कुन महानगरको बजेट कति ? कस्ता योजनालाई प्राथमिकता?

|

काठमाडौं : देश भरका ५ वटा महानगरपालिकाले एकै दिन पारेर आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेका छन्।

६ वटामध्ये ललितपुर महानगरपालिकाले जनप्रतिनिधि विवादका कारण बजेट सार्वजनिक गर्न भने सकेन। आगामी वर्षको बजेटमा अधिकांश महानगरको बजेटमा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐन समेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ।

संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

यसकै आधारमा  आज बजेट सार्वजनिक गएिको हो। महानगरपालिकाले आआफ्नो प्राथमिकताका आधारमा बजेट सार्वजनिक गरेका छन्।

काठमाडौं महानगरपालिकाको बजेटमा पूर्वाधारलाई जोड

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको हो।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ।

बजेटमा ती उद्देश्य हासिल गर्न कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

पोखरा महानगरको ६ अर्ब २७ करोड बजेट विनियोजन

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गरेकी हुन्।

चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पुँजीगततर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१  लाख र प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

विराटनगर को बजेट ४ अर्ब १० करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

आगामी वर्ष चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ। महानगरले चालुतर्फ ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब २३ करोड, ३ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। चालु वर्षको बजेट १० महिनामा १ अर्ब ३३ करोड २९ लाख २१ हजार मात्रै खर्च भएको छ। तीन अर्ब ६३ करोड पुँजीगत बजेट १० महिनामा ८८ करोड ५४ लाख ९१ हजार मात्रै खर्च भएको छ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँटबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ। महानगरले ९५ करोड आन्तरिक आय हुने अनुमान गरेको थियो। तर १० महिनामा ३१ करोड ३८ लाख मात्रै आन्तरिक आम्दानी भएको छ।

आगामी वर्षका लागि पुँजीगत बजेटमध्ये पूर्वाधार विकासका लागि महानगरले २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ।

महानगरले वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्ड फिल्ड साइड, अन्तर्राष्ट्रिय सभा हलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ।

वीरगञ्ज महानगरपालिकाले आर्थिक विकासमा जोड दिने

वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट  सार्वजनिक गरेको छ। महानगरको ९ औं अधिवेशनले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय र वित्तीयतर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ।

महानगरले कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालय तर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ।

भरतपुरको बजेट ४ अर्ब ८१ करोड, कृषि क्षेत्रलाई प्राथमिकता

भरतपुर महानगरपालिकाले गत वर्ष भन्दा ६५ करोड बढी बजेट विनियोजन गरेको छ। नवौँ नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो। यसअघि आठौँ नगरसभामा महानगरले ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रक्षेपण गरेको थियो।

आज नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ।

आगामी वर्ष हरेक वडालाई १ करोड ७० लाखका दरले २९ वडालाई एकमुष्ठ बजेट ४९ करोड ३० लाख, अधुरा योजनाको निरन्तरताका लागि ९८ करोड विनियोजन गरिएको छ। गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा २ करोड, शिक्षा विकासमा १२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि कोभिड कोषका लागि १ करोड ९० लाख विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ ९ करोड, सहकारी तथा रोजगारी प्रवर्द्धनमा ३ करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा ८ करोड ७० लाख, युवा तथा खेलकुदमा ३ करोड बजेट विनियोजन गरिएको छ। महानगरले कृषि यन्त्र उपकरणमा ५० प्रतिशत अनुदान दिने नीति लिएको छ। ​

ललितपुरमा विवाद

ललितपुर महानगरपालिकाले आज बजेट पेश गर्न नसक्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभाको बैठक बहुमत सदस्यले बहिस्कार गरेपछि बजेट पेस हुन नसकेको हो।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको नगर सभा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेपछि १ बजेलाई सारिएको थियो। हिजो नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएको भन्दै बहुमत सदस्यले बजेट अधिवेशन बहिष्कार  गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.