|

भक्तपुर : मनसुन भित्रिएसँगै परेको अविरल वर्षापछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने कार्यलाई प्रशासनले सहजीकरण गर्ने निर्देशन दिएसँगै किसानहरु निर्धक्क रोपाईंमा व्यस्त भएका छन्।

जेठको अन्तिम सातादेखि वर्षा हुन थालेपछि असारको पहिलो साता नै भक्तपुरका अधिकांश स्थानमा खेतका गह्राहरुमा किसानहरुको मेला जस्तै लागेको छ। कोही खेत खन्ने, कोही बाउसे गर्ने, कोही बिउ काढ्ने, कोही रोपाईं गर्ने, रोपाईंको मनमोहक दृष्य देख्न पाइन्छ।

रोपारहरुले असारे भाकामा लोकगीत गाउनु, बाउसेहरुले हिलो छ्यापाछ्याप गर्नु, व्याडेहरुले रोपारहरुले गाएको भाका छोप्दै बिउ काढ्नु, बेठी गाउनु, लाठेहरुले गोरु जोत्नु र अन्तमा नाचगान गरेर रमाइलो गर्नु रोपाईं संस्कृति हो। तर अचेल काँठ क्षेत्रमा असारे भाका र रोपाईं संस्कृति बिस्तारै लोप हुँदैं गएको संस्कृतिकर्मीहरु बताउँछन्।

बढ्दो शहरीकरण, बेमौसमी नगदे बालीको बिस्तार र जग्गा प्लटिङ गरेर बाँझो राख्ने प्रवृत्तिले वर्षेनी धान खेती घट्दै गएपनि भक्तपुरमा रोपाईंको रौनक भने नघटेको किसानहरु बताउँछन्।

वर्षको एक पटक हिलो खेल्नुपर्छ भन्ने परम्परागत मान्यताले पनि युवा पिँढी हिलोसँग पौंठेजोरी खेल्नकै लागि भएपनि रोपाईंमा जुट्ने भएकाले रोपाईंको रौनक घट्न नपाएको संस्कृतिविदहरुको भनाई रहेको छ। काठमाडौं उपत्यकामा नेवार समूदायमा रोपाईंको छुट्टै पहिचान झल्कने संस्कृति रहेको छ।

नेवारी लोकभाका गाउँदैं एकआपसमा हिलो छ्यापाछ्याप मात्र होइन साँधेको आलुसँगैं सगुनको रुपमा थ्ओं (जाँड) सेवन गरेर रमाइलो गर्ने र खेतका आलीमा बसेर भोज खाने प्रचलन नेवारी समूदायमा रहेको छ। यस्ता मौलिक परम्परा भने अचेल हराउँदै गएका छन्। तर रोपाईंलाई महोत्सवको रुपमा मनाउने प्रचलन यदाकदा देख्न पाइन्छ।

रोपाईंको मौलिक परम्परा हराउँदै गएपनि यसकोे रौनक भने वर्षेनी बढ्दै जान थालेको छ। भक्तपुरका अधिकांश स्थानमा धान खेती गरिन्छ। तर बढ्दो शहरीकरणले खेतीयोग्य जमिन घट्दै गएपनि सुडाल, ताथली, चित्तपोल, सिपाडोल, गुण्डु, सिरुटार, दधिकोट, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङलगायतका ग्रामिण भेगमा भने अझैं प्रशस्त धानखेती गरिन्छ।

भक्तपुरका अधिकांश स्थानमा आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्था छ। परम्परागत राजकूलोहरु मासिँदैं गएकोले पनि धानखेतीका लागि आकासे पानीको भर पर्नुपर्ने अवस्था छ।

जिल्लाको दुई मुख्य नदी हनुमन्ते र मनोहराका साथै यसका सहायक खोलानाला नजिकका फाँटहरुमा भने वाटर पम्पसेटको सहायताले सिचाई गरेर किसानहरुले रोपाईं गर्ने गरेका छन्। धानबाली नेपालको मुख्य अन्नबाली हो। भक्तपुरमा प्रतिहेक्टर ६ टन धान उत्पादन हुने तत्कालिन कृषि कार्यालयको तथ्यांक रहेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.