|

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापनाको माग गर्दै सडक प्रदर्शन गरेका विद्यार्थीहरूको माग तीन वर्षपछि पूरा भएको छ। दुई महिनाको अवधिमा सर्पको डसाइबाट तीन विद्यार्थीले उपचार अभावकै कारण ज्यान गुमाएको भन्दै कचनकवलका विद्यार्थीहरूले २०७५ भदौ १८ गते सडकमा प्रदर्शन गर्दै स्थानीय सरकारको ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए।

विद्यार्थीको प्रदर्शन, दबाब र ध्यानाकर्षणपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापनाको पहल त्यही बेलादेखि सुरु गरे। गाउँपालिका र स्वास्थ्य शाखाको लामो प्रयास र पहलपछि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदंश उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ। गाउँपालिकाको करिब २५ लाख लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको एक कार्यक्रमबीच यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरे।

झापामा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूमा आइसियु र भेन्टिलेटरको सुविधा नभएकाले कचनकवलको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरको पनि छिट्टै व्यवस्थापन गरिने उनको भनाइ छ। कचनकवलबाहेक बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी राष्ट्र भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे।

त्यस्तै प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले गाउँवासीले लामो समयदेखि भोगिरहेको एउटा पीडादायी समस्याको आज अन्त्य भएको बताए। उनले उपचार केन्द्रका लागि १० लाख रुपैयाँ सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाले दुईवटा आकस्मिक र चारवटा नर्मल बेड राखेर सर्पदंश उपचार कक्ष तयार गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गत यही जेठ २७ गते कचनकवल गाउँपालिकालाई सञ्चालनको अनुमति दिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।

‘उपचार केन्द्रमा चाहिने आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति, औषधिको पनि व्यवस्थापन गरिसकेका छौँ,' उनले भने, ‘सर्पले कसैलाई डसेमा आधा घण्टाभित्र यस उपचार केन्द्रमा ल्याउन सबै नागरिकलाई आग्रह गर्छु।’

सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाबाट करिब २५ लाख रुपैयाँ प्राप्त भएपछि हामीले व्यवस्थापन मिलाएर सेवा सञ्चालन ल्याउन सफल भएको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष रवि ओझाले जानकारी दिए। समितिले उपचार केन्द्र सञ्चालन सहज बनाउन सर्पदंश सञ्चालन उपचार कोष खडा समेत गरिसकेको उनले बताए। सर्प दंशसहित यस स्वास्थ्य केन्द्रमा कुकुर तथा विषालु जीवजन्तुले टोक्ने उपचार पनि सुरु गरिसकेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.