|

बर्दिया : कृषिलाई यान्त्रीकरण गर्न बर्दियाका स्थानीय सरकारले जोड दिँदै आएका छन्। कोरोना भाइरसको महामारीकाबीच रोजगार गुमाएर गाउँ फर्केका युवालाई लक्षित गरेर स्थानीय सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेका छन्।

ठाकुरबाबा नगरपालिकाले २६ जना किसानलाई ३५ प्रतिशत अनुदानमा कृषि यन्त्र उपलव्ध गराएको छ। १९ जनालाई पावर टिलर र सातजनालाई रिपर उपलब्ध गराएको हो। छनोटमा परेकाहरुलाई उक्त सामग्री उपलब्ध गराएको कृषि उपशाखा प्रमुख ध्रुवराज बमले बताए।

गत वर्ष अनुदान नपाएका, व्यावसायिक खेती गर्न सक्ने, १० कट्ठा जमिन भएकालगायतका मापदण्ड पूरा गरेका किसानहरु छनोटमा परेका कृषि शाखाले जनाएको छ। कृषि यान्त्रीकरण शीर्षकको १५ लाख रुपैयाँ बराबरको बजेटबाट औजार उपलब्ध गराइएको हो।

युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन मधुवन नगरपालिकाले गत वर्षदेखि योजना अगाडि बढाएको छ। नगरलाई कृषि हबको रुपमा विकास गर्न १० वटा ब्लक निर्माण गरेको छ। कोरोना महामारीका कारण धेरै रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरुलाई लक्षित गरी कृषिमा व्यवसायीककरण, यान्त्रीकरण र विषादी न्यूनीकरणलाई विशेष प्राथमिकतामा राख्दै गत वर्ष कृषि र पशुपालनका झण्डै ६ करोड रुपैयाँ विनियोजन गरेको थियो। नगरपालिकाको लक्ष्यअनुसार किसाानहरु लाभान्वित भएको नगरपालिकाका कृषि शाखा प्रमुख बमले बताए।

बाँसगढी नगरपालिकाले पनि गत वर्ष कृषि लक्षित कार्यक्रमअन्तर्गत तीन करोड रुपैयाँ विनियोजन गरेको थियो। बारबर्दिया नगरपालिकाले बाँझो जग्गा उपयोग कार्यविधि गत आर्थिक वर्षमै पारित गरेको छ। बाँझो जग्गा पाए नगरपालिकाले नै त्यहाँ उत्पादन सुरु गर्ने योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.