|

काठमाडौं : कोरोनाको दोस्रो लहरले देशमा विकराल अवस्था सिर्जना गर्दा देशभर अस्पताल भरिरहेका थिए। तर, पछिल्लो समय दोस्रो लहरमा क्रमश कम हुँदै गएको स्वास्थ्यकर्मीले बताइरहेका छन्।

यो बीचमा कोरोनाको संक्रमणको दर बढ्दै गएपछि सर्लाहीमा 'कोभिड–१९ र्‍यापिड रेस्पोन्स टिम'ले डाक्टरसँग निःशुल्क परामर्श सुरु गर्‍यो। करिब डेढ महिनादेखि टिममा आबद्ध डाक्टरहरूले २४ घण्टा नै सेवा दिँदै आएका छन्।

टिमको संयोजन नवीन यादवले गरिरहेका छन्। स्वास्थ्य सेवामा सबैको सहज पहुँच नभएकोले जिल्ला प्रशासन कार्यालयको अनुमतिमा सर्लाही तथा देशका अन्य जिल्लाका डाक्टरसहितको  निशुल्क सेवा दिने एक संगठन रहेको यादवले बताए।  

 कोरोनाको पहिलो लहरमा यादव बंगलादेशमा थिए। उनले नेपाल आएपछि  कोरोना विरुद्ध खट्ने बताएका थिए। 

नेपालमा पहिलो लहर केहि महिना मत्थर भयो र त्यसपश्चात् दोस्रो लहर सुरु भयो। दोस्रो लहरले नेपालको स्वास्थ्यमा प्रभाव पार्‍यो। यो महामारीमा केही काम गरौं भनेर आफूहरूले यो काम सुरू गरेको  यादवले बताए।  

यादवले जिल्ला वा जिल्ला बाहिरका कोरोना संक्रमित भएकालाई निशुल्क परामर्श दिने गरेको बताए। 'कोरोना लागेका, लागेर निको भएका र नलागेका व्यक्तिहरूको शारिरिक तथा मानसिक समस्यालाई समाधान गर्न हाम्रो सानो पहल मात्र हो', यादवले भने।

डा अरुण शाही, डा रमित कुमार गुप्ता, डा सुनिता राय, डा साजन थापा, डा जीवन तामाङ्ग, डा दीपक आर्यन, डा सन्दीप गिरी, डा अविनाश राय, डा राधेश्याम राय, डा राजेश राय, डा निरज कार्की र डा विवेकसिंह राठोरसँग कुनै पनि व्यक्तिले परामर्श लिन सकिने यादवले जनकारी दिए।

'सुरुवातमा थोरै भए पनि अहिले स्वंयसेवा गर्नेको संख्या बढ्दै गएको छ। अहिले स्वास्थ्यकर्मी र अन्य व्यक्तिको संयुक्त रुपमा पहल गर्न ३० भन्दा बढी व्यक्ति यो काममा लागिरहेका छौं', उनले भने।

उक्त टोलीले सर्लाहीका मात्र नभए देशभरका कोरोना संक्रमितले टेलिफोनमार्फत निःशुल्क परामर्श लिइरहेको यादवले बताए।

यी चिकित्सकहरूसँग टेलिफोनमार्फत परामर्श गर्न सकिने यादवले जानकारी दिए।' कोभिड–१९ र्‍यापिड रेस्पोन्स टिम'को परामर्श टोलीले स्वास्थ्य परीक्षण तथा औषधि पनि वितरण गरिरहेको छ। टिमले प्रशासनसँग मिलेर अक्सिजनसहितको २५ आइसोलेसन बेड पनि तयार पारेको छ।

विभिन्न संघसंस्था तथा व्यक्तिले गरेको सहयोग रकमले बिरामीहरूलाई स्वास्थ्य सामग्री वितरण तथा कोरोनाका जटिल बिरामीलाई वीरगन्ज, काठमाडौं लैजान एम्बुलेन्सको पनि व्यवस्था गरेको यादवले जानकारी दिए।

कोरोना महामारी कम भइरहेको अहिले उक्त टिमले 'निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम एवं हेल्प डेस्क कार्यक्रम  पनि सुरू गरेको छ। जिल्लाका ५ वटा स्थानीय निकायमा यो कार्यक्रम सकिएको र अब १५ वटा स्थानिय निकायमा क्रमश काम गर्दै जाने टोलीको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.