|

पर्वत : खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।

कोरोना महामारी र त्यसबाट निम्तिएको सङ्कटमा एलपी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्। 

अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपङ्क्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध मजदुरहरूलाई प्राथमिकतामा नराखेका कारण आफूहरूले आपूर्ति नै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

आफूहरूलाई खोप लगाउन आवश्यक रहेको भनी तीन तहका सरकारहरूलाई अनुरोध गरिएको भए पनि कसैले सुनुवाइ नगर्दा आपूर्ति नै बन्द गरेर दबाब दिनुपर्ने अवस्था आएको अध्यक्ष कोइरालाको भनाइ छ। 

संघले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत सरकारलाई ज्ञापन पत्र पठाएर खोपको सुनिश्चितता नहुँदासम्म कास्की जिल्लाभर भोलिदेखि ग्यास आपूर्ति बन्द रहने जानकारी दिएको छ।

कास्कीमा ५० वटा ठुला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्यास आपूर्ति हुँदै आएको छ। करिब ८ सय जना मजदुर यो ग्यास आपूर्तिमा दैनिक खटिने गरेका छन्। कास्कीमा १८ कम्पनीका ग्यास आपूर्ति हुँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.