|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-८ को आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी मृत फेला परेको आज चार दिन पूरा भएको छ।

आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव भेटिएको चार दिनपछि मंगलबार अन्त्येष्टि गरिएको छ।

बीभत्स रुपमा हत्या गरिएको घटनाको अनुसन्धान थालेको प्रहरीले भने मिडियामा कुनै प्रतिक्रिया दिन मानिरेहको छैन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यस घटनाका विषयमा कुनै पनि सूचना दिन मानिरहेको छैन।

डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल मिडियाको सम्पर्कमा आउन चाहिरहेका छैनन्। उनको फोन नम्बरमा पटक–पटक फोन गर्दापनि उनका सहयोगीले उठाउने गरेका छन्।

थाहा खबरले घटनाको अनुसन्धानका लागि जोगबुडामा रहेका डीएसपीलाई सम्पर्कममा ल्याउन खोज्दा उनी फोन सम्पर्कमा आउन चाइरहेका छैनन्। अर्थात् उनी मिडियाबाट भागिरहेका छन्।

पत्रकारले फोन गर्दा उनका सहयोगीले उठाउने गरेको र हरेक पटक ‘डिएसपी साप मिटिङमा हुनुहुन्छ’ भन्दै बनावटी जवाफ दिँदै आएका छन्।

जिल्लामा आउने बेला पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सूचना दिनमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरेका डिएसपी नेपाल अहिले जघन्य घटना भएको बेला मिडियाबाट भाग्नु दुखद् भएको यहाँका पत्रकारहरू बताउँछन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्त राजेन्द्रबहादुर चन्द पनि घटनाबारे औपचारिक रुपमा बोल्न चाहिरहेका छैनन्। उनले माथिको आदेश भन्दै घटनाबारे जानकारी दिन नचाहेका हुन्।

गाँजा फाँडेको, अस्थायी प्रहरी पोस्ट स्थापना, मदिरा नष्टलगायत क्रियाकलाप गर्दा जिल्लास्थित सबै सञ्चारकर्मीलाई इमेल मार्फत सूचना तथा जानकारी प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय ठूला घटनाका बेला भने तैं चुप मैं चुप हुने गरेको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंह बनाउँछन्।

प्रहरीले सूचना दिनका लागि आनाकानी गरिरहेको उनको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.