पुस्तान्तरणको नारा कार्यान्वयनमा सकस

|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै शिर्ष तहमा दौडधुप सुरु भएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितीको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने टुंगो लगाएपछि सभापति आकांक्षीहरुको दौड बढेको हो। 

सभापति शेरबहादुर देउवाले फेरि दाेहाेरिने बताउँदै तयारी थालिसकेका छन्। देउवाले शनिबारदेखि निरन्तर आफू निकटस्थ प्रदेशस्तरीय नेताहरुसँग छलफलमा व्यस्त छन्।

देउवालाई यसपटक सहजै सभापतिको जित्नसक्ने अवस्था भने देखिदैन। संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले समेत सभापति पदकाे दाबी गरेका छन्। 

शनिबारको बैठकमा सभापति देउवाले भनेका थिए,‘म अब पनि उठ्छु। तपाईहरुले मलाई सघाउनु होस्। लोकतन्त्र र संविधानको रक्षा गर्दै पार्टीलाई पहिलो बनाएर हस्तान्तर गर्छु।’ 

तर जवाफमा उपसभापति निधिले देउवाले कुरा राखेपछि हालसम्म आफूले सहयोग गरेकोे बताउँदै यसपटक आफूलाई सहयोग गर्न आग्रह गरे। तर निधिको प्रस्तावपछि पनि देउवाले आफू सभापतिको दाबेदार गरिरहने अडान लिइरहे। फेरि सभापति बन्ने रणनीतिका साथ देउवाले आफू निकटस्थ नेताहरुसँग तल्लो तहसम्म छलफललाई निरन्तरता दिइरहे।

देउवालाई आफ्नै समूहका निधिले टक्कर दिएपछि शनिबारको वार्तामा सहमतिको लागि वार्तामा बस्न नेताहरुले  सुझाएका छन्। निधिलाई पनि मिलाएर सँगै लिएर अघि बढ्न सभापतिलाई सुझाव दिएको केन्द्रीय सदस्य मोहन बस्नेतले बताए। उनले भने, ‘सबै एकजुट भएर जानका लागि अझैं समय सकिएको छैन। छलफलबाट सबै कुराको समाधान निस्कन्छ। र हामी त्यसको लागि प्रयत्नरत छौँ।’ सभापति देउवाले पार्टीको नेतृत्व एकपटक आफैले लिने पहिल्यैदेखि बताउँदै आएका छन्। 

तीन गुट सक्रिय, आकांक्षी धेरै

महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा सभापति देउवासहित आधा दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन्। देउवासँग अर्को बलियो आकांक्षीको रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल छन्। 

१३ औँ महाधिवेशनमा पराजित भएका पौडेल यसपटक सभापति हत्याउने कसरतमा छन्। तर, देउवाइतर समूहबाट समेत एक जनामात्रै उमेदवार बन्ने स्थिती नरहेकाले पौडेललाई समेत पनि मुस्किल छ। 

देउवा र पौडेल मात्रै नभएर १३ औँ महाधिवेशनबाट तेस्रो शक्तिको रुपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ। सभापतिमा तेस्रो धारबाट सिटाैला पनि दाबेदार हुने देखिन्छ। 

आगामी महाधिवेशनमा देउवासहित बरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला मुख्य उम्मेदवारको रुपमा देखिएका छन्। महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायत नेताहरु पनि सभापतिको दाउमा छन्।

त्यसो त संस्थापन पक्षमा निधिले समेत सभापतिको आकांक्षा व्यक्त गरेका छन्। तर देउवा निधिलाई मनाउन सक्नेमा ढुक्क भएर सभापतिको तयारी गरिरहेका छन्। देउवाले आफू निकट केन्द्रीय समितीको बैठकमा निधि सहमतिमा नआएपनि सभापतिमा अघि बढ्ने निष्कर्ष निकालेको देउवा निकट स्रोतको भनाइ छ।  

१३ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए।

पुस्तान्तरणका कुरा

नेपाली कांग्रेसमा मात्रै नभएर सबै राजनीतिक दलमा अहिले नेतृत्व हस्तान्तरणको कुरा उठिरहेको छ। तर कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा फेरि उही पुरानै नेतृत्वको चर्चा छ। नेतृत्व हस्तान्तरणमा लाग्नुपर्ने दोस्रो पुस्ताका नेताहरु पनि शिर्ष नेताहरुलाई बोक्ने होडबाजीमै छन्। 

तर कांग्रेसमा १४ औँ महाधिवेशनले तयारी भइरहँदा नेतृत्व हस्तान्तरणको बिषयलाई प्राथामिकता राखेको कांग्रेसका युवा नेता प्रदिप पौडेल बताउँछन्। ‘हामीले यसअघि पनि नेतृत्व हस्तान्तरणको कुरालाई प्राथमिकता साथ अगाडि ल्याएका थियौँ। त्यो बेलामा सम्भव भएन। अहिले विभिन्न कोणबाट छलफल गरिरहेका छौँ’ उनले भने, ‘त्यस बिषयमा अहिले पनि हामी छलफलमै केन्द्रीत भइरहेकै छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.