|

गोरखा : पूर्वाग्रहपूर्ण नेतृत्वको मातहत रहेर काम गर्न नसक्ने भन्दै गोरखा अस्पतालका डाक्टरले राजीनामा दिएका छन्। अस्पताल प्रमुखले जिम्मेवारी पूर्ण रुपमा पालना नगरेको भन्दै अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हेमन्त दुजानाले राजीनामा दिएका हुन्।

दुजानाले आज सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशलाई आफ्नो राजीनामा बुझाएका हुन्। 

दुजानाले बुझाएको राजीनामा पत्रमा लेखिएको छ- ‘कोरोना महामारीको अहिलेको अवस्थामा सामूहिक रुपमा तनावमुक्त तथा मैत्रीपूर्ण वातावरणमा सेवा दिन सक्नुपर्ने अस्पताल अहिले गुटबन्दी, आरोपप्रत्यारोप र दबाबको भुमरीमा अल्मलिएको छ। तसर्थ , पूर्वाग्रहपूर्ण नेतृत्वको मातहत रहेर यस्तो अवस्थामा काम गर्न सक्ने वातावरण नभएकोले मिति २०७८/३/१ गतेदेखि लागू हुने मेरो राजीनामा स्वीकृत गरिपाऊँ भनी विनम्र निवेदन गर्दछु।’

अस्पतालको सेवा थप प्रभावकारी बनाउन पटक पटक अस्पतालका नेतृत्वसमक्ष राखिएको काम गर्दाको समस्या, सुधारका विषयलगायत सुझावबारे सुनुवाइ हुन नसकेको भन्दै उनले गुनासो गरेका छन्।

‘मन्त्रालयले तोकेको कार्यादेश अनुसार एक चिकित्सकको हैसियतले गोरखा अस्पतालमा मैले मेरो विशेषज्ञताको आधारमा उपलब्ध साधन र स्रोतको प्रयोग गरी बिरामीलाई सेवा दिएको आम जनमानसमा सबैलाई विदितै छ। तर अस्पतालको सेवा लाई थप प्रभावकारी बनाउन पटक पटक अस्पतालका नेतृत्वसमक्ष राखिएको काम गर्दाको समस्या, सुधारका विषय लगायतका सुझावबारे सुनुवाइ हुन सकेन। अस्पतालको प्रगति तथा विकासका लागि चिकित्सक डाक्टर तथा स्वास्थ्यकर्मीहरुले राखेको समस्या र सुझावका विषयमा अस्पतालका प्रमुख (मेसुु) ले सकरात्मक रुपमा लिएर पहल थाल्नुपर्नेमा उल्टै पूर्वाग्रह लिएर असहयोग थाल्नु अत्यन्त दुःखत विषय हो’, राजीनामा पत्रमा लेखिएको छ। 

दुजाना गोरखा अस्पतालमा गत वर्ष चैत ८ गतेदेखि कार्यरत थिए।

कमजोर व्यवस्थापन, भद्रगोल बन्दै अस्पताल सेवा

अस्पतालको व्यवस्थापनमा प्रशासन र व्यवस्थापन समितिले तदारुकता नदेखाउँदा गोरखा अस्पताल पछिल्लो भद्रगोल बन्दै गएको छ। सेवा अभिवृद्धिमा सम्बिन्धित निकायले चासो नदिएको भन्दै केही समयअघि अस्पतालका कर्मचारीले आन्दोलनमा उत्रिएका थिए।

अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा शान्ता भुर्तेलको कार्यशैलीप्रति चिकित्सक र कर्मचारी असन्तुष्ट हुन थालेपछि अस्पतालको सेवासमेत प्रभावित हुन थालेको छ।

एकजुट भएर नागरिकलाई सेवा प्रदान गर्नुपर्नेमा अस्पताल प्रमुखबाट पटक–पटक दुर्व्यहार भोग्नुपरेको भन्दै त्यहाँका कर्मचारी तथा चिकित्सकले गुनासो गर्ने गरेका छन्।

अस्पतालमा प्रशासक र कर्मचारीबीचको आन्तरिक द्वन्द्वका कारण कोरोना महामारीको यस समयमा अस्पताल 'रेफर सेन्टर'जस्तै बन्न पुगेको छ। गोरखा सदरमुकामको एकमात्र सरकारी अस्पतालबाट जटिल खालका बिरामीले अस्पतालमा उपचार पाउँदैनन। यहाँबाट अधिकांश जटिल खालका बिरामी चितवन, पोखरा, काठमाडाैं रेफर हुने गरेको छ।

मेसु भन्छिन्, ‘आरोप लगाउन पाइन्छ, प्रमाणित हुनपर्‍यो’

अस्पताल प्रमुख भुर्तेलले भने आरोप जो कसैले लगाउन पाउने तर त्यसको प्रमाणित हुनुपर्ने भन्दै हल्का टिप्पणी गरेकी छन्। 

उनले थाहाखबरसँग टेलिफोन सम्पर्कमा भनिन्, ‘आरोपको छानबिन गर्न प्रदेशबाट टोली आउनुभयो, छानबिन गर्नुभयो। आरोप प्रमाणित भएन, त्यसको विज्ञप्ति पनि जारी भइसक्यो। मन्त्रालयले गरेको छानबिनबाट आरोप एउटा पनि पुष्टि भएन। त्यसमा उहाँ सहमति हुनुहुन्न भने त त्यो उहाँको कुरा हो।’ कर्मचारीहरुले भनेअनुसार अस्पताल नचल्ने उनको तर्क छ।

थाहाखबरकर्मीले डाक्टर हेमन्तको मात्रै कुरा सुनेर आफूसँग हावातालमा कुरा गरेको भन्दै उनले आक्रोश पोखिन्। 

‘तपाईले एउटा व्यक्तिको कुरा सुनेर  यो कुरा गर्न मिल्छ ? ममाथि लगाएको आरोप गलत भएको भनिसकेपछि मेरो डिफेन्समा कोही पत्रकारले लेख्यो ? ममाथि आरोप लागेपछि मन्त्रालयको टोली आएर छानबिन गर्यो। आरोप प्रमाणित भएन त्यसपछि तपाईंहरु कसैले केही लेख्नुभयो ?’, उनले प्रश्न गर्दै भनिन्।

थाहाखबरकर्मीले मन्त्रालयको टोली आएको कुरा जानकारी नभएको भनेपछि उनले भनिन् , ‘मिडियालाई मैले किन फोन गर्नुपर्यो र ?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.