट जाहेरी दर्ता भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसले यस्तो गर्ने अधिकार सरकारको कुनै पनि निकायलाई नभएको भन्दै संवैधानिक मुल्य मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पुगेको दाबी गरेको छ। उसले गैरसंवैधानिक कार्यको प्रदेशसभामा शसक्त प्रतिवाद गर्ने पनि जनाएको छ। जिल्ला युवा संघ मकवानपुरले आइतबार जिल्ला प्रहरी कार्यालयमा वैद्यविरुद्ध ज्यान मार्ने कसुरमा किटानी जाहेरी दर्ता गराएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.