जसपा ढुक्क

|

गोरखा : प्रदेश सभाबाट विश्वासको मत पाएलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रिमण्डल बिस्तारमा सक्रिय बनेका छन्।

शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई जतिसक्दो छिटो पूर्णता दिन पोखरेलले तयारी थालेका हुन्। विश्वासको मत लिएपछि सत्तापक्षीय सांसदहरु शुक्रबार साँझ मन्त्रिमण्डल बिस्तारको बिषयमा अनौपचारिक छलफलमा जुटेका थिए। तर कांग्रेस र माओवादीबाट भने को को मन्त्री बन्ने भन्ने टुङ्गो लागिसकेको छैन।

हाल ११ वटा मन्त्रालय रहेको गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री पोखरेलले गत जेठ २९ गते नै पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका थिए। पोखरेलले कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए।

सत्तापक्षीय एक सांसदका अनुसार गठबन्धन गर्ने समयमा कांग्रेस र माओवादीलाई ४/४, जसपालाई २ र स्वतन्त्र सांसद मनाङेलाई १ मन्त्रालय दिने सहमति भएको थियो। राजमो सरकारमा नजाने अडान लिएपछि माओवादी र कांग्रेसलाई भागवण्डामा फाइदा भएको छ।

हाल प्रदेश सभामा सत्तापक्षीय कांग्रेसका १५, सभामुख बाहेक माओवादीका ११, जसपाका दुई, राजमोका दुई र स्वतन्त्र सांसद मनाङ्गे छन्। जसपाका सांसद आचार्य यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् भने अर्की सांसद धनमाया लामा पनि सम्झौता अनुसार मन्त्री नियुक्त हुने पक्का छ।

कांग्रेस र माओवादीमा भने बन्नका लागि सबै सांसदहरु केन्द्रीय शक्ति लगाउन कस्सिएका छन्। कांग्रेसमा मन्त्री नियुक्त नभएका १३ जना सांसदहरु बाँकी छन्। जसमध्ये अब दुई जनामात्र मन्त्री बन्न पाउने छन्।

‘मन्त्री नियुक्तका लागि संसदीय दलले सिफरिस गर्नुपर्छ। तर अहिले सबैले मन्त्रीको आश गरेका छन्। ‘मन्त्री बन्न सबैले केन्द्रीय नेताहरुसँग सम्पर्क गरिराख्नु भएकै छ।

पहुँच जसको बढि पुग्छ, उहाँ नै मन्त्री बन्नुहुन्छ’, कांग्रेसका एक सांसदले भने। सभामुख बाहेक ११ सांसद रहेको माओवादीमा एक जना मन्त्री भइसकेका छन्। बाँकी १० जनाबाट तीन जना मन्त्री बन्नेछन्।

माओवादीका एक सांसदले भने, ‘१० जनाबाट छानिएर तीन जना मन्त्री हुने भन्ने कुरा छ। छलफल भइरहेको छ। केही दिनमा टुङ्गो लाग्ला।’
कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको पहिलो पटक हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.