वामदेव गौतमलाई मनाउने प्रयास तीव्र

|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्।

ओलीले पार्टीभित्र ओलीविरुद्ध संघर्षरत बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका हुन्। स्थायी कमिटीको बैठक बोलाउने बिषयमा छलफल भइरहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले भने, ‘अहिले हामी पार्टीभित्र देखिएको समस्या समाधानका लागि विभिन्न कोणबाट छलफल गरिरहेका छौँ। त्यसलाई समाधान गर्नका लागि स्थायी कमिटीको बैठक बोलाउने तयारी भइरहेको छ। तर, टुंगो लागिसकेका छैन।’

अध्यक्ष ओली ०७५ जेठ २ मा फर्कन सहमत भएपछि नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बोलाउन लागेको उनले बताए। त्यसो त नेता नेपाल समूहले सर्वोच्च अदालतले फागुन २३ गते पार्टी पूर्ववत् अवस्थामा फर्किन आदेश दिएपछि यो बैठक राख्न चाहेको थियो। तर, ओलीले नेता नेपाल समूहलाई बाइपास गर्दै एकपछि अर्को कदम चालेकाले पार्टी विभाजनको संघारमा पुगेको छ।

नेता नेपाल समूहको मागलाई सम्बोधन गरेर ०७५ जेठ २ मै फर्किन सहमत भएपछि त्यसमा उनीहरु आश्वस्त छैनन्। आफ्नो पार्टी नेतृत्वको सरकार बहिर्गमन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार नेता नेपाल समूहको स्पष्ट बटमलाइन छ।

ओलीले असंवैधानिक ढंगबाट दोस्रो पटक जेठ ८ गते गरेको संसद् विघटनलाई फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने नेता नेपाल पक्षको अडान छ। तर, पार्टीलाई जेठ २ मै फर्काउन सहमत भएपनि संसद् विघटन फिर्ता लिन ओली तयार छैनन्।

त्यसो त संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपासँगको विपक्षी गठबन्धनमा रहेका नेता नेपाल समूह ओलीले आफ्नो गल्ती सच्याउनुपर्नेमा अडिग छन्।

पार्टी एकताको लागि छलफल भइरहेको भएपनि अहिलेसम्म कुनै सहमति नबनेको नेता नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्य बताउँछन्। ‘हामीले छलफल गरिरहेका छौँ। तर, कुनै सहमति भइसकेको छैन’ उनले भने, ‘हाम्रा मागहरु यथावत् छन्। त्यसमा कुनै फेरबदल हुने सम्भावना छैन।’ 

वामदेवलाई मनाउने प्रयास 

साविक नेकपाभित्रको विवाददेखि नै एकता अभियान चलाउदै आइरहेका उपाध्यक्ष वामदेव गौतम एमाले विवादमा पनि तटस्थ छन्। नेपाल समूहले पार्टी विभाजन गरेर अघिबढे साथ दिने बताउँदै आएका गौतमलाई मनाउन ओली पक्षका नेताहरु पनि लागिरहेका छन्।

उपाध्यक्ष गौतमलाई मनाउनका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल उनकै निवास भैंसेपाटी पुगे। नेताद्वयबीच पार्टीभित्र देखिएको विवादको बिषयमा छलफल भएको उपप्रधानमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए।

विवादको क्रममा यसअघि देखि नै ओलीले गौतमलाई मनाउने प्रयास जारी राखेका छन्। तर, ओलीकै कारणले पार्टीभित्र विवाद बल्झिएको भन्दै उनी ओलीसँग मिल्न तयार भएका थिएनन्।  

शीर्ष नेतालाई दबाव 

ओली र नेपाल समूहबीचको टकराबको कारणले एमाले विभाजनको डिलमा छ। तर, शीर्ष नेतृत्वमा बिवाद रहेपनि दुवै पक्षले लचकता अपनाएर पार्टी एकतालाई बचाउनुपर्ने भन्दै दोस्रो तहका नेताहरुले जोड दिइरहे।

ओली सच्चिएर अघि बढ्न नसक्ने निष्कर्षसहित नेता नेपालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, बेदुराम भुषाललगायतका नेताहरु नयाँ पार्टी गठन गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। तर, नेता नेपाल समूहका प्रभावशाली नेताहरु दुवै पक्षका नेतृत्वमाथि प्रश्न उठाउँदै पार्टी एकताको पक्षमा उभिए।

योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पार्टी विभाजनको पक्षमा नदेखिएपछि नेता नेपाल समूहलाई दबाव बढिरह्यो। संकटको अवस्थामा आफूपक्षका नेताबाट साथ नपाउने संकेत पाएपछि नेता नेपाललाई थप अलमल पैदा भयो। त्यसो त संस्थापन पक्षबाट पनि विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायतका नेताहरुले पार्टी एकताको पहल गरिरहे।

दुवै पक्षका शीर्ष तहका नेताहरुलाई दोस्रो तहको दबाव कायमै रहेको बेलामा सर्वोच्च अदालतले दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसलापछि ओलीलाई पनि नेता नेपाल समूहसहितको स्थायी कमिटीको बैठक राख्न बाध्य बनाएको छ। तर, ओली नेपालसहित ११ जना नेतालाई गरेको कारबाही फिर्ता नलिएर उक्त समूहका अन्य नेतालाई साथमा लिएर अघि बढ्ने रणनीतिमा देखिन्छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.