|

पर्वत : निलगिरी हिमालबाट सुरु हुने लुप्रा खोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा गाउँ जोखिममा परेको छ।

हिमालको ठाडो खोलामा हिमताल फुटेर खोलामा बाढी आउने गरेको स्थानीय नीरज थकालीले बताए। बाढीले लुप्रा गाउँको १५ घर उच्च जोखिममा परेको उनको भनाइ छ।

‘सोमबारदेखि भइरहेको वर्षाका कारण खोलामा बहाव त बढ्नै भयो। तर लुप्रा खोलामा अहिलेसम्म यति ठुलो बहाव आएको थाहा थिएन। खोलाको बाढीले दुई ठाउँमा रहेको खेत बगाएको छ। लुप्रा गाउँका १५ घर उच्च जोखिममा परेका छन्,’ थकालीले भने, ‘यो खोलाको मुहान निलगिरी हिमाल हो। वर्षाका कारण एक त नदीमा बहाव बढ्यो। अर्को कुरा पानी धेरै भएपछि हिमालमा रहेका तालहरू फुटेपछि यसरी खोलामा बाठी आउने गर्दछ।’ 

बाढी लेदोयुक्त भएकाले खोला नै पुरिएको अवस्था छ। यही कारण बाढीले किनार कटान गर्दै जाँदा गाउँ नै जोखिममा परेको हो। सोमबार दिउँसो करिब १२ बजेदेखि लेदोसहितको बाढी आएको हो। गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले निरन्तर पानी परिरहेका कारण थप क्षति हुन नदिन सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको बताए।
 
खोलामा बाढी आएको जानकारी पछि जिल्ला प्रशासन कार्यालय मुस्ताङको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको छ।  प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले हिमताल फुटेकोबारेमा कुनै जानकारी नभएको भए पनि हिम पहिरोको कारण नै खोलामा बाढी आएको हुन सक्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.