काठमाडौं : आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ। व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागु हुनेछ। यसपटक साना सवारी साधन (कार‚ जिप, भ्यान)मा बढीमा चारजना, ट्याक्सीमा तीनजना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोर-बिजोर प्रणाली लागु गरिएको छ।
डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने छ। यस्तै‚ सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शो रुम अटोमोबाइल पार्ट्स पसल, इलेक्ट्रोनिक्स पसललाई पनि आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ।
निर्माणजन्य सामग्रीको पसल (हाडवेयर्स, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। ठूलो परिमाणको ढुवानी राति मात्र गर्न भनिएको छ। औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ। खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ।
अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलीभरी प्रयोजनका लागि काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ। विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ। यसका लागि दुईवटा सवारी साधान प्रयोग गर्न सकिने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।