|

बैतडी : बैतडीमा कोरोना भाइरसविरुद्धको ‘चिनियाँ’ भेरोसेल खोप करिब ३ हजार ज्येष्ठ नागरिकले लगाएका छन्। गत जेठ २८ गतेदेखि सुरु भएको खोप अभियानअन्तर्गत २ हजार ९१४ जना ज्येष्ठ नागरिकहरूले खोप लगाएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

खोप लगाउन ६२ देखि ६४ बर्ष उमेर समूह तोकिए पनि अन्य उमेर समूहका नागरिकले पनि खोप लगाएका छन्। जिल्लाका १० वटै स्थानीय तहका वडाहरूमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो। सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खोप लगाएका छन्।

यस्तै, पाटन नगरपालिकामा ४१३ जना, पुर्चौंडी नगरपालिकामा ३२५ जना, मेलौली नगरपालिकामा २४२ जना र डिलाशैनी गाउँपालिकामा २५८ जनाले खोप लगाएका छन्।

यसैगरी, सिगास गाउँपालिकामा २८७ जना, दोगडाकेदार गाउँपालिकामा २७० जना, शिवनाथ गाउँपालिकामा २२९ जना,सुर्नया गाउँपालिकामा २२१ जना र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन्। जिल्लामा ३ हजार ७८० डोज खोप आएको थियो।

बैतडीमा रहेका ८४ वटा वडाहरूका खोप केन्द्रमार्फत पहिलो डोज दिइएको हो।

भेरोसेल खोपको दोस्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ। भेरोसेल खोपको दोस्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ। उनले भने,‘पहिलो मात्रा लगाएकालाई अनिवार्य रूपमा दोस्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं।’

जिल्लामा ३ हजार ४ सय ५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेको भए पनि ८४ प्रतिशत अर्थात् २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो।  लगातारको वर्षा, भौगौलिक विकटता र चेतनाको कमीले गर्दा  लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.