|

गुल्मी : जिल्ला सदरमुकाम तम्घासदेखि सिमलटारी विस्तार गरिएको सडकलाई अहिले मदन भण्डारी राजमार्ग नामाकरण गरिएको छ। २८ किलोमिटर दूरी रहेको यो सडक कालोपत्रे (पीच) पनि गरिएको छ।

राजमार्ग नाम दिइएको र कालोपत्रे पनि गरिएको यो सडक हुँदै यात्रा गर्न पक्कै सजिलो होला भन्ने लाग्नसक्छ। तर, वास्तविकता यो होइन। राजमार्ग भनिएपनि यो सडक हुँदै यात्रा गर्दा यात्रुहरूलाई 'खोलामार्ग' मा यात्रा गरेजस्तो हुन्छ।

सो सडकलाई विभिन्न स्थानमा ठूलाठूला खोलाले चिरेको छ। ती खोलामा अहिलेसम्म पूल हालिएको छैन। पुल नहुँदा यात्रु भने जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्।

केही दिनअघि सोही सडक प्रयोग गर्दै मोटरसाइकलमा यात्रा गरेका धुर्कोटका भरत भण्डारीले ठूलै जोखिम मोलेर सदरमुकाम तम्घाससम्म आएको बताए।

राजमार्ग बनेपनि पुल नहुँदा र खोलामा बाढी आउँदा दुई दिनअघि संक्रमित दम्पती बिरामी उपचारका लागि सदरमुकाम तम्घास आउन सकेनन्। मालिका गाउँपालिका-७ का संक्रमित दम्पती बोकेको एम्बुलेन्स खोलामा बाढी आएकै कारण खोला तर्न सकेन। 

एम्बुलेन्स खोला तर्न नसकेपछि सदरमुकामबाट नेपाली सेनाको ट्रक पठाइयो। सेनाको ट्रक पनि खोला तर्न सकेन र सदरमुकाममै फिर्ता आयो। संक्रमित दम्पतीलाई उपचार निम्ति तम्घास ल्याउन सकिएन। उनीहरूलाई सिलादीस्थित एक घरमा अक्सिजन र स्वास्थ्यकर्मी व्यवस्था गरी राखियो। उनीहरूलाई झण्डै ३० घण्टापछि सदरमुकाम तम्घासमा ल्याएर उपचार थालिएको छ। 

उक्त राजमार्ग अन्तर्गत इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन्। 

यी खोलाहरूमा पुल छैनन्। गुर्वा खोलामा भएको कल्भर्ट पनि गतवर्ष स्थानीयहरूले डोजर लगाई तोडफोड गरेका थिए। सो कल्भर्ट हालसम्म मर्मत गरिएको छैन। 

मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्राले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डीपीआर तयारी भइरहेको जानकारी दिए। डीपीआर पश्चात पुल निर्माणका लागि टेन्डर गर्नेगरी भइरहेको उनले बताए।

गुर्बाखोलामा तत्कालका लागि केही व्यवस्थापन गर्ने तयारी भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.