|

सर्लाही : सरकारले असार, देखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा ब्यापक नदी दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन्। 

सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सैयौं टयाक्टर र टायरगाडा प्रयोगगरी ढुंगा,गिटी बालुवा उत्खनन भइरहेको छ। 

जिल्लाकै सबैभन्दा ठूलो बागमती नदीमा दोहन भइरहेको त्यहाँका स्थानीयको आरोप छ। बामगती नगरपालिकाअन्तर्गत कर्मैया, जिरायत टेकानीघाट, रामपुरघाट, लालबहादुरटोल दुम्जालीटोल र बरहथवा नगरपालिकाको खर्सालघाट, हजरियाबाट दिनदहाडै ट्याक्टरमार्फत ढुंगा, गिटी बालुवाजस्ता नदीजन्य पदार्थ उत्खनन भइरहेका छन्।

हरिवन र लालबन्दी नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाको गणेशचोक नवलपुर, मोहनपुर, हिरापुर, डाब्कालीटोल हरिपुर नगरपालिकाको जगतपुर, ईश्वरपुर नगरपालिकाको बाँके, श्रीनगर,फूलजोरबाट र लालबन्दीको कलिन्जोरबाट दैनिक स‍यौं सवारी साधनको प्रयोग गरी नदी दोहन भइरहँदा पनि सम्बन्धित निकाय बेखबर बनेका छन्।

अवैध रुपमा उत्खनन गरी निकालिएका नदीजन्य सामग्री बिक्री गर्ने र बिक्री नभएको खोलाकै बगरमा भण्डारण गर्ने गरिएको छ। प्रतिबन्ध हटेपछि व्यापारीले महँगोमा बिक्री गर्ने हजरियाका स्थानीय गोविन्द क्षत्री बताउँछन्।

उनका अनुसार प्रहरी कार्यालयको परिसरको बाटो हुँदै टयाक्टरले दैनिक गिट्टी, बालुवा, ढुंगा बोकेर दौडिरहेको हुन्छ। क्षत्रीले भने, 'उनीहरुलाई रोकटोक छैन, हामीले घरायसी कामका लागि एक गाडा बालुवा ल्याउँदा प्रहरीले अनावश्यक दुःख दिने गरेको छ।' शुरुमा प्रहरीले डर देखाउने र पछि प्रतिटयाक्टर दुई सय र गाडाको एक सय लिएर छाड्ने गरेको गुनासो गरे।

जनप्रतिनिधिकै पार्टीका कार्यकर्ता र आफन्तसहित प्रहरीको मिलेमतोमा नदी दोहन भइरहेको स्थानीयले आरोप लगाइरहेका छन्। यतिखेर नदी नजिकै रहेका गाउँका स्थानीय र ठेकेदारहरुले दादागिरी शैलीमा नदीजन्य सामग्री उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन बसेको लालबन्दी नगरपालिका-१ का प्रेमध्वज लामाले आरोप लगाए।

यता जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले असार १ गतेबाट सर्लाही हुँदै बग्ने खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको सबै स्थानीय तहमा जानकारी भइसकेको छ। कसैले नियमविपरीत  गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गरे कानुनी कारबाही हुने बताए।

अवैध रुपमा तस्करहरुले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले बागमती, बाँके, लखन्देही, फूलजोर कालिन्जोर खोला किनार आसपासका सयौं बिगाहा जमिन कटानको चपेटामा परेका छन्।

जथाभावी नदीजन्य पदार्थको उत्खननले तटीय क्षेत्रमा रहेका दर्जनौं बस्ती नै डुबानमा पर्ने जोखिम रहेको स्थानीयले चिन्ता व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.