|

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज राति समूह ‘डी’ का दुई खेल हुँदैछन्। आज राति चेक रिपब्लिक र इंग्ल्याण्ड तथा क्रोएसिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

समूहको शीर्ष स्थानमा रहेको चेक रिपब्लिकले दोस्रो स्थानको इंग्ल्याण्डसँग उसैको घरेलु मैदान वेम्बली स्टेडियममा राति पौने १ बजे खेल्नेछ। आज यी दुबै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्म हुने अपेक्षा गरिएको छ।

आजको खेलमा जित निकाल्ने टोली नकआउट चरणमा प्रवेश गर्नेछ। यद्यपि दुवै टिमले बराबरी खेल्दै अंक बाँडे पनि दुवै टिम अघिल्लो चरणमा प्रवेश गर्नेछन्। पराजित हुने टिमलाई भने अघिल्लो चरणमा प्रवेशका लागि अन्य टिमको नतिजा कुर्नु पर्नेछ।

यी दुवै टिम २ खेलबाट समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्। चेक रिपब्लिकले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई २–० गोलले हराएको थियो भने क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको थियो। यी दुईबीचको हालसम्म भएका चार खेलमा इंग्ल्याण्डले दुई खेल जित्दा चेक रिपब्लिकले १ खेल जितेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ। 

आजै राति समूह ‘डी’ कै क्रोएसिया र स्कटल्याण्ड पनि मैदान उत्रनेछन्। यी दुई टिमबीचको खेल पनि राति पौने १ बजे नै सुरु हुनेछ। स्कटल्याण्डको घरेलु मैदान हाम्पडेन पार्कमा हुने खेलमा दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राख्न चाहन्छन्।

दुई खेलमा १ मा हार र १ खेल बराबरी खेलेको क्रोएसिया १ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ। यसैगरी स्कटल्याण्ड पनि समान खेलमा समान नतिजाका साथ १ अंक जोड्दै तालिकाको पुछारमा छ।

क्रोएसियाले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग १–० गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको थियो। यस्तै आफ्नो पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित भएको स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो। यी दुई टिमबीच हालसम्म भएका पाँच खेलमा स्कटल्याण्डले २ खेल जित्दा ३ खेल बराबरीमा सकिएको थियो।

जारी युरोकपमा समूह ‘ए’ बाट इटली र वेल्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘बी’ बाट बेल्जियम र डेनमार्क नकआउट चरणमा प्रवेश गर्दा समूह ‘सी’ का नेदरल्याण्ड्स र अष्ट्रियाले पनि सीधै नकआउट चरणमा स्थान बनाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.