|

रुकुम (पूर्व) : रुकुमपूर्वका बाख्रापालक कृषक अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति उत्साहित भएका छन्। एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुमपूर्वमार्फत सञ्चालित अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति बाख्रापालक कृषक उत्साहितका साथ कार्यक्रमको लाभ लिइराखेका छन्।

२५ वटाभन्दा बढी बाख्राका माउ भएका कृषकका लागि अभियानमुखी बाख्रा मिसन कार्यक्रमबाट र जिल्लाको मध्यपहाडी लोकमार्ग आसपासमा कम्तिमा १० वटा बाख्राका माउ भएकालाई रोड करिडोर कार्यक्रमबाट जिल्लाका बाख्रापालक कृषकलाई लाभान्वित गराइ राखिएको कार्यालयका पशुपंक्षी शाखाका अधिकृत छैठौँ छविलाल घर्ती मगरले बताए। चालु आर्थिक वर्षमा अभियानमुखी बाख्रा पालन कार्यक्रमका लागि ५० जना कृषकबाट निवेदन आएकोमा सबैलाई छनोट गरी अनुदानका लागि सम्झौता गर्ने अनुरोध गरिएकोमा ४० जनाको मात्र सहभागी रहेको घर्तीले जानकारी दिए।

छनोट भएका बाख्रापालक प्रत्येक कृषकलाई कार्यालयको नगद दुई लाख रुपैयाँ अनुदान र २५ प्रतिशत कृषकको लगानीमा अहिले काम अन्तिम चरणमा पुगेको घर्तीको भनाइ रहेको छ। यसैगरी रोड करिडोर बाख्रा पालन कार्यक्रमका लागि प्रति कृषक नगद ५० हजार रुपैयाँका दरमा अनुदान दिइएको घर्तीले बताए।

बाख्रा मिसन कार्यक्रममार्फत पाएको अनुदानले आधुनिक खोर निर्माण, उन्नत जातको एक बोको, औषधि, ऊन कात्नका लागि औजार लगायत आवश्यकताका आधारमा कृषकको माग अनुसार बजेट खर्च गराइ राखिएको कार्यालयका सूचना अधिकारी डाक्टर सुकइप्रसाद थारूले बताए।

यस्तै रोड करिडोर बाख्रा पालन कार्यक्रमबाट भौतिक निर्माण, आहार, औषधि तथा औजार व्यवस्थापनका लागि काम भइरहेको थारूले जानकारी दिए। रोड करिडोर बाख्रा पालन कार्यक्रममा एक सय जना बाख्रापालक कृषक छनोट भएका छन्।

समग्रमा बाख्रा पालक कृषकलाई व्यवसायमा आत्मनिर्भर गराउने, बाख्रा पालन व्यवसायलाई फस्टाइ दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको सूचना अधिकारी डाक्टर थारूको भनाइ रहेको छ।

चालु आर्थिक वर्षबाट सुरुवाती गरिएको अभियानमुखी मिसन र रोड करिडोर बाख्रा पालन कार्यक्रम प्रति कृषकको आकर्षण रहेकाले आगामी वर्षका लागि पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा अभियानमुखी मिसन बाख्रापालन कार्यक्रमबाट ४० र रोड करिडोर बाख्रापालन कार्यक्रमबाट एक सय गरी जिल्लामा दुई कार्यक्रमबाट एक सय ४० जना बाख्रा पालक कृषक लाभान्वित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.