संकटमा बिरामीको सेवा गर्ने अवसर मिल्यो–प्रबन्धक निर्देशक कायस्थ

|

काभ्रे :  दोस्रो लहरको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले देशसँगै काभ्रे जिल्लासमेत आक्रान्त भइरहेको बेला कोभिड डेडिकेडको रुपमा सञ्चालनमा ल्याएको थियो बनेपा नगरपालिका–१० जनागालमास्थित रहेको भोमी अस्पताल।

काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भइरहेको अस्पताल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट अस्पतालका रुपमा सञ्चालन भए यता धेरै नागरिकहरूको उपचार गरी पुन: जीवन दिदैँ महामारीको संकटमा कोरोना संक्रमित बचाउन संघर्षरत अस्पतालले कोभिड नियन्त्रणमा प्रभावकारी सेवा प्रदान गरेका छन्।

अस्पतालमा आइसियू, भेन्टिलेटर बेडदेखि बायोग्राफी मेसिन, सिप्याक, हाइड्रो अक्सिजन लगायतका सबै चिज उपलब्ध छ। जसले गर्दा कोभिडसँग लड्न धेरै सजिलो भएको छ। कोभिड डेडिकेट अस्पतालमा ९ वटा आइसियू वेड र ३ वटा भेन्टिलेटर छन्।

त्यस्तै बनेपा नगरपालिकाको सहकार्यमा १० वटा बेड उपलब्ध छ। जसमा ४ वटा आइसियू र ६ वटा अक्सिजनसहितको बेड रहेका छन्। अस्पतालमा भर्ना भएका ५० जनाभन्दा बढीले कोरोना जितेर घर फर्किसकेका छन् भने केही बिरामी आइसियू र भेन्टिलेटरमा उपचारार्थ छन्।

हालसम्म अस्पतालमा उपचारत कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। अस्पताल सञ्चालनको दोस्रो दिनमै अक्सिजन अभावका कारण भर्ना भएका बिरामी अन्यत्र रिफर गर्नु परेसँगै अस्पतालले थप संक्रमितको उपचारमा असमर्थ छौँ भनेर सूचनासमेत निकालिएको थियो।

तर तुरुन्तै काठमाडौँलगायतका अक्सिजन प्लान्टहरूबाट अक्सिजन व्यवस्थापन गरेर समस्याको समाधन मात्रै गरेनन्, जिल्लाका शिर मेमोरियल र धुलिखेल अस्पताल लगायतबाट आइसियूको अभावमा रिफर भएका बिरामी लिएर उपचारसमेत गर्न सफल भए। अस्पतालमा ५० वटा सिलिण्डर उपलब्ध रहेको छ।

अस्पतालमा भएका बिरामीहरूका लागि एकै पटकमा १० वटा सिलिण्डरबाट अक्सिजन दिइरहेका छन्। खाली भएको सिलिन्डरलाई तुरुन्तै भर्ने गरेको अस्पतालले जनाएको छ। जिल्लामा कोभिड डेडिकेडको रुपमा भोमी अस्पताल आएसँगै आइसियूको अभावमा बिरामी काठमाडौँ लैजानु पर्ने र आइसियू खोज्दै हिड्नु पर्ने अवस्था केही हदसम्म हटेको छ।

अब अक्सिजनको अभावले गर्दा अल्पायूमै मृत्यु हुनुपर्ने बाध्यताकोसमेत अन्त्य भएको छ। सरकारको कोटा प्रणाली अनुसार अक्सिजन प्राप्त गर्ने कोटामा भोमी अस्पताल पर्दैन।

अस्पतालका प्रबन्धक निर्देशक सुगन कायस्थले नगरपालिकाले विशेष अनुरोध गरेसँगै संरचना निर्माणकै क्रममा रहेपनि कोरोनाको विषम परिस्थितिमा नागरिकले भोगिरहेको जुन सकस छ त्यसलाई कम गर्न सकिन्छ भने किन सहयोग नगर्ने भन्ने सोचले अस्पताललाई कोभिड डेडिकेडको रुपमा सञ्चालन गरेको बताए।

‘यो महामारीको बेला नगरपालिकाको सहकार्यमा बिरामीको सेवा गर्ने अवसर मिलेको छ,’ उनले भने, ‘हामी आगामी दिनमा कोही अक्सिजनका कारण समस्यामा नपरोस् भनेर चाँडै नै आफ्नै अक्सिजन प्लान्ट खोल्ने तयारीमा छौँ।’

अस्पतालमा ४४ जना कर्मचारी छन्। जसमा कोभिड विशेष १२ जना र नन् मेडिकल स्टाफको रुपमा ३२ जना रहेका छन्। अस्पतालमा मेडिकल इक्युपमेन्टमा कुनै कर्पोरेट अस्पतालको भन्दा कम छैन।

मेडिकल म्यानपावर पनि त्यत्तिकै राम्रो छ। फिजिसियन, पल्मोनरी डाक्टरसँगै मेडिकल अफिसरहरू पनि त्यत्तिकै सक्षम छन्। जसका कारण बिरामीले राम्रो उपचार पाइरहेक छन् भने बिरामीहरू पनि स्वास्थ्यकर्मीको सेवाबाट सन्तुष्ट देखिन्छन्।

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले जनशक्ति र पूर्वाधारको आधारमा भोमी कोभिड डेडिकेड अस्पतालले दिएको सेवा प्रभावकारी र गुणस्तरीय रहेको बताए। उनकाअनुसार अस्पतालमा नगरपालिकाको सिफारिसमा आउने संक्रमितलाई बेड खर्च नि:शूल्क गरिएको छ।

त्यसबापत रकम नगरपालिकाले नै व्यहोर्ने गर्छ। त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले अस्पतालबाट निस्किएकाे रिजल्टबाट आफू खुशी भएको बताए।

त्यस्तै, अस्पतालले नै डाइटिसियनको व्यवस्था गरी बिरामीको लागि खाने कुरा दिइरहेको हुँदा कुरुवा वा आफन्तले बिरामीको खानपिनमा चिन्ता लिनु पर्दैन। बिरामीलाई खाना तालिका  मिलाएर विहान ७ बजेदेखि बेलुका १० बजेसम्म औषधिसहित खाना, खाजा आदि खुवाउने गर्छन्।

संक्रमित बिरामीलाई खानाको एकदमै महत्व हुने भएकाले डाइटिसियनलाई नै राखेर उनीहरूको उपचार अझ राम्रो र व्यवस्थित गर्ने प्रयास गरीरहेको देखिन्छ। यो अस्पतालमा विशेषगरी आइसियू र भेन्टिलेटरमा राख्नु पर्ने बिरामी आउने गर्छन्। उनीहरू जिल्लासँगै काठमाडौं लगायतबाट समेत आउने गर्छन्। अस्पतालमा उपलब्ध आइसियू हरेक दिन जस्तो भरिभराउ हुन्छ।

अस्पतालले बढीमा एकैदिन १३ जनासम्म संक्रमित भर्ना गराएका छन्। अस्पतालमा २५ वेडको भएपनि एकै पटक धेरै बिरामी लिन नसकेको भने छैन। यसबारे सोध्दा, अस्पतालका प्रबन्धक निर्देशक कायस्थले बिरामीलाई कुनै समस्या नहोस् भनेर जनशक्ति तथा क्षमताले भ्याए सम्मको मात्रै लिएको बताए।

‘हाम्रो लक्ष्य हामीसँग भएको बिरामीको अक्सिजनदेखि लिएर सबै खालको आवश्यक व्यवस्था राम्रोसँग गरौँ भन्ने हो।’ उनले भने,‘स्टाफहरूले आइसियू भित्र रहेका बिरामीसँगै बसेर र छोएर कुरा गर्छन्। जसले बिरामीमा कोरोनासँग लड्ने आत्मबलसमेत बढोस्।’

अस्पतालका इमर्जेन्सी शाखाका मेडिकल अफिसर डा. विप्लव अधिकारी अस्पतालका स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई सकेको उपचार सेवा प्रदान गर्ने प्रयास गरिरहेको बताए। कोभिडका बिरामीलाई दिनुपर्ने सेवामा कमी हुन नदिएको र महामारीको बीच बिरामीको सेवामा सक्रिय हुनु दायित्व सम्झिएको उनको भनाई छ।

उनले अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारीको सुरक्षाका लागि प्रत्येक ४-४ घण्टामा पिपिई, माक्स आदि परिवर्तन गर्नुका साथै प्राइभेट कक्ष, आइसोलेसनको ब्यवस्था गरेको बताए।

‘पिपिई, माक्स आदि लगाई सुरक्षा अपनाएर संक्रमितको उपचार गर्दै गर्दा आफू पनि संक्रमित हुन्छ कि भन्ने डर मनभित्र कतै न कतै चाहिँ लागिरहदोँ रहेछ,’ उनले भने, ‘घरपरिवारका सदस्य संक्रमित नहोस् भन्नका लागि आइसोलेट भएर काम गरिरहेको छ। अस्पताल आउँदा प्रयोग गर्ने कपडा घर जाँदा लगाएर जाने गर्दैन। घर जानु अघि नुहाएर मात्रै निस्किन्छौं। खुशीको कुरा हालसम्म अस्पतालका कसैलाई कोभिड देखिएको छैन।’

जिल्लाका शिर मेमोरियल र धुलिखेल अस्पताल पनि बिरामीले भरिएका छन्। यतिसम्म कि अन्यत्र रिफर गरेका बिरामीहरू लैजाने अस्पताल समेत छैनन्।अस्पतालका प्रबन्धक निर्देशक कायस्थले स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर तोकिएको तलबको दोब्बर गरिदिने बताए।

उनले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अस्पतालमा उपस्थित भएदेखि नफर्किँदासम्म खाना, खाजाको व्यवस्था पनि अस्पतालले नै गरेको जानकारी दिए। स्वास्थ्यकर्मीले दैनिक १२ घण्टासम्म काम गर्छन्।

उनले स्वास्थ्यकर्मी तथा कर्मचारीको एकता भाव र मेहनतकै कारण अस्पतालको मृत्यु शून्य भन्न पाउँदा खुशी लागेको बताए। ‘कोरोनाको विषम परिस्थितीमा ब्यक्तिगत सुविधा भन्दा पनि बिरामीको सेवामा निरन्तर खटिने कर्मचारीहरू प्रति अस्पताल परिवार आभार ब्यक्त गर्दछ।’ उनले भने, ‘हामीले अस्पतालले दिनु पर्ने गुणस्तरीय सेवामा कमी हुन दिएका छैनौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.