|

गोरखा : कारबाहीको डरले गोरखा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले स्वास्थ्यकर्मी र कर्मचारीलाई गरेको दुर्व्यवहारको अडियो लुकाइएको छ।

मेसु डा शान्ति भुर्तेलले आफूविरुद्ध प्रमाण पुग्ने अडियो सार्वजनिक भएमा कारबाही गर्ने धम्की दिएपछि पीडित स्वास्थ्यकर्मीहरुले अडियो लुकाएका हुन्। 

‘मेसुले केही समय अघि अस्पतालमा कार्यरत २३ जना स्वास्थ्यकर्मीहरुलाई बोलाएर जागिर खाइदिने, सरुवा गर्दिने, करारकालाई म्याद थप नगर्ने भन्दै धम्क्याएर दुर्व्यवहार गरेपछि स्वास्थ्यकर्मीहरु रोएको अडियो थियो। तर, डरका कारण उहाँहरुले अडियो दिन मान्नु भएको छैन’, अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले थाहाखबरलाई भने।

मेसुले पटकपटक धम्क्याउने, दुर्व्यवहार गरेपछि आफूले अडियो रेकर्ड गरेको एक स्वास्थ्यकर्मीले बताइन्। ‘डरले मैले त्यो अडियो डिलिट गरिसकेँ, वास्तविक कुरा तपाईँहरुलाई थाहा छँदैछ। म धेरै बोल्न चाहन्न’, ति स्वास्थ्यकर्मीले डराउँदै भनिन्। मेसुले मिडियाकर्मीसँग आफु विरुद्धको प्रमाणहरु दिएमा कारबाही गर्ने धम्की दिएकाले अडियो लुकाउन बाध्य भएको पीडित स्वास्थ्यकर्मीले बताए। 

अध्यक्ष आफैँ पीडित

गोरखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष बुद्धि दवाडी मेसुको व्यवहारबाट आफु पीडित भएको बताउँछन्। ‘स्वास्थ्यकर्मी, कर्मचारी मात्रै नभई म आफै पनि मेसुबाट पीडित छु। मेसुले यहाँ कर्मचारी र स्वास्थ्यकर्मीहरुप्रति उचित व्यवहार गर्न नसकेपछि विकल्प सोच्नुपर्छ। उहाँ यहाँबाट जानुपर्ने हुन्छ। मैले त्यसका लागि पहल गरिरहेको छु’, उनले भने।

पुरानो समितिलाई हटाएर गत वैशाख ९ गते सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले दवाडीलाई व्यवस्थापन समितिमा नियुक्त गरेको थियो। तर, अहिलेसम्म समिति समितिले पूर्णता पाउन सकेको छैन। 

मेसु पोखरा र काठमाडौं धाउँदै

मेसु भुर्तेलको कार्यशैलीविरुद्ध चिकित्सक र कर्मचारीहरू गत जेठ २३ गते विरोधमा उत्रिएका थिए। विरोधमा उत्रिएका अस्पतालका ४९ जना कर्मचारी र स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी र अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै डा भुर्तेललाई बर्खास्त गर्न माग गरेका थिए।

मेसुमाथि अस्पतालले दिनुपर्ने सेवासुविधा र जनस्वास्थ्यका सुधारका निम्ति कुनै प्रस्ट दृष्टिकोण नभएको, अस्पताल मातहत कर्मचारीलाई समयमा सेवा सुविधा नदिएको, अस्पताल आफ्नो प्राइभेट कम्पनीसरह मनपरी निर्णय गर्ने गरेको, कोभिड महामारीका बेला कुनै छलफल नगरेको लगायतका १० बुँदामा आरोप लगाइएको थियो।

तर मेसुले आफूमाथि आन्दोलनमा उत्रिनेहरुलाई कारबाही गर्ने भन्दै धम्की दिएपछि विरोधमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुसहित गत जेठ २४ गते नै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दवाडीको अध्यक्षतामा बसेको बैठकले व्यक्तिगत रिसराग नराख्ने र कोरोनाविरुद्ध एकजुट भएर लड्ने सहमति भएको थियो।

उक्त सहमति पछि मेसुलाई निर्दोष सावित गर्न प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरले नक्कली छानविन समिति गठन गरेर गत आइतबार गोरखा पठाए।

उनले बनाएको नक्कली छानविन समितिमा शम्भु प्रसाद  ज्ञवाली, खिमबहादुर खड्का, गंगाबहादुर क्षेत्री थिए। सचिवको कमाण्डमा मन्त्रालयको छानविन समितिबाट आएको बताउँदै उनीहरुले पनि अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई दबाब दिएर मेसुविरुद्धको आरोप गलत भएको भन्ने सहमति गर्न लगाएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए।

उक्त नक्कली छानविन समितिले आइतबार गरेको सहमतिमा अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हेमन्त दुजानाले हस्ताक्षर गर्न मानेनन्। हस्ताक्षर गर्न नमानेको भन्दै उनलाई थप दबाब आउन थालेपछि असार १ गतेदेखि लागु हुनेगरि दुजानाले राजीनामा दिएका छन्। मेसुको बारेमा थाहाखबरमा पटकपटक समाचार प्रकाशन भएपछि उनी कारबाहीबाट जोगिन कहिले पोखरा तथा काठमाडौं धाउँन थालेकी छिन्। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.