नयाँ मन्त्रीहरूको कार्यालय सञ्चालनको टुंगो छैन

|

जनकपुरधाम : प्रदेश २ मा नवगठित मन्त्रिमण्डलका मन्त्रीहरूले दुई सातासम्म पनि मन्त्रालय, प्रशासनिक भवन र कर्मचारी पाउन सकेका छैनन्।

नेपाली कांग्रेसबाट नियुक्त भएका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र भौतिक पूर्वाधार विकास, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माको अहिलेसम्म कार्यालयसमेतको सञ्चलन हुन सकेको छैन। मन्त्रालयको लागि प्रशासनिक भवन र कर्मचारीसमेत अत्तोपत्तो छैन।

मध्यरातमै मोबाइलको टर्च लाइट बालेर शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गरेका मन्त्रीद्वयको प्रदेश २ को प्रशासनिक केन्द्र ‘मधेस भवन’मा न मन्त्रालय छ न त कर्मचारी।

महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री सिंहले सामाजिक विकास राज्यमन्त्रीको निजी सचिवालयमा कार्यभार ग्रहण गरेका थिए। त्यहीँको एउटा कोठामा सिंहको नाम लेखिएको प्लेटसँगै मन्त्रालयको नाम कागजमा प्रिन्ट गरेर टाँस गरिएको छ।

सामाजिक विकास मन्त्रालय टुक्राएर महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो। तर मन्त्रालय फुटाइएसँगै अधिकार सीमित भएपछि कोही कर्मचारी नयाँ मन्त्रालयमा आउन चाहेका छैनन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमप्रसाद भुसालले मन्त्रालयका लागि भवन खोजी भइरहेको बताए। मन्त्रीको क्वार्टर र मन्त्रालय व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ८३ लाख बजेट निकासा गरिएको उनले जानकारी दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भुसालले भने, ‘नयाँ मन्त्रालयको सचिव संघीय सरकारले पठाउने भएको हुँदा टुंगो लागेको छैन र साविकको महाशाखालाई मन्त्रालयको कामकाजको जिम्मेवारी तोकिएको छ।’ उनका अनुसार मन्त्रीको निवासका लागि बाहिर घर खोजी भइरहेको छ।

त्यसैगरी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्राएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाइएको छ। यस मन्त्रालय हाललाई साविकको भौतिक पूर्वाधार राज्यमन्त्रीको कार्यकक्षभित्र राखिएको छ। त्यहीँ भौतिक पूर्वाधारको भन्दा केही सानो बनाएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको बोर्ड झुण्ड्याएको छ। तर कर्मचारी र सचिव नतोकिएका कारण ऊर्जामन्त्री ओमप्रकाश शर्मा पनि मन्त्रालयमा बस्न सकेका छैनन्।

मुख्यमन्त्री लालबाबु राउतले सुरुदेखि नै प्रदेशमा जनशक्ति अभाव र सचिवको जथाभावी सरुवाले काम गर्न नसकेको भन्दै संघीय सरकारविरुद्ध बारम्बार आक्रोश पोख्ने गर्थे। तर मुख्यमन्त्री राउतले अहिले सरकार टिकाउन मन्त्रालय विभाजन गरी नयाँ मन्त्रीहरू नियुक्त गरे पनि मन्त्रालय भवन, कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन्। जसकारण नवनियुक्त मन्त्रीहरू झण्डावाला गाडीमा घुमेर नै समय व्यतीत गर्न बाध्य छन्।

नयाँ गठन गरिएका मन्त्रालयको समय दुई साता भयो। तर अझसम्म प्रदेशको वेबसाइटमा विवरण राखिएको छैन। भौतिक पूर्वाधार विकास मन्त्रालयको विवरण सच्याएर मन्त्री रामसरोज यादवको फोटो राखिएको छ, तर नयाँ मन्त्रालयको विवरण वेबसाइटमा छैन।

यद्यपि दुई मन्त्रीहरू आआफ्नो गृह जिल्लामा सम्मान थाप्न यतिखेर व्यस्त छन्। सिंहको गृह जिल्ला सर्लाही र शर्माको गृह जिल्ला पर्सा हो। कांग्रेस नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर मन्त्री पद पाएको आरोप लागेका उनीहरूले मन्त्री त बने तर कार्यालय कहिलेदेखि संचालन हुने टुंगो लाग्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.