|

काठमाडौं :  बाढी पहिराेकाे कारण मेलम्चीकाे पानी काठमाडाैं आउने समय पर धकेलिने भएकाे  छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले आयोजनामा क्षति पुगेकाले पानी आउने समय पर धकेलिने भएकाे हाे। 

मेलम्ची खानेपानी आयोजनाले असार १ गतेबाट सुरुङ परीक्षण गर्ने भनेर उपत्यकामा पानी पठाउन राेकेकाे हाे। यसअघि करिब दुई महिना पानी नपठाउने जनाएको आयाेजनाले बाढी पहिराेकाे कारणले पानी पठाउन केही समय थप लाग्ने जनाएकाे छ।

आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले समयमा पानी पठाउने सम्भावना नरहेको बताए। उनले भने,‘सुरुङमा पानी खाली गर्न १५ दिन लाग्छ, पुरै परीक्षण गर्नलाई ४५ दिनको कार्यतालिका बनाएका थियौँ, त्यसपछि पानी पठाउने योजनामा थियाे। तर बाढीले आयोजनामा क्षति पुर्‍याएकाले काम बढ्यो, अब भनेको समयमा पानी आउने सम्भावना छैन।’

उनले कति समय लाग्ने भन्ने एकिन एेले नै भन्न नसकिने बताए। ‘अहिले त्यहाँ जाने अवस्था छैन,अरु वैकल्पिक बाटो पनि छैन, विस्तृत क्षति विवरण पनि पाउन सकिएकाे छैन, त्यसैले कति समय लम्बिन्छ भन्ने अहिले भन्न सकिन्न’,पन्तले भने।

उनका अनुसार बाढीले खानेपानीको नदी डाइभर्सन गर्ने संरचनामा क्षति पुर्‍याएको छ। ठूलठूला ढुंगाले पानी छिर्ने मुख नै बन्द गरेको छ। ती  ढुंगा हटाउन नै समय लाग्ने उनकाे भनाइ छ।

आयोजना सुरु भएको दुई दशकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसालेका थिए। 

पानी भने चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याएर वितरण गरिएको थियो। पछि दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो। 

मेलम्ची पानी नआउने भएपछि पानी वितरण समेत कम गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार अहिले चार दिनदेखि १२ दिन बिराएर धारामा पानी पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.