बस्ती स्थानान्तरण गर्ने सरकारी योजना याेजनामै सिमित

|

काठमाडौं : कोटेश्वरस्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीकी कृष्णकुमारी गिरी यस वर्षको मनसुन सुरु भएसँगै बाढी-पहिरोबारे चासो राखिरहेकी छिन्। विभिन्न ठाउँमा बाढी-पहिरोले घर बगाएको र केही व्यक्ति बेपत्ता भएको जानकारी छ उनलाई।

बिहीबार बिहान बस्तीमा पुगेर बाढीको कुरा निकाल्दा साथ उनले भनिन्, ‘बाबु, सिन्धुपाल्चोकमा अरु थप कतिजना बेपत्ता भए? कति घर बगायो? आज त केही जानकारी नै छैन।’

बाहिर जिल्लामा गएको बाढी-पहिरो घटनाले उनलाई दुःखित त तुल्याएको छ नै आफू पनि यस वर्षको वर्षाभरि कसरी बच्ने भन्ने उनलाई चिन्ता छ। किनकि‚ उनी बस्दै आएको मनोहरा खोलाका आसपास क्षेत्र पनि हरेक वर्ष डुबानमा पर्दै आएको छ।

यस वर्षको मनसुन सुरु भैसकेको छ। यस वर्षको मनसुनमा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसैले पनि नदी किनारमा बस्दै आएकी गिरीलाई पानी परेको बेला राति निदाउन समेत सक्दिनन्।

उनले भनिन्‚ ‘यो ठाउँ हरेक वर्ष डुबानमा पर्छ तर अन्त जाने ठाउँ छैन। हिजोदेखि खोलाको बहाव बढ्दै छ। कुन दिन खोलाले बगाएर मरिने हो थाहा छैन।’

सरकारले जोखिम भएका सुकुम्बासी बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने योजना ल्याएको थियो। तर, अहिलेसम्म स्थानान्तरण गरेको छैन। गिरीले भनिन्‚ ‘सरकारले खै कहाँ पो लगेर राख्ने रे भन्ने खबर सुनेको तीन वर्षभन्दा बढी भैसक्यो। अहिले सम्म सारेको छैन।’

दुई वर्षअघि आएको बाढीबाट जसोतसो ज्यान जोगाउन सकेको उनले बताइन्। ‘खोलाको बाढी बस्तीमा पसेर मेरो घाँटीसम्म पानी आएको थियो,’ उनले ती दिन सम्झिइन्, ‘मेरो छोरा खाटमा बसेर बाच्न सफल भयो, धन्न पानीको सतह घटेर बचियो।’ 

निषेधाज्ञाले नदी किनारमा बस्दै आएका उनीहरुकाे रोजीरोटी त खोसिएर चिन्ता त थपिएको नै छ। यससँगै बाढीले बगाउँला किन भन्ने पीरले झन् धेरै पिरोलिरहेका छन्। सरकारले व्यवस्थित ढंगले बस्ती व्यवस्थापन गरे जीवन बच्ने उनीहरुको आशा छ।

मनोहरा नदी किनारमा बस्दै आएका लाले चौधरी पनि हिजो आज निरास र चिन्तित छन्। ‘यहाँ त मनोहरा खोलामा आएको बाढीले बर्सेनि डुबान पर्छ,’ उनले पीडा सुनाए, ‘तै पनि अहिलेसम्म ज्यान बचाइएको छ। अबको दिनमा के हुने हो थाहा छैन।’ सरकारले बस्ती स्थानान्तरण गर्ने भन्दै आश्वासन मात्रै दिएको उनको गुनासो छ।

मनोहरा खोला मात्रै होइन बागमती नदीमा आउने बाढीले कुपण्डोल र शंखमुलको सुकुम्बासी बस्ती पनि डुबानमा पर्छ। विष्णुमती नदी, हनुमन्तेलगायतका नदी तथा खोला किनारमा रहेको सुकुम्बासी बस्ती पनि डुबान हुने गर्छ। 

किन स्थानान्तरण​ भएन सुकुम्बासी भएन सकेन?

सरकारले २०६८/६९ सालदेखि नै नदी तथा खोला किनारबाट सुकुम्बासी बस्ती हटाउन खोजे पनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जोखिम सुकुम्बासी स्थान्तान्तरण गर्ने पहल भैरहेको बताउँछन्।

उनले भने, ‘प्राधिकरणले मात्रै बस्ती स्थानान्तरण गरेर हुँदैन। उपत्यका विकास प्राधिकरण, स्थानीय तहलगायतसँग समन्वय गर्नुपर्छ। त्यसैले ढिलाइ भयो, आन्तरिक पहल भने भैरहेको छ।’ 

सुकुम्बासीहरु नै अन्यन्त्र नयाँ ठाउँमा जान नमानेकाले पनि समस्या भएको उनको भनाइ छ। ‘कतिपय सुकुम्बासीको आफ्नै धर्म, रीतिरिवाज, पूजाआजा गर्ने रहेछ, त्यसैले पहिला बसेको बस्ती नै छोड्न मान्दैनन्,' उनले भने‚ 'तै पनि स्थानीय सरकारलगायत सबै निकाय जोखिम क्षेत्रको बस्ती सार्नेमा लागिपरेका छन्।’

उनका अनुसार अन्यन्त्र ठाउँमा जान नमानेकाले सरकारले अहिले घर पुनर्निर्माण अभियान चलाएको छ। यस अभियानमा उनीहरुलाई पनि समट्ने उनको भनाइ छ। ‘यो अभियानमा सुकुम्बासीहरु जहाँ बस्न मन लाग्छ, त्यहाँको घर छानेर बस्न पाउँछन्, छिट्टै उनीहरुलाई यो कार्यक्रममा समेटिने छन,’ उनले भने।

तत्कालको बाढी-पहिरोबाट उनीहरुलाई बचाउनका लागि भने प्राधिकरणले सबै जिल्ला र स्थानीय तहलाई प्रतिकार्यका लागि निर्देशन दिइसकेको उनले बताए। ‘उनीहरुलाई बाढीबाट प्रभावित हुन नदिन हामीले ललितपुर महानगरपालिका, भक्तपुर र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएका छौँ,' उनले भने‚ 'हामीले पनि सचेतना दिइरहेको छौँ,डुबानमा परे उहाँहरुको उद्धार र राहत व्यवस्था हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.