पैसामा कुरा नमिल्दा यौन सम्बन्धपछि कुटिन्छन्

|

हेटौंडा : विगत दुई वर्षदेखि हेटौंडा बस्दै आएकी सिन्धुपाल्चोकको पार्वती क्षत्री (नाम परिवर्तन) जन्मँदा घरको कान्छो छोरा बनेर जन्मिएकी थिइन्।

उनले परिवारमा सधै एक असल छोरीले गर्ने माया र जिम्मेवारी निर्वाह गरिन्। शारीरिक बनावटले पुरुष भए पनि उनको हाउभाउ, बोली व्यवहार र इच्छा भने महिलासँग मिल्थ्यो।

जसले गर्दा लैंगिकता र यौनिकता बुझ्नुअघि नै पार्वतीलाई समाजले छोरा भएर पनि छोरीजस्तो व्यवहार गर्ने गरेको भन्दै दुर्व्यवहार गर्ने गर्थे। 

विद्यालयमा साथीहरूले गर्ने फरक व्यवहार र गाली गर्ने शब्दले कक्षा ५ मै पढाइ छोडेकी उनले १७ वर्षको उमेरमा काठमाडाैंमा पाइला टेकिन्। जतिबेला पार्वती भर्खर बुझ्दै थिइन् कि उनी केटा भए पनि आफूलाई केटी बन्न मनपर्छ भनेर।

हेर्दा केटाजस्तो आनीबानी र व्यवहार केटीजस्तो भएपछि उनलाई काठमाडाैंमा जागिर भेटाउन कहाँ सजिलो भयो र? अनेकौं प्रयास गरेर पार्वतीले एउटा होटलमा काम भेट्टाइन्। घरपरिवार र समाजबाट आफ्नो लैंगिकता लुकाएर भागेकी उनी काठमाडाैंमा पुरुष प्रहरीबाट बलात्कृत भइन्। 

आफू पुरुष भए पनि महिलाजस्तो महसुस गर्छु भन्ने थाहा भएकी उनलाई पुरुष पुरुषबाटै बलात्कृत हुन्छन् भन्ने पहिलोपटक थाहा भयो। त्यसपछि उनलाई ती पुरुष प्रहरीले लगातार जबरजस्तीकरणी गरिरहे। जसले गर्दा पार्वतीले अहिले आफ्नो जीवन जिउने पेसा नै यौनलाई बनाएकी छन्। 

दोहोरो जीवन जिउन कति गाह्रो हुन्छ सायद उनलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा होला र? २५ वर्षीया पार्वती वर्षमा २/४ पटक घर जान्छिन् पुरुष बनेर। अनि हेटौंडामा यौन पेसा गरेर बस्छिन् एउटा महिला बनेर।

बाँच्नकै लागि काम खोज्न उनी ककसको ढोका ढकढक्याउन पुगिनन् होला? तर सबैले लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण उनलाई काम नदिएपछि हाल उनको बिहान बेलुकाको छाक यौनधन्दाबाटै चलिरहेको छ। दिनभरि कामको खोजीमा ढोका ढकढकाउन पुग्दा अनेक अपशब्द बोलेर पठाउनेहरू नै रात परेपछि उनलाई खोज्दै आइपुग्छन्।

पार्वती मात्रै होइनन्, हेटौंडाकी ३२ वर्षीया हीरामाया लामा (नाम परिवर्तन) को पनि पीडा उस्तै छ। उनलाई आफू लैंगिक तथा यौनिक अल्पसंख्यक बन्ने कुनै रहर थिएन। तर प्रकृतिले नै उनलाई फरक किसिमको शारिरिक बनावट र व्यवहार दियो।

जसले गर्दा उनले सामान्य मान्छेजस्तो जीवन कहिल्यै पाइनन्। न उनलाई कसैले जागिर दियो न त कसैले राम्रो व्यवहार गर्‍यो। हीरामाया पनि अहिले आफू र आफ्नो परिवारको जीवन सडकमा आफूलाई उभाएर पालिरहेकी छन्। 

घरमा सबैले छोरा भनेर बोलाउँदा विद्यालय र समाजमा भने उनलाई बोलाउँदा प्रयोग हुने शब्द नै फरक हुन्थे। आफू के हो? आफूले आफैले के महसुस गर्छु भन्ने कुरा बुझ्नुअघि नै उनलाई समाजले पटक पटक दुर्व्यवहार गर्‍यो। जसले गर्दा ३ पटकसम्म हीरामायाले आत्महत्या प्रयास गरिन्। 

कहिले घरका सदस्यले त कहिले आफ्नै आत्माले आफ्नो हत्या गर्न दिएन। ‘मलाई मात्रै भगवानले किन यस्तो बनाइदिए? मलाई किन जस्तो देखिन्छु त्यस्तो बनाइदिएन? अथवा किन मजस्तो महसुस गर्छु त्यस्तै हुन सकिन? यस्तो कुरा सोचेर म धेरै पटक मृत्युलाई रोज्न पुगे तर पनि मर्न सकिन,’ उनले भनिन्। 

हीरामायाको घर हेटौंडा बजारबाट १४/१५ किलोमिटरको मात्रै दूरीमा छ। तर उनी बजारमा कोठा लिएर बस्छिन्। घर जाँदा विदेशबाट आएको छोराजस्तै चिटिक्क परेर जान्छिन्। तर हेटौंडामा बस्दा उनी आफूलाई महिलाको रुपमा चिनाउँछिन्।

‘एकपटक विदेश पनि गएर आएको हो। उता पनि नेपालीहरूले नै त यस्तो देखिन्छस् उस्तो देखिन्छस् भन्दै दुर्व्यवहार गरे। त्यो सहन नसकेर नेपाल फर्किएर अहिले यो पेसामा लाग्नु परेको छ। ’ उनले भनिन्। उनको परिवारलाई हीरामाया अलि फरक छिन् भन्ने थाहा छ तर उनी हेटौंडा बजारमा एउटी महिलाजस्तो बनेर यौन पेसा गर्छिन् भन्ने थाहा छैन। 

नेपाली समाजले दुई वटा लिंगलाई स्विकार गरेको छ - महिला र पुरुष। तीभन्दा आफूलाई फरक महसुस गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समाजले स्विकार गर्न सकेको छैन। स्विकार नगरेको मात्रै होइन समाजले उनीहरूलाई घृणा, तिरस्कार, अपशब्द र दुर्व्यवहार गर्ने गरेको छ।

जन्मदा छोरा वा छोरी भएर जन्मिए पनि उमेरसँगै आफूलाई फरक लिंगजस्तो महसुस गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक आफ्नै घर परिवारबाट घृणाको शिकार हुने गरेका छन्।

जसले गर्दा उनीहरूमाथि थप हिंसा र दुर्व्यवहार गर्न समाजलाई अझै हिम्मत मिल्ने गरेको देखिन्छ। आफ्नै परिवारबाट अपहेलित हुँदै समाजको दुर्व्यवहार सहेर उनीहरू दुई गाँस खान र आफूले महसुस गर्ने लैंगिकताको पहिचान खोज्न समाजको विभिन्न गल्लीमा ठक्कर खाँदै हिँड्ने गरेका छन्।

करिव ४५ जना यौन पेसामा संलग्न

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारकर्मी किरण थापाका अनुसार मकवानपुरमा करिब एक सय जना लैंगिक तथा यौनिक अल्पसंख्यक छन्। तीमध्ये केही खुलेका छन् भने केही परिवार र समाजको डरले गर्दा आफ्नो पहिचान लुकाएर बसेका छन्।

अधिकारकर्मी थापाका अनुसार खुलेकामध्ये करिब ४० देखि ४५ जनाको रोजीरोटी नै यौन पेसामा संलग्न भएर चलिरहेको छ। उनीहरू दैनिक पेट भर्नकै लागि सडकमा आफ्नो सौदा गर्न पुग्ने गरेका छन्। आफ्नै घरदेखि सुरु हुने अपहेलना समाजको सबैतर्फबाट हुन थालेपछि बाध्य भएर बाच्नकै लागि यस्तो काम गर्नुपरेको उनीहरू बताउँछन्। 

पढाइदेखि सीप सिक्ने र आत्मनिर्भर भएर आफ्नै व्यवसाय गर्ने कार्यमा पनि समाजले नस्विकारेकाले बाध्य भएर सडकमा आउनुपरेको अधिकारकर्मी थापाको बनाउँछिन्।  

‘पढ्न गयो विद्यालयमा सबैले जिस्क्याउने, घरमा सबैले किन यस्तो भइस् भनेर गाली गर्ने। समाजमा अपशब्द प्रयोग गरेर गाली गर्ने अझ कसैलाई त पिट्ने। काम खोज्न गयो, कतै पनि नदिने, अनि आफ्नै बाटोमा राम्रो गरेर खान्छुभन्दा पनि यौन कार्यमा संलग्न हुन बाध्य गराउने गरेका छन्।

'आफैं व्यवसाय गरौ भने पनि कोही आउँदैनन् हाम्रोमा यस्तोमा हामी के गरौ?’, उनले भनिन्। थापाले आफूलगायत केही साथीले लैंगिकता र यौनिकतासम्बन्धी प्रोजेक्टमा काम पाएको भए पनि अधिकांश काम नपाएकोले सडकमा पुगेको बताइन्।

यौन सम्बन्धपछि कुटिन्छन्

न्युनतम् डेढ सयदेखि बार्गेनिङ गर्ने उनीहरू अधिकतम् दुई हजारसम्म कसैले दिन्छुभन्दा खुसी हुन्छन्। हेटौंडा आसपास सहज हुने स्थानमा यौन सम्बन्ध राख्ने उनीहरू अलि बढी पैसा पाउने लोभमा धेरै पटक गाडीमा चढेर परसम्म पुगेका छन्।

पैसाको लालच देखाएर आफ्नौ यौन प्यास मेट्न उनीहरूलाई हेटौंडाबाट टाढा लगेर कतिपटक बीच जंगलमा फालिएका बताउँछिन् सुनिता थापा (नाम परिवर्तित)। ‘केही नभए एक सय रुपैयाँमा त हामी उनीहरूले भनेजस्तो गर्न तयार हुनुपर्छ। झन् कसैले अलि बढी दिन्छु भन्यो भने खुसीसाथ जान्छौं,' थापा भन्छिन्, 'तर आफ्नो प्यास मेटेर गुडिरहेको गाडीबाट फाल्दिने, मध्यरातमा जंगलमा छोड्दिने र ढुंगाले हानेर टाउको फुटाइदिने जस्तो काम धेरैपटक गरेका छन्। जति जे गरे पनि सहेर पछि फर्केर त्यही काम गर्न जानुपर्छ।’

एकपटक हेटौंडा बजारबाट पूर्वतर्फ गाडीमा चढाएर लगेको र गाडीमै आफ्नो प्यास मेटेपछि फाल्दिएको उनले बताइन्। यस विषयमा कसैले उजुरी सुन्ने र सहयोग नगर्ने भएपछि सहेरै यो पेसा गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्। 

उनका अनुसार यौनसम्बन्ध राख्न आउने अधिकांश ड्राइभर, नेपाल प्रहरी, नेपाली सेना र जनप्रतिनिधि नै रहेका छन्। ‘दिउँसो काम दिनुस् न हजुर। मलाई यस्तो पर्‍यो सहयोग गर्दिनुस् हजुर भनेर जाँदा घिन मानेर हामीलाई गाली गरेर पठाउँछन्। राति उनीहरू नै आएर तिमीहरूको अधिकारका लागि यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भन्छन्। तर कसैले केही पनि गरेका छैनन्,’ उनले थपिन्। 

पैसामा कुरा नमिल्दा एक जनाको हत्या

करिब डेढ वर्ष अगाडी हेटौंडा–११ की अजिता भुजेलको यौन सम्बन्धपछि पैसामा कुरा नमिल्दा बीभत्स हत्या भएको थियो। रातको समयमा गाडीका चालकहरूसँग गाडीमै यौन सम्बन्ध राखेकी उनलाई पैसा दिन नमानेपछि झगडा परेको थियो।

अजितालाई पैसा दिन नमानेका गाडीका चालकहरूले मिलेर उनको हत्या गरेर हेटौंडा–५ क्याम्पा डाँडामा फालिदिएका थिए। उनको हत्यामा संलग्न ६ जना अहिले मकवानपुरको भीमफेदी कारागारमा छन्। 

७ जनालाई एभआइभी संक्रमण

मकवानपुरमा यौन पेसालाई नै आफ्नो जीवन जिउने मुख्य आधार बनाएका ७ जना लैंगिक तथा यौनिक अल्पसंख्यक एचआइभीको सिकार बनिसकेका छन्। 

बाँच्नका लागि असुरक्षित रुपमा यौन सम्बन्ध राख्दा हेटौंडाका ७ जनालाई एचआइभी संक्रमण भएको अधिकारकर्मी थापा बताउँछिन्। थापाको अनुसार उनीहरू सबैको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। 

४ जनाले पाए चाहेअनुसारको नागरिकता

लैंगिक तथा यौनिक अल्पसङख्यक समुदायको ४ जनाले भने आफूले चाहेअनुसार नागरिकता पाउन सफल भएका छन्। उनीहरूले आफ्नो लैंगिकताअनुसार पहिचानसहितको नागरिकता पाएका हुन्।

३ जनाले लिंगमा 'अन्य' राखेर नागरिकता लिएका छन् भने एक जनाले पुरुषबाट महिलाको नागरिकता लिएका छन्। अजिता भुजेल, सानु लामा र नेहा मानन्धरले 'अन्य'को नागरिकता लिएका हुन् भने सञ्जिवनी लोप्चनले पुरुषबाट महिलाको नागरिकता पाएकी हुन्। 

सरकारबाट बेवास्ता

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय आफू राज्यबाट पनि हेलामा परेको बताउँछन्। आफ्नै घरपरिवारबाट पनि हेला सहेका लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राज्यले पनि उपेक्षा गर्ने गरेको उनीहरूको गुनासो छ। 

‘ठूला ठूला भाषण र कार्यक्रममा मात्रै हो सबैलाई समेट्छौं भन्ने तर हामीलाई सरकारले कहिल्यै समेटेन। स्थानीय सरकारले काम गरेको देखाउन मात्रै थोरै बजेट छुुट्याएजस्तो गर्छ। प्रदेश सरकारले त त्यत्रो बजेट ल्याउँदा पनि हामीलाई अटाएन,’ थापाले गुनासो गरिन्।

उनले सरकारी तहबाट केही भइहाले पनि त्यो पर्याप्त नभएको बताइन्। लैंगिक तथा यौनिक अल्पसंख्यकलाई आत्मनिर्भर बनाउने, अन्य समुदायलाई जस्तै कोटाको व्यवस्था गर्ने र लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समाजले हेर्ने दृष्टिकोणमा ल्याउने जस्ता कार्य नगरेको उनको आरोप छ।

सरकारले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राज्यको नागरिकको मान्यता नै नदिएको उनको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.