|

बैतडी : विभिन्न प्रलोभन देखाएर गएको एक वर्षदेखि ठगी गर्दै गरेको बैतडीबाट बुधबार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाटन नगरपालिका-२ सिलंगाका ३४ वर्षीय कमलराम विक छन्। 

विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। बिमा भरेमा अनुदान दिन्छु भन्दै ठगी गरेको भन्दै स्थानीय नागरिकले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताए।

विकले सिटिजन लाइफ इन्स्योरेन्समा बिमा भरिदिन्छु भन्दै स्थानीयबाट रकम संकलन गरेर ठगी गरेको पाइएको हो। शाहीले भने, ‘महेन्द्रनगरबाट २५ लाख र बैतडीबाट १५ देखि २० लाख रकम संकलन गरेर स्थानीयहरुलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, नियन्त्रणमा रहेका विकमाथि बिहीबार मुद्दा दायर हुन्छ।’

सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन्। उनल भने, ‘एक वर्षदेखि बिमाको एजेन्ट भन्दै ठग्दै हिँडेको रहेछ, ४ महिनादेखि प्रहरीले खोजी गर्दै थियो।’

कमलराम बिमाको एजेन्ट भए पनि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ। स्थानीयबाट बिमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ। 

इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। कमलले ठगी गरेको भन्ने ६० जनाजति सम्पर्कमा आएका शाहीको भनाइ छ।

कमलराम विकसँगै दुईजना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको छ। उनीहरु फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.