|

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ६ जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ की १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु–६ का च्याङ्बा तामाङ हराइरहेका हुन्‌। 

यस्तै, ६ जनाको शव भेटिएको र पहिचान खुल्न बाँकी रहेको सापकोटाले जानकारी दिएका छन्‌।

​मेलम्ची नदी किनारका बस्ती सबै बाढीले पुरेकाले कति मानिस हराएका भन्ने अझै एकीन गर्न सकिएको छैन। बिजुली आपूर्ति बन्द रहेको र सञ्‍चार सम्पर्क पनि टुटेका कारण सूचना संकलनमा समस्या भइरहेको डिएसपी सापकोटाले बताए।

बाढीले ३ वटा पक्की र एउटा झोलुङ्गे पुल बगाएको छ। हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बु लामाले मेलम्ची नदी किनारका झण्डै दुई दर्जन घर बगाएको बताए।

मेलम्ची खोलामा अझै पानीको बहाव घटेको छैन। छिनछिनमा नदीले धार परिवर्तन गर्दा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.