|
फाइल फोटो

झापा : विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफू खुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन्। 

मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँं अघिदेखि स्थानीय किसानले भोगचलन गर्दै आएका छन्। जग्गा भोगचलन गरेवापत स्कूललाई बुभाउनुपर्ने कुतसमेत नबुझाएपछि विद्यालयले आपत्ति जनाएको हो।

स्थानीय किसानले आदर्श माविको ६ बिघा र मेची विद्योदय प्राथमिक विद्यालयको ११ बिघा जग्गाको व्यवस्थापन गरेर भोगचलन गरिरहेका छन्। आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल र  मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टङ्कप्रसाद अधिकारीले विद्यालयको जग्गा किसानले भोगचलन गरे पनि विद्यालयसँग गरेको सम्झौताअनुसार कुतवापतको रकम नबुझाएको जानकारी दिए। जग्गाको कुत विद्यालयलाई तत्काल बुझाउनका लागि नगरले सर्वदलीय भेला गरेर एनु भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ।

समितिको सहसंयोजकमा मेचीनगर नगरकार्यपालिका सदस्य एवं पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल तथा सदस्यमा विष्णुलाल गिरी, रविन्सन थापा, अर्जुन पोखरेल, पवन मेचे, शेरबहादुर बुढाथोकी, उत्तम गिरी, अग्निमाया मेचे, महेन्द्र लावती र दीपक थापा रहेका छन्। मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत संयोजक र वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल सहसंयोजक रहेको सात सदस्यीय सल्लाहकार समितिसमेत भेलाले गठन गरेको छ। 

मेचीनगर नगरप्रमुख विमल आचार्यको संयोजकत्वमा सम्पन्न भएको छलफलमा सहभागीहरुले समस्याको दीर्घकालीनरूपमा टुङ्गोमा पुग्ने निष्कर्षसहित समिति गठन भएको हो। भेलामा सबै राजनीतिक दलहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.