|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्‍याङबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएका तिला गाउँपालिका–७ घोडिसम गाउँका लोकबहादुर रोकायाकोसफल शल्यक्रिया भएको हो।

हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, डा. निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्।  

हाडजोर्नी विशेषज्ञ डा. रोकायाले अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताए। ‘अस्पतालमा घाँटीको मेरुदण्डको शल्यक्रिया भएको थिएन। यो पहिलो हो,’ उनले भने, ‘निकै जटिल शल्यक्रिया गरेर बिरामी निको भएका छन्। हामी यसैमा खुसी छौँ।’ 

बिरामीका बुवा खुमीलाल रोकायाले आशा मारिसकेका छोरा डाक्टरहरुले बचाइदिएको बताउँछन्। ‘अस्पताल ल्याउने बेला दाया हात र दाया खुट्टा चल्थेन। राम्रोसित बोल्न सक्थेन,’ उनले भने, ‘छोरा बाँच्दैन जस्तो लागेको थियो। परिवारले आशा मारिसकेका थियौँ। तर कर्णाली अस्पतालका डाक्टरहरुले  छोरा बचाइदिए। मेरो परिवारका लागि चिकित्सक नै भगवान हुन्।’

जेठ ३ गते अस्पताल भर्ना भएका लोकबहादुर अहिले हिँड्डुुल गर्छन्। बोल्न सक्ने भएका छन्। लोकबहादुरले भने, ‘कर्णाली अस्पताल नआएको भए जीवन बर्बाद हुने थियो। चिकित्सकको अथक मेहनतका कारण आफ्नो जीवन बाँचेको भन्दै निकै खुसी छु।’ 

लकडाउन भएकाले बिरामीलाई जिल्लाबाहिरको अस्पतालसम्म पुग्न कठिन थियो। यस्तो अवस्थामा चुनौती मोलेर शल्यक्रिया गरेको डा. रोकायाले बताए। ‘निक्कै ठूलो चुनौतीको सामना गरेर बिरामीको अपरेशन गरियो,’ उनले भने, ‘यसले नागरिकमा सकारात्मक सन्देश फैलाउने विश्वास लिएका छौं।’

अस्पतालमा लकडाउनको अवधिका हाडजोर्नीका ३८ वटा शल्यक्रिया भएको छ। जसमा २७ जना जुम्लाको र ११ कालीकोटका बिरामी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.