|

जनकपुरधाम : धनुषामा एक लागुऔषध सम्बन्धी घटनाको मिसिल फेरबदल गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) प्रकाश रानाभाटमाथि अनुसन्धान सुरू भएको छ।

रानाभाटले अवैध लाभ लिई मुद्दाको मिसिल फेरबदल गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन थालिएको हो। प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले लागुऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा रानाभाटमाथि अनुसन्धान सुरू भएको बताए।

चार महिनाअघि गत फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागुऔषध नाइट्रोजन भ्याट सहित तीन जनालाई पक्राउ गरेको घटनामा एसपी रानाभाटले मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको हो।

उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो। अहिले उक्त छानविन समितिले धनुषा आएर अनुसन्धान प्रक्रिया अगाडि बढाएकोे छ। ‘एसपी रानाभाटविरुद्ध उजुरी परेको छ,’ प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने,‘अहिले नै केही भन्न सक्ने अवस्था छैन। लाभ लिएको पुष्टि भएमा कारबाही हुन्छ।’

लागुऔषध सहित  पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका छन्।

उनीहरुलाई बटेश्वर गाउँपालिका–२ कार्तिक कुम्हर बजारबाट फागुन ८ गते साँझ तीन सय ८० थान ‘नाइट्रोजन भ्याट’ नामक ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको थियो। यस्तै प्रहरीले उनीहरू चढेको ज ७ प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकल समेत नियन्त्रणमा लिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.