|

जनकपुरधाम : प्रदेश २ सरकारले चालु आर्थिक वर्षको ११ महिना जम्मा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ।

प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले दिएको जानकारीअनुसार साउनदेखि जेठ मसान्तसम्ममा चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगत तर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको छ।

प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामको अनुसार प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ।

चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको मध्ये ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ अर्थात् ३४.९ प्रतिशत  र पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले ५ अर्ब ६८ करोड ६५ लाख अर्थात २९.२३ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको जनाइएको छ। यस मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामको तथ्यांकमा उल्लेख छ। चालुतर्फ ३५ करोड ६० लाख ८१ हजार रुपैयाँ र पुँजीगत तर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा कम अर्थात १३.८ प्रतिशत बजेट खर्च गर्न  सकेको छ। चालु आर्थिक वर्षको ११ महिनामा यस मन्त्रालयले चालुतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगत तर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ।

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ। यस मन्त्रालयले चालुतर्फ ७ करोड ६ लाख ८६ हजार रुपैयाँ र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार रुपैयाँ बजेट खर्च गरेको जनाइएको छ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ। चालुतर्फ ६६ करोड ४३ लाख ४८ हजार रुपैयाँ र पुँजीगत तर्फ ४० करोड ५४ लाख ६० हजार रुपैयाँ गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले साउन देखि जेठसम्ममा चालु आर्थिक वर्षतर्फ १ अर्ब ५२ करोड २१ लाख रुपैयाँ र पुँजीगततर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २४.२४ प्रतिशत बजेट खर्चेको छ। चालुतर्फ २० करोड रुपैयाँ र पुँजीगत तर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ। यस मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले बताए।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख ५३ हजार  रुपैयाँ र पुँजीगत तर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्चेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.