|


पर्वत : गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले व्यक्तिगत रूपमा नयाँ मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिन न भए पनि टिमका कारण दिन नसक्ने बताएका छन्।

पोखरेल सांसदहरूमध्येकै शालीन भए पनि विश्वासको मत उनलाई मात्रै नभएर सबै टिमको लागि जाने भएका कारण आफूले विश्वासको मत दिन नसक्ने बताएका हुन्।

शुक्रवार नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि संसद् बैठकमा प्रस्ताव गरेपछि त्यसमाथि भइरहेको छलफलको क्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्।

‘एउटा व्यक्तिको हिसाबले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल प्रदेशसभाका सबैभन्दा परिपक्व नेता, शालीन व्यक्तित्व, लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण परिवारबाट राजनीतमा आएको व्यक्तित्व हुनुहुन्छ, उनले भने, यस्तो व्यक्तिले विश्वासको मत माग्दा मलाई दिन्न भन्न  गाह्रो छ तर उहाँले मलाइ दिनुस् भन्नुभएको होइन, मेरो नेतृत्वको सरकारलाई दिनुस् भनेको हुनाले दिन नसक्ने कुरा जानकारी गराउन चाहन्छु।'

संघीयतामा डटेर लागेमा वर्तमान सरकारलाई हर चिजमा समर्थन रहने उनले बताए। 'संघीयताको मूल मर्म भनेकै प्रदेश सरकार हो। त्यसैले यो बलियो हुनुपर्छ ।संघीयतालाई बलियो बनाउने सवालमा सहकार्य हुन सक्छ। उनले भने, 'प्रदेशको प्रतिष्ठा र गौरवका खातिर तपाईँ साँच्चै यात्रामा हिँडेमा सहयात्री बन्न तयार छौँ।’

प्रतिपक्षी भूमिकामा रहँदा निरपेक्ष रूपमा सरकारको विरोध गर्ने संस्कार रहेको भए पनि अब प्रतिपक्षमा गएको एमालेले त्यो नगर्ने गुरुङले बताए।

प्रदेश सरकारले गौरवका कार्यक्रम ल्याएमा खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले हरेक प्रदेशका मुख्यमन्त्री अप्ठ्यारोमा रहेको बताए।

‘आज कृष्णजी पनि अप्ठ्यारोमा हुनुहुन्छ, हिजो म पनि थिएँ। सबै प्रदेशका मुख्यमन्त्री अप्ठ्यारोमा छन्’ उनले भने, ‘सङ्घीयताको बखान गर्ने तर बलियो बनाउन कसरत नगर्ने हामी होइनौँ। तपाईँ केपी ओली भन्नुहुन्छ, म त काठमाडाैंमा बसेका नेताहरू सबै भन्छु। हरेक नेताको कुरा बुझेको छु। कसले राजनीतिक व्यापार गर्छ भन्ने मैले बुझेको छु।’​

काठमाडाैंको माइन्डसेटका कारण अहिले पनि प्रशासनिक सुधारमा समस्या भएको गुरुङले दाबी गरे।

काठमाडौंमा ५० हजार कर्मचारी अनावश्यक रूपमा राखिएको बेलामा प्रदेशमा २० हजार नि नहुनु दुःखद भएको उनको भनाई छ। त्यसमा एक जना व्यक्तिको मात्र कुरा नभई मुख्य सचिव र सचिवको कुरा पनि आउने गुरुङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.