|

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा नेपाली कांग्रेस सयौं गुणा वामपन्थी भएको बताएका छन्। 

केही दिनअघि आफूलाई ओलीले फोन गरेर 'कांग्रेससँग मिलेर वामपन्थीको सरकार सिध्याउन लागेको' भनेपछि आफूले ओलीलाई यस्तो जवाफ दिएको प्रचण्डले बताए। प्रचण्डले बिहिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पाँच विपक्षी दलले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग आयोजित परामर्श कार्यक्रममा बोल्दै सो कुरा सार्वजनिक गरेका हुन्।

'केहीदिन अघि उहाँ (ओली) ले मलाई फोन गर्नुभयो र सोध्नुभयो, तपाईं शेरबहादुर र कांग्रेसलाई बोकेर हामीलाई सिध्याउन हिँड्नुभएको छ, वामपन्थी सरकार सिध्याउने अनि कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइन? भन्नुभयो,ओलीसँगको संवाद सुनाउँदै प्रचण्डले भने, 'मैले कांग्रेस त अहिले तपाईं भन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो त गर्नुहुन्छ के?

प्रचण्डले थपे, 'उ संविधान रक्षा गर्नुपर्छ भन्छ,तपाईं संविधान सिध्याउन हिँड्नुभएको छ। कांग्रेस लोकतन्त्रको रक्षा गर्न विदेशीको टाङमुनि छिरेर दलालहरूलाई ल्याउन थाल्नुभएको छ। अनि कांग्रेस दक्षिणपन्थी तपाईं वामपन्थी कसरी हुन्छ? भनेपछि उहाँले भाषण धेरै नगर्नुस् भन्नुभयो।'

यो गठबन्धन कुनै अवसरवादी नभएको उनको जिकिर छ। केपी ओलीको निरंकुशताका कारण लोकतन्त्रवादी र वामपन्थी एकैठाउँमा आउनुपरेको उनले बताए।

'अब त जनताले पनि ओली भिलेन रहेछन् भन्ने थाहा पाइसके' प्रचण्डले भने, 'त्यसैले यो गठबन्धन सत्ता स्वार्थको लागि मात्रै होइन। यसमा शंका गर्नुपर्दैन।'

हामीभन्दा राम्रा नेता ल्याए राजनीति छाड्छाैं

 प्रचण्डले आफूहरू भन्दा राम्रा नेता ल्याए राजनीति छाड्न तयार रहेको पनि बताए।

'अब हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौं।' प्रचण्डले सम्पादकहरूलाई भने, 'ल भन्नुस् आजै, तिमीहरूले सकेनौ हामी गर्छौं भने पनि ठीकै छ।' 

उनले विपक्षी गठबन्धनका नेता र केपी ओली उस्तै नभएकाे जिकिर पनि गरे। 

'थोरै प्रश्न उठ्ने वित्तिकै प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री त्याग्नुभन्दा देशै डुबाइदिन्छु भन्ने केपी ओली उस्तै उस्तै हो ? सम्पादकहरूले उठाएको प्रसङ्गमा प्रतिप्रश्न गर्दै प्रचण्डले भने, 'शेरबहादुर देउवा र प्रचण्डहरूको बीचमा सहमति हुँदा सजिलै सहमति पालना गरेर छोड्ने उस्तै हो ? कसरी उस्तै उस्तै हुन्छ भन्या? तपाईँहरूले पनि यसरी उस्तै उस्तै भनेपछि हामी त सारै ठूलो अन्यायमा पर्यौं । 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.