|

काठमाडौं ः अब  काठमाडौंउपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न सकिने भएको छ। पूर्ण रुपमा सञ्चालनमा  नआए पनि  आवश्यक परेको खण्डमा  बन्चरेडाँडा फोहोर फ्याकका लागि तयार भइसकेको  शहरी विकास मन्त्रालय भवन निर्माण विभागका उपनिर्देशक कुमार धिमिरेले जानकारी दिए। 

सिसडोल ल्यान्डफिल साइट पुर्‍याउन नसकेर सडकमा फोहोर राख्नु पर्ने अबस्था नभएको शहरी विकास मन्त्रालय भवन निर्माण विभागले जनाएको छ। विश्वभर फैलिएको कोरोना भाइरस माहामारीका कारण उद्घाटनमा ढिलाई  भएको हो। उपनिर्देशक धिमिरेले भने,‘सिसडोल भरिएकाले उपत्यकाका फोहोर सडकमै छोड्नु पर्ने अबस्था छैन।’  उनले थपे,पूर्ण रुपमा तयार भइसकेको छैन,तर आवश्यक परेको खण्डमा बञ्चरेडाँडामा फोहोर फाल्न सकिन्छ।  

घिमिरेका अनुसार  असारको अन्त्यबाट बन्चरेडाँडा  सञ्चालनमा  आउने छ। जेठ महिनामा नै सञ्चालनमा ल्याउने तयारी गरिएको  थियो। हालसम्म १२ करोड खर्चेर निर्माण गरिएको ल्यान्डफिल साइडमा ५० वर्षसम्म फोहोर फाल्न सकिने छ।

विगत १६ वर्षदेखि अस्थायी ल्यान्डफिल साइट सिसडोलमा फोहोर विसर्जन गर्दै आएको  छ। सरकारले ०५१ मै बन्चरेडाँडामा फोहोर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको थियो। तर फिल्डमा काम भने ०६२ पछि बल्ल थाल्यो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४० वर्षे सम्झौता गरेर बन्चरेडाँडामा प्रशोधन केन्द्र बनाउने सरकारको योजना थियो।

आफ्नो जग्गाको मुआब्जा पाइने र गाउँमा सडक, अस्पतालजस्ता पूर्वाधार विकाससँगै रोजगारी पनि मिल्ने आश्वासनपछि स्थानीयले स्वीकृति दिए। सरकारले तत्कालका लागि दुई किलोमिटर वरको सिसडोलमा तीनवर्षे सहमति गरेर चार सय ५१ रोपनी जग्गा अधिग्रहण गर्‍यो र फोहोर थुपार्न थाल्यो ।

सरकारले हरेक पटक विभिन्न आश्वासन दिएर स्थानीयलाई झुलाइरह्यो । सम्झौता बमोजिम बन्चरेडाँडामा प्रशोधन केन्द्र निर्माणका लागि निर्धारित समयमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नै हुन सकेन । ०६६ मा बल्ल वातावरणीय प्रभाव मूल्यांकन भयो। 

२०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले बन्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र बनाउने जिम्मा लगानी बोर्डलाई दियो। बोर्डले प्रशोधन केन्द्र निर्माण सहरी विकास मन्त्रालयअन्तर्गत अगाडि बढायो र फोहोर व्यवस्थापनको काम नेपाल वेस्ट नामक निजी कम्पनीमार्फत गर्न सहमति गर्याे। तर स्थानीय तहमा जनप्रतिनिधि आएपछि लगानी बोर्डले निजी कम्पनीलाई फोहोर व्यवस्थापन गर्न दिएको जिम्मेवारी अस्वीकार  गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.