|

जनकपुरधाम : सरकारले चुरे संरक्षणको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जंगल र खोला किनार अवैध रुपमा खुल्ने गरेका क्रसर उद्योगको कारण चुरे संरक्षणमा चुनौती बन्दै गएका छन्।

धनुषा र महोत्तरीको सिमानामा रहेको रातु खोला किनारमा मात्रै वरिपरि गरी ५ वटा क्रसर उद्योग अवैध रूपमा सञ्‍चालनमा छन्। अवैध रुपमा बालुवा, गिट्टी उठाउने गरेका कारण वन जंगल विनास भइरहेको छ।

सरोकारवाला निकाय यसलाई रोक्नको लागि गम्भीर नेदेखिएका कारण समस्या बढ्दै गएको छ। वन विनास अत्यधिक रुपमा बढेको छ भने क्रसर उद्योगले जथाभावी रुपमा नदीबाट बालुवा, गिट्टी निकाल्ने गरेका छन्। क्रसर उद्योगका कारण तटबन्ध जोखिममा परेको छ। रोक्नुपर्ने निकायले नै ती उद्योगसँग लाभ लिँदा समस्या देखिएको हो।

किसान नगरका रीता भट्टराईले खोला किनारमा रहेको क्रसरले बालुवा लिएर जाँदा आफ्नो घरमा समेत बालुवा पसेको बताइन्। उनले भनिन्, ‘राति राति बालुवा ओसार्दा हैरान भएको छु। जथाभावी बालुवा झिक्दा तटबन्ध नै भत्किने खतरा रहेको छ।’

धनुषा र महोत्तरीको सीमामा रहेको रातु पुल २०७१ मा भत्किनुको कारण पनि यही क्रसरहरू रहेको लालगढका स्थानीयवासी महेश बस्नेतले बताए। उनले भने, ‘अहिले पनि ३५ घरधुरी जोखिममा छन्।’

मापदण्डबिना क्रसर उद्योग

क्रसर उद्योग सञ्‍चालन गर्दा घरेलु तथा साना उद्योग कार्यालयले तोकेको मापदण्डअनुसार खोला किनार तथा राजमार्गदेखि ५०० मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, साँस्कृतिक परातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनाबस्तीदेखि २०० मिटर तथा चुरे क्षे देखि एक किलोमिटर टाढा हुनुपर्ने प्रावधान छ।

तर, यस्ता मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्‍चालन गरिएका छन्। घरेलु तथा साना उद्योग कार्यालयले त्यसतर्फ चासो नदिँदा समस्या भएको स्थानीयहरूले आरोप छ।

लगातार दोहन

खोला उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा, जिल्लाबाहिर तथा भारतसमेत निकासी हुने गरेको छ।

तत्कालीन जिल्ला विकास समिति र अहिले स्थानीय तहहरू नगरपालिका र गाउँपालिकाहरूले आन्तरिक आम्दानीका लागि खोला ठेक्का लगाउने र एक्साभेटर जेसिभी प्रयोग गर्न दिने, उद्योगको नियमन गर्ने जिम्मा पाएको घरेलु तथा साना उद्योग कार्यालय, हालको स्थानीय सरकार, जिल्ला समन्वय समितिले कानुनी अधिकार प्रयोग नगर्दा खोलाको दोहन नरोकिएको हो।

चुरे आफैँमा कमलो हुन्छ। चुरे क्षेत्रबाट अनियन्त्रित तरिकाले उत्खनन् गरिएपछि नदी तथा खोलाको बग्ने दिश नै परिवर्तन हुन्छ भने कटान बढ्दै जान्छ।

भूक्षयको खतरा बढ्दै

सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरीका अध्यक्ष कुमार घिमिरे चुरे क्षेत्रमा जथाभावी रुपमा बढेको क्रसर उद्योगको कारण तराईमा भू–क्षयको खतरा बढ्दै गएको बताउँछन्। उनले भने, ‘यसलाई रोक्न ठोस नीतिको आवश्यक्ता छ। अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गरिनुपर्छ।’

पाँचवटा खोला प्रणाली जलाधार क्षेत्रको (पसाहा, भेडाहा, चाँदी, चारनाथ र तावा खोला) अध्ययनको सिलसिलामा प्राप्त तथ्यांकका आधारमा सामाजिक र आर्थिक प्रभाव मूल्यांकन गरिएको छ।

तावा खोलाको बहावका कारण बर्सेनी दुई तीन जनाले ज्यान गुमाउनु परेको स्थलगत तथ्यांकबाट देखिन्छ। खोला तटीय क्षेत्रका प्रभावित पाँच प्रमुख सूचनादाता किसानहरूको २ सय ३६ कट्ठा जमिन बगर भएको छ भने ६ लाख ४० हजार वार्षिक बालीनाली क्षति भएको देखिन्छ।

यसको आधारमा ती खोलाहरूको सन् १९९४ र २०१० बीचको भूउपयोग परिवर्तन विश्लेषणबाट अनुमानित कुल ४ हजार ३ सय ८९ हेक्टर अर्थात् १ लाख ३१ हजार ६ सय ७० कट्ठा कृषि जमिन कटान डुबान भई रु. ४६ करोढ ६९ लाख २४ हजार ५ सय वार्षिक नोक्सानी भएको अनुमान गरिएको छ।

महोत्तरीमा चुरे

महोत्तरीमा चुरे भूभाग बर्दिवास नगरपालिका क्षेत्रमा पर्दछ। यस क्षेत्रबाट मुख्य रातो र मड्हा गरी २ नदी प्रणाली रहेको छ।

रातो नदी प्रणालीमा वर्दिवास र जलेश्वर नगर क्षेत्रसहित पशुपतीनगर, सीतापुर, हत्तिसर्वा, सिंग्याही, लोहारपट्टी, बगडा, बनौटा, सरपल्लो, साढा, गोनरपुरा, डाम्ही मड्ही, कोलुवा बगेवा, अंकार ग्रामीण क्षेत्रहरू प्रभावित बनेको छ। यस क्षेत्रमा २९, ३५८ घरधुरीका १६३२३१ जना बसोबास गर्दछन्।

रातु नदीको प्रभावित क्षेत्रमा १९२२३ हेक्टर कृषि क्षेत्र ६३७० हेक्टर वन क्षेत्र र २१२९ हेक्टर सार्वजनिक जग्गा पर्दछ।

त्यसैगरी मड्हा नदी प्रणालीमा खयरमारा, लक्ष्मिनिया, भरतपुर, फुल्काहा, सुन्दरपुर, खयरबनी र रघुनाथपुर जस्ता गाउँहरू पर्दछ। यस नदि प्रभावित क्षेत्रमा ११५५७ घरधुरीका ६६७५१ जना बसोबास गर्दछन्। १०८५९ हेक्टर वन क्षेत्र १०१८९ हेक्टर कृषि क्षेत्र र १७४६ हेक्टर सार्वजनिक जग्गा रहेको छ।

यी क्षेत्रका बासिन्दाहरू जहिले पनि जोखिममा रहेका छन्। प्रत्येक वर्ष यस क्षेत्रमा जन धनको क्षति हुने गरेको छ।

के भन्छन् चुरे विज्ञ?

अहिले बस्ती-बस्ती सखाप पार्नेगरी बढेको बाढीको जोखिमको निदान शिरदेखि नै बुझ्नु पर्ने महोत्तरीकै भंगहा – ७ का बासिन्दा डा विजयकुमार सिंह बताउँछन्। चुरे विषयमै विद्यावारिधि गरेका सिंहले चुरे श्रृंखलामा बढेको अव्यवस्थित बसोबास, विकासका नाउँमा सडक विस्तार गर्न वैज्ञानिक अध्ययनबिना नै पहाड भत्काउने बढ्दो लहर, चुरे र नदीमा हुने निरन्तरको अनियन्त्रित उत्खनन, खोल्सी व्यवस्थापनमा देखिने उदासीनता र वन विनाश नै बाढी र पहिरोका मुख्य कारण बनेको बताए।

‘अहिले त केही बस्ती जोखिममा रहेका, केही घर बाढीले लगेका र केही जग्गा कटान भएका समस्या सुन्दैछौँ’, डा सिंहले भने, ‘चुरे पहाडी शृंखला, नदी र वनमा हुने लुछाचुँडी तत्काल नरोकिने हो भने सिङ्गो भावर कटान र मधेश डुबानमा पर्नेछ, यहाँका उब्जाउ जग्गा बालुबुर्ज मरुभूमिमा परिणत हुनेछन्।’

धेरैजसो केन्द्र र प्रदेश नीतिमा यी कुरामा भर गरे पनि सम्बन्धित स्थानीय तहको संकल्प र प्रतिबद्धता भए धेरै कुरा ‘लिक’ मा आउने डा सिंहको विश्वास छ। यद्यपि यस भेगका धेरैजसो स्थानीय तहको नेतृत्व क्रसर सञ्चालककै वरिपरि देखिनाले तत्काल सकारात्मक कदमका लागि अब जनदवाब नै आवश्यक देखिएको डा सिंह बताउँछन्।

अवैज्ञानिक र अनियन्त्रित उत्खनन रोक्ने

यसैबीच चुरे शिखरसम्म भूगोल समेटिएको जिल्लाको एकमात्र बर्दिबास नगरपालिकाले अवैज्ञानिक र अनियन्त्रित उत्खनन हुने क्रम रोक्ने जनाएको छ।

‘विधि, प्रक्रिया र मापदण्ड नाघेर हुने/भएका उत्खनन रोक्न हामीले निर्णय नै गरेर कारबाही अघि बढाएका छौँ’, नगरप्रमुख विदुरकुमार कार्कीले भने, ‘स्थानीय प्रहरी प्रशासनको साथ पाए जथाभावी उत्खनन रोक्न सकिने हाम्रो विश्वास छ।’

नगरपालिकाले यस्तो प्रतिबद्धता जनाए पनि रातु नदी र नदी उकास क्षेत्रमा उत्खनन नरोकिएको यस भेगका बासिन्दा बताउँछन्। ‘खै यी खोला खन्ने ठेकेदार र क्रसर सञ्चालकको तारतम्य कताकता जोडिएको छ, बुझ्नै गाह्रो ?’, बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्छन्, ‘नगरप्रमुखले अनियन्त्रित उत्खनन रोक्ने प्रतिबद्धता जनाउनु भए पनि डोजर, एस्काभेटर चल्न छाडेका छैनन्।’

कागजले चेतावनी दिएर मात्र नभई अनियन्त्रित उत्खनन गर्नेलाई कारवाही प्रक्रिया मै लगिए मात्र यो क्रम नियन्त्रण हुनसक्ने दाहाल सहितका यस भेगका सर्वसाधारण बताउँछन्। जिल्लाका १५ स्थानीय तहमध्ये बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा क्रसर सञ्चालन हुँदै आएका छन्।

चुरे जोगाउन ‘एक विद्यार्थी, एक विरुवा अभियान

मासिँदै गएको चुरे संरक्षणमा टेवा पुर्‍याउन महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित  राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाका विद्यार्थीहरूलाई फलफूलको बोटबिरुवा वितरण गरिएको छ।

जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीको पहलमा डिभिजन वन कार्यालय जलेश्वरले विद्यालयलाई आँप, लिच्ची, अम्बाको ५ सय  बिरुवा उपलब्ध गराइएको थियो।

‘एक विद्यार्थी, एक बिरुवा अभियान’ अन्र्तगत विद्यालयका सबै विद्यार्थीहरूलाई फलफूलको विरुवा वितरण गरिएको हो।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव तथा युवा पत्रकार राजकरण महतोको समन्वयमा डिभिजन वन कार्यालयले सञ्जाललाई बिजलपुरा र पशुपतिनगरका लागि १ हजार विभिन्न जातका विरुवा उपलब्ध गराएको छ।

‘युवाको एकता, देशको सफलता’ भन्ने नाराका साथ जनसहयोगी युवा सञ्जालले गाउँघरलाई हराभरा बनाउन हरित अभियान संचालन गरेको सञ्जालका अध्यक्ष परमेश्वर महतोले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.