|

काठमाडाैं : आजबाट इंग्ल्यान्डको साउथहेम्टनमा भारत र न्युजिल्यान्डबीच टेस्ट च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ।

२०१९ बाट जारी प्रतियोगितामा ९ टेस्ट राष्ट्रहरुले एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए। जहाँ अंक तालिकाको शीर्ष दुई स्थानमा रहँदै भारत र न्युजिल्यान्डले फाइनलमा स्थान बनाएका हुन्।

केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड र विराट कोहलीको कप्तानीमा भारत छ। दुवै टिम निश्चित जितको खोजीमा पहिलो ऐतिहासिक ट्रफी आफ्नो घरमा लैजान प्रयास गर्नेछन्।

टेस्ट वरीयतामा न्युजिल्यान्ड एक नम्बरमा हुँदा भारत दोस्रो नम्बरमा छ। 

केही दिनअघि इंग्ल्यान्डलाई उसकै मैदानमा हराएकाले न्युजिल्यान्ड भारतलाई पनि पराजित गर्ने ध्याउनमा छ। आइसिसिले टेस्ट च्याम्पियन विजेता टिमलाई ट्रफीसहित १६ लाख डलर, त्यस्तै उपविजेतालाई ८ लाख डलर पुरस्कार दिने छ।

खेल बराबरी भएमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिने छ भने दुवै टिमले समान १२ लाख डलर नगद प्राप्त गर्नेछन्।

टेस्ट च्याम्पियनसिपमा भारतले फाइनलसम्मको यात्रा तय गर्दा १७ खेलमा १२ जित ४ हार र १ बराबरी खेलेको छ भने न्युजिल्यान्डले १५ खेलमा ९ जित ४ हार र २ खेल बराबरी खेलेको छ। 

पछिल्लो पटक भारतले इंग्ल्यान्डमा २०१८ मा प्रतिस्पर्धा गरेको थियो। जतिबेला भारतीय टिमको औसत स्कोर २००-२३० रहेको थियो। प्रतियोगिता १८ देखि २२ जुनसम्म हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बाट सुरु हुनेछ।

भारतीय टिम 

रोहित शर्मा,  शुभमन गिल,  चेतेश्वर पुजार,  बिराट कोहली (कप्तान), अजिंक्य रहाने, ऋशभ पन्त (विकेटकिपर), रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, मोहम्मद शमी,  इशांत शर्मा,  जस्प्रित बुम्राह , मोहम्मद सिराज,  रिद्दिमान शाह,  हनुमा विहारी र उमेश यादव 

न्युजिल्यान्ड ट‍िम

केन विलियमसन (कप्तान),  टम ब्लनडेल,  ट्रेन्ट बोल्ट,  डेभोन कनवे, कोलिन डी ग्रयाण्डहोम,  म्याट हेनरी,  कायल जेमिसन,  टम लाथम,  हेनरी निकोलस,  एजाज पटेल,  टिम साउदी,  रोस टेलर,  नल वागनर,  बिजे वाटलिंग र विल योंङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.