|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बिहीबार उपमहानगरको नवौं नगरसभामा उपमेयर मीना लामाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन्। उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रहेको बजेटलाई ६ करोड ७६ लाख १८ हजार बृद्वि गर्दै आगामी आवको लागि बजेट ल्याएको छ।

उपमहानगरले विनियोजन गरेको रकममध्ये २४ करोड ३८ लाख ७५ हजार आन्तरिक स्रोतबाट, ५६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजश्व बाँडफाँडबाट, १२ करोड ६६ लाख ९६ हजार प्रदेश सरकारको अनुदानबाट, एक अर्ब दुई करोड एक लाख संघीय सरकारको अनुदानबाट र नौ करोड नगर विकास कोषबाट ऋण अनुदान तथा ५६ करोड गत वर्षको नगद मौज्दातबाट बेहोरिने जनाएको छ।

उपमहानगरपालिकाले सबैभन्दा धेरै भौतिक पुर्वाधार निर्माणको लागि एक अर्ब २० करोड ४५ लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक विकास कार्यक्रमको लागि १२ करोड ९८ लाख विनियोजन गरेको उपमेयर लामाले जानकारी दिइन्।

स्वास्थ्यको लागि आठ करोड ७६ लाख १० हजार रुपैयाँ बजेट छुट्याइएको छ। खेलकुदको लागि तीन करोड ७२ लाख ८० हजार रुपैयाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकणको लागि तीन करोड ७ लाख र सस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि एक करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ।

उपमहानगरले एकिकृत बसपार्क तथा टर्मिनल भवन निर्माण, बहुउद्देशिय व्यापारिक भवन निर्माण, सडक स्तरोन्नती र कर्रा करिडोर निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ। त्यस्तैगरी डाइलासिस मेसिन खरिद , प्लाज्मा उत्पादनको मेसिन खरिद, स्वास्थ्य उपकरण खरिदजस्ता कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.