|

भक्तपुर : सुविन र ओम सैंजू दुई दाजुभाइ हुन्। उनीहरू भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित बागेश्वरी माध्यमिक विद्यालयको कक्षा ४ र १ मा अध्ययनरत छन्‌।

सूर्यविनायक नगरपालिका–८ जगातीस्थित हनुमानचामा बस्ने सैंजू दाजुभाइका बुबाको ३ वर्ष अघि जन्डिसका कारण निधन भयो। सैंजूका आमा लक्ष्मी इँटाभट्टामा चिया पसल चलाउँछिन्‌। यसवर्ष कोरोनाको जोखिमका कारण व्यवसायीले इँटाभट्टा सञ्चालन नगर्दा लक्ष्मीको पसल पनि बन्द भएको छ।

आयस्रोतको एक मात्र बाटो चिया पसल बन्द भएपछि अहिले उनीहरूलाई दैनिक गुजारा चलाउन समेत धौधौ छ। दैनिक ज्याला मजदुरी गरेर दुई छोराहरूको लालनपालन गर्दै आएकी लक्ष्मीले घरमा इन्टरनेट जोड्न र छोराहरूलाई स्मार्ट मोबाइल सेट जोडिदिन नसक्दा सैंजू दाजुभाइको पठनपाठन समेत बन्द भएको छ। उनीहरूको पढाइमात्र छुटेको छैन, परीक्षा दिन समेत वञ्‍चित हुनुपरेको छ।

‘चिया पसल बन्द भएपछि कमाई भएन, ज्याला मजदुरी गर्थेँ, त्यो पनि लकडाउनले गर्दा बन्द छ। दैनिक छाक टार्न मुस्किल भएको बेला नेट जोड्ने, मोबाइल फोन किन्ने पैसा कहाँबाट जोहो गर्ने?’ लक्ष्मीले प्रश्न गरिन्।

छिमेकीको सहारा लिएर छोराहरूलाई पढाउँ भन्दा पनि छिमेकीको घरमा समेत नेट नभएकाले सम्भव नभएको उनले बताइन्‌। ‘हामी बसेको ठाउँमा जम्मा दुई घर छौँ। नेट राख्ने कोही छैन। राख्ने हैसियत पनि छैन। पैसा नभएरै बच्चाहरूलाई सामुदायिक विद्यालयमा पढाएको हो। क्षमताले भ्याए त बोर्डिङ्ग स्कूलमा पढाउने मेरो पनि ठूलो रहर छ। नेटको के कुरा गर्ने? मसँग भएको मोबाइल यही हो,’ भन्दै पुरानो मोडलको मोबाइल सेट देखाइन्‌।

सौगात नगरकोटीले पनि निषेधाज्ञा जारी भए यता पढ्न पाएको छैन। उनी बागेश्वरी माविको कक्षा ३ मा पढ्छन्। निषेधाज्ञाले विद्यालय बन्द भएपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि सौगातले पनि नेट र स्मार्ट मोबाइल फोन नहुँदा पढ्न नपाएको हो।

सौगातको घर काठमाडौंको डाँछीमा हो। उनको बुबा दैनिक ज्याला मजदुरीको काम गर्छन्। भक्तपुरको कमल विनायकमा डेरा लिएर बस्दै आएका सौगातले गत वर्षको लकडाउनमा पनि पढ्न पाएन, कारण उही इन्टरनेट र स्मार्ट फोन थियो।

केही समय पाल्पामा मजदुरी गरेर निषेधाज्ञाकै कारण फर्किएका सौगातका बुबा अजय नगरकोटी भन्छन्, ‘श्रीमती गर्भवती छिन्। दैनिक गुजारा गर्न गाह्रो छ। कोठाभाडा तिर्नुपर्छ। यस्तो बेला कसरी छोरालाई इन्टरनेट राखेर कक्षा लिन लगाउने। अहिले परीक्षा भइरहेको छ। इन्टरनेट नभएका कारण परीक्षा पनि दिलाउन सकेको छैन। अब नयाँ भर्ना खुलेपछि छोरालाई दोहोर्‍याएर पढाउनुपर्ला जस्तो छ।’

परीक्षा दिन प्रिन्सिपलको मोबाइल, छिमेकीको इन्टरनेट

१२ वर्षीया दिया तण्डुकार माउन्ट भ्याली इङ्ग्लिस स्कुलमा कक्षा ४ मा अध्ययनरत छिन्। जेहेन्दार र कक्षाका उत्कृष्ट विद्यार्थी भएका कारण उनलाई छात्रवृत्ति पनि उपलब्ध गराएको छ।

पढाइमा निक्कै रुची राख्ने दियाको पनि निषेधाज्ञासँगै पढाइ छुटेको थियो। विद्यालयले पटक-पटक ताकेता गरेपनि दियाकी आमा दिव्यश्वरीले छोरीको लागि न त इन्टरनेट नै जडान गर्न सकिन, न त एउटा गतिलो मोबाइल सेट किनेरै दिन सकिन्।

दियाका बुबाको ६ वर्षअघि ह्दयघातका कारण मृत्यु भएको थियो। जग्गा जमिन नभएका उनकी आमा स्थानीयको घरमा लुगा धुने, घरसफाइ गर्ने र सुत्केरी स्याहारसुसारको काम गर्छिन्। यी कामले सामान्य घरको खर्च टार्दै आएकी उनकी आमा दिव्यश्वरीले छोरीको लागि आवश्यक स्मार्ट मोबाइल किनिदिने क्षमता नभएको बताइन्।

उनले भनिन्‌, ‘जसोतसो छोराछोरी र मेरो पेट भर्न अर्कोको घरमा गएर सरसफाइ गर्ने, लुगा धुने, सुत्केरीलाई तेल लगाएर अलि अलि जोगाएको पैसा पनि सकियो। समय यस्तो छ, काम छैन। जग्गा जमिन छैन। घर खेत छैन। माइतीले दिएको सानो घरमा अहिले मिलाएर बसिरहेका छौँ। दैनिक गुजारा गर्न नै नसकिरहेको समयमा छोराछोरीको लागि ठूलो मोबाइल र इन्टरनेट कसरी जडान गर्ने?’

दियाले पढाइलाई नियमित गर्न नसकेपनि परीक्षा दिनबाट वञ्‍चित भने नभएको दिव्यश्वरीले बताइन्‌। दियाको परीक्षाको लागि प्रिन्सिपल स्वयम्‌ले आफ्नो मोबाइल दिएको दिव्यश्रीले जानकारी दिइन्।

‘विद्यालयबाट पटक-पटक फोन आएपछि प्रिन्सिपलसँग कुरा गरेर अन्तिम परीक्षा एउटा दिलाउन उहाँले नै मोबाइल दिएर पठाउनुभएको छ। परीक्षा सकेपछि फिर्ता गर्न जानुपर्छ,’ उनले भनिन्, ‘परीक्षा भरीको लागि सँगै घर भएका एकजना भाइसँग कुरा गरेर १०० रुपैयाँ दिन्छु, परीक्षा सकेपछि नेट काट्नु भनी अहिले अन्तिम परीक्षा दिलाइराखेको छु।’ गएको वर्षपनि लकडाउन हुँदा पढाउन नसकिएको उनले बताइन्।

दिया भन्छिन्, ‘म सानो हुँदादेखि बुबा नभएका कारण बुबाआमा भएर ममीले पढाइराख्नु भएको छ। ममीलाई पनि कत्ति भन्नु। अनलाइन कक्षा लिन नसकेपनि मैलै घरमा मेरो किताबहरू अध्ययन गरेकी छु। भाइलाई पनि पढाउँछु।’

कोरोना भाइरसको महामारीले धेरै प्रभावित पारेको क्षेत्र मध्ये शिक्षा क्षेत्र पनि प्रमुख हो। गतवर्ष लामो समय लकडाउन हुँदा विद्यालयको नियमित पठनपाठन बन्द मात्र भएन परीक्षा समेत प्रभावित बनेको थियो।

कक्षा १० को एसईई परीक्षा समेत विद्यालयको आन्तरिक मूल्यांकनबाट सम्भव भएको थियो। सरकारले गतवर्ष नै लकडाउनका बेला पठनपाठन सुचारु गर्न विभिन्न वैकल्पिक उपाय अपनाउने नीति ल्याएपनि निम्न वर्गीय र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनु पर्ने हजारौं परिवारका छोराछोरीहरू शिक्षाबाट वञ्‍चित भएका छन्‌।

अनलाइन परीक्षा छुटेकालाई विद्यालय खुलेपछि लिइने

गत वर्ष लकडाउनका कारण शैक्षिक क्षेत्र प्रभावित बनेपछि सरकारले शैक्षिक सत्र समेत हेरफेर गरेको थियो। सोही अनुसार असारदेखि नयाँ शैक्षिकसत्र शुरू हुने भएपछि विद्यालयहरूले जेठको दोस्रो साता देखि अनलाइनमार्फत भएपनि परीक्षा सञ्चालन गरेका थिए।

वागेश्वरी माध्यमिक विद्यालयका प्राथमिक तहका इन्चार्ज कृष्णमान मलेपतिले अनलाइन कक्षामा उपस्थित भएका विद्यार्थीहरूको जेष्ठ १६ गतेदेखि अन्तिम परीक्षा लिएको जानकारी दिए।

उनले अनलाइनमा उपस्थित नभएका विद्यार्थीहरूको अन्तिम परीक्षा विद्यालय खुलेपछि भौतिक रूपमा लिने बताए। उनले भने, ‘वागेश्वरीमा पढ्ने अधिकांश विद्यार्थीहरू मजदुर वर्गका भएकाले प्राय विद्यार्थीहरू इन्टरनेटको पहुँचबाट टाढा छन्‌।'

उनले विद्यालयमा करिब ७० प्रतिशत मजदुर वर्ग र ३० प्रतिशत मात्र स्थानीयका छोराछोरी अध्ययनरत रहेको बताए। केही विद्यार्थीहरू अभिभावकसँगै गाउँ गएका कारणले पनि दुई चरणमा परीक्षा सञ्चालन गर्नुपरेको उनले बताए।

भक्तपुर नगरभित्र चार प्रतिशत विद्यार्थी अनुपस्थित

भक्तपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने चार प्रतिशत विद्यार्थी परीक्षामा सामेल नभएको नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाले बताए।

अनुपस्थित विद्यार्थीहरूको छुट परीक्षा लिएर नतिजा प्रकाशन गरिने उनले जानकारी दिए। उनले भने, ‘कक्षा ८ को विद्यार्थीहरूको हकमा लगभग ९६ दशमलव उपस्थित भएको देखिन्छ। बाँकी छुटेका केही विद्यार्थीहरूको हकमा होम असाइन्मेट र छुट परीक्षा लिएर नतिजा प्रकाशित गछौँ।’

उनले नगरपालिकाको सहयोगमा स्थानीय भादगाउँ टेलिभिजनमार्फत कक्षा सञ्चालन गरिएकाले इन्टरनेटको पहुँच नहुने विद्यार्थीलाई शिक्षा लिन सहजता भएको बताए। त्यस्तै, कक्षा १, २, ३ का लागि सबै सामुदायिक विद्यालयमा वर्कसिट वितरण गरी सहजता पुर्‍याएको र सबै विद्यालयहरूले आन्तरिक मूल्यांकन अनुसारै परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको निरौलाले जानकारी दिए।

चाँगुनारायण नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख वीरबहादुर खड्काले विद्यार्थीहरू विद्यालयमा उपस्थित हुँदा उनीहरूको हरेक क्रियाकलापको मूल्यांकन अनुसार विद्यार्थीहरूको नतिजा निकाल्ने योजना रहेको बताए। 'नगर परीक्षा परिषदले एउटा कार्य विधिको ढाँचा निर्माण गरेको छ। यही ढाँचा अनुसार कक्षा ८ को नगर स्तरीय परीक्षा नगरपालिकाबाटै लिइन्छ। अरू बाँकी सबै विद्यालयहरूमा विद्यार्थीहरूको क्रियाकलापका आधारमा विद्यालयहरूले नै नतिजा प्रकाशन गर्ने व्यवस्था गरेका छौँ', उनले भने।

मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र बनले विद्यार्थीहरूको उपस्थिति, मासिक, त्रैमासिक, प्रि-बोर्ड परीक्षा र गएको दोस्रो त्रैमासिक सम्मको परीक्षाको नतिजा लगायत उनीहरूको क्रियाकलापको आधारमा नतिजा प्रकाशित गरिने जानकारी दिए।

तल्लो तहका बढी अनुपस्थित

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले प्याब्सन अन्तर्गतका विद्यालयहरूमा तल्लो तहका विद्यार्थी अनलाइन कक्षा र परीक्षामा सहभागी हुन नसकेको बताए।

‘विद्यार्थीहरू विद्यालयमा उपस्थित हुँदा र अहिले भर्चुअल कक्षा सञ्चालन गर्दा अलि कठिनाई भयो,’ उनले भने, सबैको घर घरमा इन्टरनेटको पहुँच हुन्छ भन्ने पनि भएन।’

यस समस्याको सम्बोधन सरकारबाट पनि नभएको उनले गुनासो गरे। विद्यालयहरूले सम्भव भएसम्म सम्पर्क गरेर नजिकको आफन्त, साथीभाइ र छरछिमेकमा राखेर संयुक्त रूपमा तीन जनासम्म राखेर परीक्षा लिनुपरेको अनुभव उनले सुनाए।

उनले साना कक्षामा अनुपस्थित भएका विद्यार्थीहरूको लागि उनीहरूको क्रियाकलापको आधारमा विद्यालयको उपस्थितिको आधारमा मूल्यांकन गर्ने विधि अपनाएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.