|

काठमाडौं : बिहीबार दिँउसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको गेटमा एउटा अनौठो दृश्य देखियो। चारजना प्रहरी ड्यूटीमा थिए। केही मानिस भित्रबाहिर गरिरहेका थिए। सोही गेटमा एकजना वृद्धा पनि भेटिइन्।

चाहुरी परेको गाला, हतास अनुहार, उमेर त्यस्तै ६५ वर्षजति। प्रहरीसँग उनको अनुनयविनय थियो, 'एक पटकमात्रै भने पनि भित्र जान दिनुस्।' ड्यूटीमा रहेका प्रहरीहरु पालैपालो उनलाई सम्झाउँथे। तर, उनी भनिरहन्थिन्, 'एकपटक त भित्र जान दिनुस्, प्रधानमन्त्रीलाई भेट्छु।'

को हुन् उनी ?

उनको नाम राजुदेवी दमाईं हो, घर दूधुधारा- ७, कैलाली। उनी हाल श्रीमान गोरे दमाइको उपचारका लागि काठमाडौंमा छिन्। 'श्रीमानलाई के भएको हो त ?' जवाफमा हतास हुँदै उनले भनिन्, 'पहिले छातीमात्र दुख्थ्यो, अहिले मिर्गौला, फोक्सो सबैतिर समस्या छ भन्छन्।'

वीर अस्पतालमा उपचाररत श्रीमानलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ। के कारणले डिस्चार्ज गरिएको हो भन्ने उनलाई थाहा छैन। चिन्ता छ, न पैसा छैन भनेर उपचार नै नगरी जाऊ भनेका पो हुन् कि !

'पैसा नभएर हो भने सबैसित रोइकराइ गरेर भएपनि ल्याउँथें, खोइ डाक्टरले किन निकालिदियो थाहा छैन,' थाहा खबरसँग उनले भनिन्।

प्रधानमन्त्रीलाई भेटेर आफ्नो गुनासो सुनाउन पाए सम्बोधन हुने आशामा उनी सिंहदरबारसम्म आइपुगेकी रहिछिन्। तर, भित्र छिर्न पाइनन्। यद्यपी उपचार खर्च माग गरिएको उनको फाइल भने प्रधानमन्त्री कार्यालयमा दर्ता भएको रहेछ। चैत १० गतेको मितिमा दर्ता भएको फाइलको दर्ता नम्बर ११६९० छ।

घर फर्किने भाडा छैन

अस्पतालले जानुस्, भनेपछि अब घर जानैपर्‍यो। तर उनीसँग फर्किने भाडा छैन, श्रीमानलाई औषधि किन्ने पैसा त परको कुरा। ‘प्रधानमन्त्रीले भाडा दिनुहोला कि भन्ने आशमा यहाँसम्म आएको, तर खोइ भेट्ने दिँदैनन्,' ड्यूटीमा रहेका प्रहरीतर्फ इसारा गर्दै उनले भनिन्।

'कति लाग्छ त भाडा ?' जवाफ दिनुअघि एकछिन अनकनाइन्, अनि जवाफ आयो, '१३ सय रुपैँया एकजनाको लाग्छ, हामी बुढाबुढी छौँ। फेरि बाटोमा खाना खानुपर्‍यो। बुढालाई दबाइ पनि खानु भनेका छन्।'

काठमाडौंमा बसौँ बस्ने ठाउँ छैन, घर जाउँ भाडा! उनी अलमलमा छिन्।

- उनलाई सहयोग गर्न चाहनेले ९८४४९७३९५० मा सम्पर्क गर्न सक्नुहुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.