|

कञ्चनपुर : महाकाली अस्पताल प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया बढेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरु योजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो। अस्पतालमा ३० करोड लगानीमा प्रसूति सेवा र बाल रोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ। विभागको प्राविधिक टोलीले निर्माण स्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ।

माटो परीक्षणका लागि विभागका इन्जिनियरद्वय प्रवीण शाह र पूजन न्यौपाने बिहीबार अस्पताल आइपुगेका छन्। भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरि कुमार श्रेष्ठसँग छलफल गरेका छन्। 

समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजना अनुसार प्रसूति सेवा र बाल रोग सेवाका लागि भवन बनाउन लागिएको बताए। 

‘अस्पतालको मास्टर प्लानअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ, त्यसअनुसार यस वर्ष सहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ’ उनले भने, ‘माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य सुरु हुन्छ।’

महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोक प्रसाद पाण्डेयको पालामा गुरुयोजना बनाइएको थियो। भीमदत्त नगरपालिकाको सहयोगमा अध्यक्ष पाण्डेयले गुरु योजना बनाएका थिए।

गुरु योजनाअनुसार बन्ने प्रसूति र बाल रोग सेवाको भवन चार तलाको हुनेछ। ती दुबैमा ५०/५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए।

‘अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बाल रोगका लागि पति त्यस्तै छ’, उनले भने, ‘अब नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०/५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ।’

सहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतिजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर सुरु गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताए।

महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका लाल बहादुर खड्का सामाजिक विकास मन्त्री भएपछि सबैभन्दा पहिला अस्पताललाई प्रादेशिक बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.