|
फाइल फोटो

काठमाडाैं : कोरोना संक्रमित घटेसँगै देशभरका अस्पतालहरुमा बेड खाली हुन थालेका छन्।

पछिल्लो सातामा बिरामीको संख्यामा कमी आएपछि विभिन्न अस्पतालहरुमा २५ देखि ५० प्रतिशतसम्म बेड खाली भएको अस्पतालहरुले जनाएका छन्। अस्पतालमा बेडहरु खाली हुँदै गएपछि अब ननकोभिड विरामीले पनि सहजै सेवा पाउने भएका छन्।

अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको भर्ना दरभन्दा निको हुने दर दोब्बर छ। पछिल्लो केहि दिनमा अस्पतालमा संक्रमितको चाप घट्दो अवस्थामा रहेको वीर अस्पतालका कोरोना फोकल पर्सन डा.अच्युत कार्कीले बताए।

‘हामीले संक्रमितलाई छुट्याएको २ सय बेडमा आज ८९ जना मात्रै उपचाररत छन्।' उनले भने दैनिक औसत १० जना भर्ना हुन आउने, २० संक्रमित निको भएर घर जाने गरेका छन्।’

उनका अनुसार अहिले अस्पतालका ४४ प्रतिशत बेडमा मात्रै संक्रमित छन्। कोभिड- १९ का बिरामीको चाप कम भएसँगै अन्य नियमित विरामीले सहज रुपमा अस्पतालबाट सेवा लिन पाउने छन्।

नयाँ संक्रमित भर्ना हुन आउनेको संख्यामा कमी आए पनि अझै सचेत हुनुपर्ने अवस्था रहेको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए।

‘कोरोना संक्रमणको दोस्रो लहर अझै सकिएको छैन। गाउँगाउँमा संक्रमित बढ्दैछन्। लकडाउनलाई 'लुजडाउन' गरिएको छ। उनले थपे, 'यस्तो अवस्थामा गाउँका मानिस शहर पस्दा संक्रमण बढ्नसक्ने अवस्था अझै उच्च छ।’

कोरोना भाइरसले नयाँ-नयाँ स्वरुप परिवर्तन गरेको अवस्थामा अहिले नै संक्रमण कम भएकोमा ढुक्क हुन नहुने शाक्य बताउँछन्। कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको थियो।

जसका कारण देशका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुले ननकोभिड बिरामीको उपचारमा असमर्थता देखाएका थिए।

कोरोना संक्रमितको उपचारका लागि अब सरकारले नीजि अस्पतालको सहयोग अहिले आवश्यकता नरहेको ठहर गर्दै मंगलबारदेखि सम्झौता खारेज गरिसकेको छ।

कोरोना संक्रमितको उपचारमा नीजि अस्पतालको सहयोग सरकारले नलिने भएपछि सरकारी अस्पतालमा जिम्मेवारी थप हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए।

‘अस्पतालहरुमा २० देखि २५ प्रतिशत बेड खाली भनिए पनि सरकारले हिजो गरेको निर्णयले हामीमा थप जिम्मेवारी आएको छ।' उनले भने,  'त्यसका लागि हामी तयारी अवस्थामा छौं।’

कोरोना महामारीले उग्र रुप लिएको अवस्थामा गम्भीर अवस्थाका ३ सयभन्दा बढी संक्रमितको उपचार गरेको बाँके नेपालगञ्जको भेरी अस्पतालमा अहिले ५० भन्दा कम संक्रमितको उपचार गराइरहेका छन्। 

‘त्यसबेला भर्ना हुन आउने ९८ प्रतिशत संक्रमितलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता थियो। आज ४० जना उपचाररत हुनुहुन्छ।’ अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसाल भन्छन्,  ‘कोरोना बाहेकका बिरामीले पनि जुनसुकै अस्पतालबाट सहज रुपमा सेवा लिन पाउँछन्। डराएर रोग लुकाएर नबस्न सवैलाई आग्रह गर्छु। उदाहरणका लागि कोरोना उपचारमा लागेको स्वास्थ्यकर्मीहरुलाई हेर्नुस्। स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनले भनेअनुसार सचेत रहनुपर्छ। कोरोना संक्रमणबाट बच्न सकिन्छ।’

कोरोना महामारीका बिचमा अन्य विरामीहरुलाई पनि सेवा दिइरहेको अस्पतालहरुले विरामी भएमा स्वास्थ्य मापदण्ड अपनाएर नडराइ अस्पतालबाट सेवा लिन सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.