|

पर्वत : शुक्रबार गण्डकी प्रदेश सरकारले विश्वासको मतका लागि प्रस्ताव गरेपछि त्यसमाथि छलफल चल्यो। मत विभाजनपूर्व प्रस्तावमाथि सांसदहरुले विचार व्यक्त गरेका छन्।

छलफलमा बोलेका प्रतिपक्षी एमालेका सांसदहरूले भने नयाँ सरकारको विरोध गरे। उनीहरूले आपसमा मुद्दा नमिलेका चार घटकहरू एकै ठाउँमा रहेका कारण नै यो सरकारको आयु लामो नभएको दाबी गरे।

मुख्यमन्त्री पोखरेलले विश्वासको मतका लागि प्रस्ताव गरेपछि छलफलमा भनाइ राख्दै विपक्षीले नयाँ सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे विरोध गरे।

तर नयाँ सरकारले भने निवर्तमान सरकारले नै बनाएको योजनामा सामान्य थपघट गरेर ल्याएको बताइरहेको छ। बोल्नेहरूले अहिलेको सरकारको गठबन्धनमा जस्तो पायो त्यस्तै मान्छे रहेका कारण अपवित्र भएको, बाढी पहिरोले नागरिक पीडित भएको बेलामा कास्कीकै १५ मिनेटको ठाउँमा गएर मोटर बाटोको अवस्था नहेरी मनाङमा पुगेको लगायत आरोप लगाए।

सरकारलाई समर्थन गरेका कतिपय सांसदले भने अबको सरकारले गर्नुपर्ने असल कामबारे सरकारलाई जानकारी गराए। छलफलमा बोल्दै एमाले सभासद् कृष्ण थापाले सरकार बन्नासाथ प्रदेशमा बाढी पहिरोले वितण्डा मच्चाएको उल्लेख गरे। उनले वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनमोहन अधिकारीले दिन सुरु गरेको वृद्धभत्ता खान उपयुक्त पात्र भएको समेत बताए।

सांसद मीना गुरुङले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको भए पनि कमजोर धरातलमा उभिएको टिप्पणी गरिन्। एमाले सभासद् धनञ्जय दवाडीले कांग्रेसलाई दस्तावेजको हिसाबले माओवादी केन्द्रले दुस्मन मान्ने गरेको र गठबन्धनमा संघीयता नमान्नेहरू पनि रहेका कारण गठबन्धनलाई अराजनीतिक र अप्राकृतिक भएको आरोप लगाए।

यस्तै राजीव पहारीले  यो सरकार नै केन्द्रको चोचोमोचोमा बनेको  जिकिर गर्दै सरकार न हाँसको न बकुल्लाको चालजस्तो भएको टिप्पणी गरे। विश्वासको मत किन छिटो लिएको भन्ने प्रश्न गर्दै उनले  ११ मन्त्री बनाउने तयारीले फजुल खर्च बढाउने बताए।

यद्यपि मन्त्रालय यसअघिकै सरकारले फुटाएको बारेमा उनले बोलेनन्। बरु पूर्वमुख्यमन्त्री गुरुङले आफ्नै सरकारले सरकार फुटाएको लगायत धेरै रचनात्मक कुराहरू छलफलमा राखे।

राष्ट्रिय जनमोर्चाकी सभासद् पियारी थापाले नयाँ सरकार जनताबाट चुनिएको र गठबन्धनबाट म्यान्डेट पाएको बताइन्। उनले गुण र दोषको आधारमा नयाँ सरकारलाई समर्थन वा विरोध गर्ने बताइन्।

सरकार निर्माणको बेलामा मन्त्रालय नपाएका कारण शंकामा रहेको आरोप खेपेकी जसपाकी सांसद धनमाया लामा पोखरेलले सबैको भ्रमलाई चिर्दै वर्तमान सरकारलाई विश्वासको मत दिने वाक्य बोलेर भनाइ सकिन्।

सांसद  ओमकला गौतमले विपक्षीले भनेजस्तो यो सरकार खिचडी नभएको र समयको आवश्यकता भएको बताइन्। आफ्नो गठबन्धनमा हुँदा त्यही व्यक्ति राम्रो हुने र आज अर्को गठबन्धनमा जाँदा त्यही व्यक्ति अपवित्र हुने भन्ने नहुने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.