|

हेटौंडा : मकवानपुरको १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ८ अर्ब हाराहारीमा बजेट ल्याउने भएका छन्। 

संवैधानिक व्यवस्थाअनुसार मकवानपुरका १० स्थानीय तहहरूले असार १० गते (भोलि बिहीबार) आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन्। बजेट ८ अर्ब ४ करोडको हाराहारीको हुनेछ।

जिल्लाका एक उपमहानगर, एक नगर र ८ वटा स्थानीय तहले बिहीबार बजेट सार्वजनिक गर्न अन्तिम तयारी गरिरहेका छन्।

हेटौंडा उपमहानगरपालिकाले करिब पौने तीन अर्बको बजेट ल्याउने तयारी गरेको उपमेयर मीना लामाले जानकारी दिइन्। उनका अनुसार उपमहानगरले चालु आवको बजेटलाई वृद्धि गर्दै पौने तीन अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ।

त्यस्तैगरी थाहा नगरपालिकाले ९५ करोड बजेट ल्याउने तयारी गरेको छ। नगरका मेयर लवशेर विष्टले लगभग ९५ करोडको हाराहारीमा रहेर बजेट सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको बताए।

त्यस्तै बकैया गाँउपालिका, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाले ६२ करोडको हाराहारीमा बजेट ल्याउने गरी अन्तिम तयारीमा जुटिरहेको बताएका छन्।

मनहरि गाउँपालिकाले ७३ करोड, राक्सिराङ गाउँपालिकाले ५४ करोड ७२ लाख, इन्द्रसरोवर गाउँपालिकाले ३८ करोड, कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख र  बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९३ हजार हाराहारीमा बजेट ल्याउन लागेको जनाएको छ।

नयाँ योजना नथप्ने, पुरानै योजनालाई सम्पन्न गर्ने

स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्षे कार्यकालको यो अन्तिम वर्ष हो। जनप्रतिनिधिको कार्यकाल सकिने हुँदा नयाँ कार्यक्रम थप गर्नुभन्दा पनि आँटेका पुराना कार्यलाई प्राथमिकतामा राखेर पूरा गर्ने योजना भएको बताएका छन्।

नयाँ योजना थप्दा अब आउने नयाँ जनप्रतिनिधिलाई निरन्तरता दिने सम्भावना नहुने र सुरु गरिएको योजना अलपत्र पर्ने भन्दै पुरानोलाई सम्पन्न गर्ने गरी बजेट ल्याइने जनप्रतिनिधिहरूको भनाइ छ। 

हेटौंडा उपमहानगरकी उपमेयर लामाले उपमहानगरले यसअघि सुरु गरिएको बहुवर्षीय र गौरवका योजनालाई निरन्तरता दिने वा सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताइन्।

बहुउद्देश्यीय भवन बनाउने, टर्मिनल बनाउने, सडक निर्माण र उत्पादनजन्य कार्यमा युवालाई उत्प्रेरित गर्नेजस्ता कार्यलाई प्राथमिकतामा राखिएको लामाले बताइन्। 

थाहाका मेयर लवशेर विष्टले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रबाहेक अरु क्षेत्रमा नयाँ योजना नथपिएको बताए। स्वास्थ्यमा कोरोनाजस्तो नयाँ रोग देखिएकोले यससम्बन्धी केही नयाँ योजनालाई बजेटमा समेटिएको भए पनि अन्य क्षेत्रका योजना भने पुरानै रहेका बताए। 

मनहरिले पनि पुरानै योजनालाई सम्पन्न गर्ने योजना बनाएको अध्यक्ष एकराज उप्रेतीले बताए। उनले गाउँपालिकाले आगामी आवमा पुरानै योजनालाई सम्पन्न गर्ने गरी समेटिएको बताए।

उप्रेतीले सबै ठाउँमा खानेपानी पुर्‍याउने, पुल निर्माण गर्ने तथा अन्य भौतिक पूर्वाधार बनाउने कार्यलाई गाउँँपालिकाले प्राथमिकतामा राखेको बताए। राक्सिराङ गाउँपालिकाले पनि प्रशासकीय भवन निर्माण गर्ने, चेपाङ संग्राहालय बनाउने, अस्पताल बनाउने, सडक कालोपत्रे गर्ने, विद्युतको पहुँच पुर्‍याउने, खाद्य सुरक्षा गर्ने तथा ब्याज अनुदान दिने जस्तो कार्यलाई बजेटमा प्राथमिकता दिएको बताइएको छ।

गाउँपालिकाले प्राथमिकतामा राखेका यी कार्यक्रम पनि गत र चालु आवको योजनाकै निरन्तरता हो। भीमफेदी, मकवानपुरगढी, कैलाश, इन्द्रसरोवर, बकैया र बागमती गाउँपालिकाले पनि पुरानो योजनालाई सम्पन्न गर्नेगरी बजेट सार्वजनिक गर्न लागेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.