दोहनकर्तालाई प्रशासनबाट संरक्षण भएको पुष्टि

|

हेटौंडा : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनमा मानव स्वास्थ्यप्रति चिन्ता त छँदैछ, यस्तै गहिरो चिन्ता बनेको छ : प्रकृतिलाई मनलाग्दी र अवैध दोहनबाट जोगाउनु।

मकवानपुरका खोला/नदी किनार र ढिस्कोदेखि चुरे पहाडसम्ममा यतिखेर राज्य संरक्षित माफियाहरूले आँखा लगाइरहेका छन्‌। सबै कुराको साँठगाँठ मिलाउने र रात परेपछि अवैध दोहन र तस्करी हुने क्रम जारी लकडाउनमा पनि रोकिएको छैन। 

स्थलगत रिपोर्टिङमा जाँदा देखिन्छ- सत्ता र शक्ति अवैध क्रसर चलाउनेको हातमा छ। यहाँ उनीहरू जसरी पनि आफ्नो अवैध धन्दा चलाउन सक्छन्‌। चाहे नागरिकले विरोध गरुन्‌ या कागजी कानून बनोस्‌!

जेठ, असार र साउन तीन महिना सबैभन्दा धेरै प्राकृतिक विपत्ति आउने समय हो। जुन समयमा नदीजन्य पदार्थ उत्खननका कारण थप जोखिम निम्तने गर्दछ। त्यसैले, यो समयमा विशेषगरी नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको हुन्छ।

बाढीपहिरो, डुबान र चट्याङजस्ता प्राकृतिक विपत्तिको सामना हरेक वर्ष गर्नुपर्ने जिल्ला मकवानपुर पनि हो। तर, सरकारले अवैध ठहर गरेको नदी दोहन ​हेटौंडाका विभिन्न स्थानमा यतिखेर पनि दैनिक हुनेगरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपद् न्यूनीकरणका लागि भन्दै जिल्लाका ७ स्थानीय तहलाई चैत १६ देखि ३१ गतेसम्म नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको थियो। समितिले अनुमति दिएको १५ दिन म्याद सकिएपछि अनुगमन गर्न हालसम्म कोही पुगेका छैनन्।

क्रसर व्यवसायीले १५ दिनसम्म प्रशासनकै संरक्षणमा नदी दोहन त गरे नै! त्यसयता अढाई महिनासम्म पनि ‘स्टक’ को नाममा नदी दिनहुँ खोतल्दैछन्‌।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा नदीजन्य पदार्थ बेचेर व्यापार घाटा कम गर्ने उल्लेख गरेको छ। देशभित्रै उपयोग गर्न प्राकृतिक स्रोतदोहन मनलाग्दी हुँदा विनाशकारी विपत्ति सामना गर्न परिरहेका बेला सरकारले समस्या झनै बढाउनेगरी बजेटमै यस्तो विवादास्पद विषय राखेपछि सर्वत्र आलोचना भइरहेको छ।

मकवानपुरमा डेढ महिनामा अवैधरूपमा नदी दोहन गर्ने ५१ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा राखेको खबर कानमा पर्‍यो। प्राकृतिक स्रोत संरक्षणमा चासो राख्नेहरूले प्रहरीको सो कदमलाई चासोका साथ लिए।

निषेधाज्ञाले ठप्प बनेको हेटौंडाको चोकमा उभिएका प्रहरीको आँखासामू दैनिक सयौं सवारीसाधन नदीजन्य पदार्थ बोकेर दौडने गर्थे। सवारीसाधन चलाउनेहरूलाई कसैले रोक्न सक्दैनथ्यो। नदीजन्य पदार्थ बोकेका गाडीहरूको गति यस्तो लाग्छ कि यदि कानून नलाग्ने हो भने चालकहरूले पैदलयात्रु र अन्य सवारीसाधनलाई किच्दै हिँड्दा हुन्‌।

​प्रहरीले नदीजन्य पदार्थ अवैध ढंगले बोक्ने गरेका सवारीसाधन नियन्त्रणमा लिएको सूचना पाएपछि म (थाहा संवाददाता-हेटौंडा) यसबारे थप सूचना र तथ्य संकलन गर्न खटिएँ।

​यी सवारीसाधनहरू नदीजन्य पदार्थ लादेर दैनिक कहाँबाट ल्याइन्छन्‌, नदीजन्य पदार्थ कहाँबाट ल्याइएको हो भनेर प्रहरीले एकपटक पनि सोध्ने गर्दा रहेनछन्‌। ती सवारीसाधनमा त चैत १६ देखि ३१ गतेसम्म अनुमति दिएअनुसार ‘स्टक’ पो बोकिएको रहेछ। तर, क्रसरवालको सो तर्क सफेद झूट हो भन्ने सहजै थाहा लाग्छ।

१५ दिनमा उनीहरूले कति नदी दोहन गरे, कति ‘स्टक’ जम्मा गरे, त्यसले कति समयलाई पुग्छ र दिनभर सयौं सवारीले बोकेर कुद्ने नदीजन्य पदार्थ ‘स्टक’ कै हुन् भनेर कसरी प्रमाणित हुन्छ भन्ने कुनै आधार छैन। यी कुनै प्रश्नको जवाफ मकवानपुरका कुनै नियमनकारी निकायसँग छँदैछैन।

उनीहरूसँग एउटामात्र जवाफ छ, त्यो हो–‘स्टक’ बोकिरहेका छन्। यो जवाफ नै अनेकन् आशंका पैदा गर्न पर्याप्त छ।

नियमनकारीको जवाफ नै शंकास्पद लागेपछि स्थलगत रिपोर्टिङ गर्न लगातार ३ दिन बिहान/दिउँसै हेटौंडा–१, हेटौंडा–३, हेटौंडा–१९ र हेटौंडा–१५ सहित मनहरी गाउँपालिकासम्मका खोला र बगरमा पुगेँ ​।

दिनभर सबै जेसीबी र एक्साभेटर चालक खोलानजिक क्रसरमा निदाउने गरेका रहेछन्। ब्यूँझिने र चल्ने त टिप्परहरू रहेछन्। र, पेट भर्न दुई गाँस खोजिरहेकाको हातहरू चल्ने रहेछन्। वरिपरि गहिरो खाल्डो खनेर त्यही खाल्डोमा लुकेर बालुवा खोस्रेर दुई गाँस खाना खोजिरहेकाहरू धेरै भेटिए।

उनीहरूको पीडाले भरिएका कथा र बाध्यता सुनियो। त्यसपछि लाग्यो कि मैले समाचार लेखेँ भने त उनीहरूको दुई गाँस पनि गुम्नेरहेछ। फेरि अर्को मनले भन्यो-यिनीहरू खाना र बाध्यताको बीचमा फसेका छन्।

तर, नदी दोहन गर्न छुट त कसैलाई पनि हुँदैन। त्यसैले समाचार लेख्नु अगाडि उनीहरूलाई भेट्नुपर्छ, जसले आफ्नो व्यक्तिगत स्वार्थका लागि नदी दोहन गरेर हामीलाई ठूलो विपत्तितर्फ धकेलिरहेका छन्।

मैले नदीलाई अवैध रूपमा दोहन गरेको कुरालाई प्रमाणसहित समाचार लेख्ने प्रण नै गरेको थिएँ। त्यसपछि एक साँझ फोन आयो–हेटौंडाको राप्ती पुल मुनि जेसीबीले खोला खनिरहेको छ। त्यसपछि सबै काम र थकानलाई छाडेर म त्यसतर्फ लागेँ।

​झमक्क साँझ परेको थियो। मलाई बोलाएका भाइहरूलाई खोज्दा खोज्दै घाटमा पुगेछु। त्यहाँ पुगेर फोन गर्न मोबाइल निकाल्दामात्र याद भयो-छेवैमा एउटा शवको धुँवा आइरहेको रहेछ। भाइहरू त खोलापारि पो रहेछन्। त्यसपछि सानो कुरामा पनि आत्तिने मनलाई दरो बनाएर त्यहाँबाट ती भाइहरू भएको स्थानतर्फ गएँ।

त्यहाँबाट हामी खोला खनेर बालुवा निकालिरहेको जेसीबी नजिक पुग्यौँ। त्यहाँ पुगेपछि थाहा भयो कि त्यो तटबन्धका लागि हेटौंडा उपमहानगरले खनिरहेको रहेछ।

पुलबाट दुई सय मिटर दूरी कायम गरेको उपमहानगरले नजिक रहेको बस्तीलाई बचाउन तटबन्ध गर्न लागेको भएपनि गाउँको दूरीलाई एक किलोमिटर पनि कायम गरिएको थिएन।

त्यसको भोलिपल्ट राति मलगायत मकवानपुरका सञ्चारकर्मी सुजन पुडासैनी र अमर लामा नदीजन्य पदार्थ उत्खननबारे समाचार संकलन गर्न हिँड्यौँ। करिब ८ बजे हेटौंडा बजारबाट हिँडेका हामीले करिब ३ घण्टा हेटौंडाका विभिन्‍न खोला र बगर चहारेर बितायौँ।

रातको समयमा रिपोर्टिङ गर्न पुगेका हामीले आँखैअघि मनलाग्दी ढंगले नदी उत्खनन भएको देख्यौँ। धेरै दृष्य देखे पनि हाम्रो क्यामेराले भने कैद गर्न सकेन। अन्धकार स्थानमा जेसीबी र एक्साभेटरको बत्तीको चर्को प्रकाशका कारण ती दृश्य राम्ररी खिच्न हामीले सकेनौँ।

तीनवटा खोला र बगर धाइसकेपछि हामी हेटौंडाको बस्तीपुर पुल पुग्यौंँ। झोलुंगे पुलमा चढेर हेर्दा हामीले क्रसरबाट एउटा जेसीबी बगरतर्फ निस्कँदै गरेको देख्यौँ। त्यही पुलमा उभिएर जेसीबीलाई हेरिरह्यौँ।

पुलमा अरू केही मानिस पनि उभिएका थिए, जसले हाम्रा गतिविधि नियालिरहेका थिए। जेसीबी खोलामा निस्केर खन्न थाल्नेबितिकै क्यामेरा निकालेर हामीले फोटो खिच्यौँ। तर, फोटो स्पष्ट आएन।

त्यसपछि हामी तल खोलामा फोटो खिँच्न जाने तरखरमा लाग्यौँ। यत्तिकैमा चलिरहेको जेसीबीबाट एउटा टर्चलाइट हामी भएतिर बल्यो।

सायद, उनीहरूलाई हामी आएको र फोटो खिचेको खबर पुग्यो। भर्खर खन्न थालेको जेसीबी त्यहाँबाट फनक्क घुम्यो। र, खोलैखोला डाँडा पारितिर लाग्यो।

हामी हतारहतार बगरतिर झर्‍यौँ। तर, बगरमा भएको खोला तरेर जाने काठेपुल भत्काइएको रहेछ। हामी एकछिन त्यहाँ अल्मलियौँ। डाडाँपारिबाट बगर खनेको आवाज र बलेको बत्तीले बस्तीपुरको बगर छर्लङ्गै उज्यालो बनाएको थियो। त्यहाँ उत्खनन भइरहेको छ, तर जाने कसरी? 

बाटो खोज्दाखोज्दै एउटा मोटरसाइकलमा दुई जना त्यहाँ आइपुगे। उनीहरूले हामीलाई कहाँबाट आएको, कहाँ जना लागेको इत्यादि प्रश्न गरे। उनीहरूसँग बोल्दा थाहा भयो कि उनीहरू प्रहरी रहेछन्।

नदी उत्खनन भएको थाहा पाएर पक्राउ गर्न सिभिल ड्रेसमा आएको रे। त्यसपछि के चाहियो? आत्तिएको मन फुरुङ भयो। मैले हतपत 'हामी पत्रकार हौं, हामी पनि नदी उत्खननको रिपोर्टिङ गर्न आएको। उता उत्खनन भइरहेको रहेछ। हामीसँगै जाऔँ है?' भनेँ।

मेरो अनुरोध राम्ररी सुन्दानसुन्दै उनीहरूको जवाफ आयो, 'त्यहाँ उत्खनन भएको होइन। निर्माणकार्य भइरहेको छ। त्यसैले त्यता नजानु, बेकार दुःख पाउनुहुन्छ।'

हामी आफैँले त्यहाँ जेसीबी गएको देखेको र खनेकै हो भन्दा पनि प्रहरीहरूले हामीलाई त्यहाँ नजान बारम्बार आग्रह गरे।

‘हामी केटा मान्छेमात्र आउँदा त कत्रो डर हुन्छ। हामीले त बन्दुक पनि बोकेर आएका छौं। फेरि तपाईं त केटी मान्छे हुनुहुँदो रहेछ। सुरक्षाको केही सामान पनि छैन। त्यसैले, अहिले फर्केर अन्तै जानु, पछि यस्तो उत्खनन भएको थाहा पायौँ भने हामी तपाईंहरूलाई बोलाउँछौँ नि!'

त्यहाँ आएकामध्ये आफूलाई हवल्दार भन्दै परिचय दिने एक जनाले हाम्रो मोबाइल नम्बर र नाम टिपे। र, हामीलाई हेटौंडा–१, चौकीटोलमा उत्खनन भइरहेको भन्दै त्यहाँ जान आग्रह गरे। प्रहरीमाथि विश्वास गरेर हामी त्यहाँबाट निस्कियौँ र चौकीटोलदेखि सामरीको बगर सबै धायौँ। त्यहाँका बगरमा उत्खनन भएको थिएन।

बरु, भर्खर नदी उत्खनन गरेका सवारी र केही चालक तथा ठेकेदार बाटोभरि उभिएका रहेछन्। त्यसपछि हामीले थाहा पायौँ- हामी प्रहरीद्वारा गुमराहमा परेछौँ।

यस विषयमा मकवानपुर प्रहरी, प्रशासन र जिल्ला समन्वय समितिसँग कुरा गर्दा उनीहरूले सबै आफूहरूलाई थाहा भएको, तर नियन्त्रण गर्ने जिम्मेवारी अर्कैको भन्दै आरोप-प्रत्यारोपमा उत्रिए।

उनीहरूले रात्रिकालीन उत्खननबारे थाहा भएको, तर राति अनुगमन गर्न नसक्ने भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिसम्म दिन भ्याए।

सम्बन्धित समाचार :


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.