स्वास्थ्य र रोजगारीलाई प्राथमिकता, दोगडाकेदारले छोरी जन्माउने आमाको पोषणभत्ता बढायो

|

बैतडी : चार नगर र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका नौ स्थानीय तहले २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

डिलाशैनी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्। सदरमुकामस्थित बैतडीको दशरथचन्द नगरपालिकाको नगरसभाले ७२ करोड  ६१ लाख २२ हजार ३८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  

नगरसभामा  नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख मीना चन्दले आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेको बताइन्।

विदेशबाट फर्किएकालाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भारतसंग सीमा जोडिएको झुलाघाट नाकाको हेल्थ डेस्कलाई व्यवस्थित बनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई सहुलियत बीमा र थप सुविधा दिई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ।

यसैगरी नगर उपप्रमुख मातृ शिशु सुरक्षा योजनालाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै शिक्षा क्षेत्रमा विद्यालय मर्ज कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय पाठ्यक्रम तयार पार्ने, कम्तीमा एक वडालाई बालमैत्री वडा घोषणा गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

सबै नगरबासीका खानेपानीमा पहुँच पुर्‍याई सुरक्षित पानीयुक्त समुदाय घोषणा गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसैगरी धार्मिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने, लक्षित समुदायका लागि विभिन्न खालका कार्यक्रम सञ्चालन  गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

यस्तै भौतिक पूर्वाधार तर्फ नगर सडक यातायात गुरु योजना तयार पार्ने, विद्युत नपुगेका वडाहरू विद्युतीकरण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

यसैगरी कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न कृषि उपकरण तथा औजार खरिदमा अनुदान दिइने, कृषि तथा पशुपकेट क्षेत्रमा महिला किसानहरूको सहभागिता बढाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। 

मेलौली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५९ करोड २२ लाख ८८ हजार बराबरको बजेट ल्याएको छ। 

नगरपालिकाले अधिकांश विगतकै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। 'समृद्ध मेलौली नगरपालिकाको आधार, कृषि,पर्यटन र पूर्वाधार' भन्ने नारालाई साकार तुल्याउने हिसाबले नीति तथा कार्यक्रम र बजेट तयार पारेको उपप्रमुख राधा ओझाले बताइन्। 

यस्तै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। आर्थिक समृद्धिको पहिलो आधार कृषि रहेको भन्दै नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै कोभिडजस्ता महामारीसँग सामाना गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै परम्परागत सीपहरूको आधुनिकीकरण गरी नगरबासीको आयआर्जनमा वृद्धि ल्याउने कुरा पनि उल्लेख गरिएको छ। यसैगरी ल्याण्ड फिल साइड निर्माणका लागि जमिनको खोजी गर्ने र डम्पिङ साइड निर्माण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि उपमेयरको कोसेली कार्यक्रमलाई निरन्तरता दिने र विदुर भत्तामा केही थप गरिने समेत उल्लेख गरिएको छ।

नगरपालिकाले आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख गरिएको छ। यस्तै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ।

बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड १३ लाख ९९ हजार बराबरको बजेट नगरसभामा पेश गरेको छ। उज्यालो पुर्चौंडी नगरवासीको चाहना, विकास र समृद्धि नगर सरकारको परिकल्पना भन्ने नारामा आधारित रहेको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन्।

नगर क्षेत्रभित्र विद्युतीकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ। यस्तै विगतका कार्यक्रमहरूलाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ।

पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ। ६१ करोड २३ लाख, ५० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ।

११ औं नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको नगर उपप्रमुख सरस्वती कोलीले बताइन्। नगरपालिकाले कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको कोलीको भनाइ छ। 

यस्तै कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समेटिएको छ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवाहरूलाई स्वरोजगार बनाउन अनुदान दिइने, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप प्रोत्साहन भत्ता दिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

यस्तै नगर स्वयं सेवक शिक्षकहरूलाई नगरपालिकाका तर्फबाट थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षमा प्रभावकारी रुपमा सञ्चालन गर्ने र त्यसका लागि नगरपालिकाको साझेदारी कार्यक्रमको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

सुर्नया गाउँपालिका

सुर्नया गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ७ लाख ९३ हजार बराबरको बजेट ल्याएको छ। गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष लीला बिष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन्। 

नीति तथा कार्यक्रम र बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, वातावरण संरक्षण प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। 

अगामी आर्थिक वर्षमा गाउँपालिकाले कार्यविधि बनाएर प्रहरी भर्ना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसैगरी एम्बुलेन्स सञ्चालनमा ल्याउने, कम्तीमा दुई ओटा विद्यालयलाई नमुना विद्यालय बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिए।

यस्तै कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ। एक बस्तीमा एक नमूना योजना बनाउने कार्यक्रम अघि सारिएको छ भने दलित बस्तीहरूलाई नमुना बस्तीको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिनेछ भने एक घर एक करेसाबारी कार्यक्रम लागू गरिने उल्लेख गरिएको छ। 

गाउँपालिकाका सडकसँग जोडिएका मुख्य बजारहरूमा सडक सौर्यबत्तीको व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसैगरी मौरीपालनका लागि उपयुक्त वडाहरूमा एक घर एक घार कार्यक्रम अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ। 

गाउँपालिकाको केन्द्र पबिता जोड्नका लागि मोटरेबल पुल निर्माणको कामलाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।आगामी आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषको स्थापना गर्ने र विपद् व्यवस्थापन योजना बनाउने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

सिगास गाउँपालिका

सिगास गाउँपालिकाले पनि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नवौँ गाउँसभामा उपाध्यक्ष द्रोपदी चन्दले ४२ करोड ४९ लाख ६२ हजार १ सय ६० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि सडक विस्तारका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ। यस्तै पालिकास्तरमा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम जोड दिने गाउँपालिकाको नीति रहेको छ। 

कृषि क्षेत्रलाई समृद्धिको आधार मान्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कोरोना महामारी नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि 'उपाध्यक्षको कोसेली' कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस्तै सिगास गाउँपालिका वडा नम्बर १ मा पत्ता लागेको फलाम खानी उत्खनन कार्य गर्न सहज वातावरण सिर्जना गर्ने कुरा पनि उल्लेख गरिएको छ।

शिवनाथ गाउँपालिका

शिवनाथ गाउँपालिकाले पनि बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट ल्याएको छ। गाउँपालिकाले ३४ करोड ५२ लाख २२ हजारको बजेट ल्याएको हो।

गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कृषि उपजको उत्पादनलाई बढाउने र पालिकाबासीलाई स्वारोजगारतर्फ उन्मुख गराउने उद्देश्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष चन्दले बताइन्।

यसैगरी एकल महिलाहरूको समूह गठन गरी उनीहरूकै मागका आधारमा सीपमूलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकाले कोरोना माहामारीको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुका साथै अधिकांश विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ। 

पञ्चेश्वर गाउँपालिका

पञ्चेश्वर गाउँपालिकाले बिहीबार ३७ करोड ९३ हजारको बजेट ल्याएको छ। उपाध्यक्ष बिना भट्टद्वारा प्रस्तुत नीति  तथा कार्यक्रम र बजेटमा स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।

कोरोनाका कारण रोजगारी गुमेका युवाहरूलाई कृषि र पशुपालनमा आबद्ध गराइने गाउँपालिका प्रवक्ता दशरथ मंगोलाले बताए। पञ्चेश्वरले पनि अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ।

दोगडाकेदार गाउँपालिका

दोगडाकेदार गाउँपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। गाउँपालिकाको सातौँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले ५८ करोड ४ लाख ९८ हजार रकम बराबरको बजेट पेस गरेकी हुन्।

नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, युवा स्वरोजगार लगायतका विषयलाई प्रथमिकतामा राखेको छ। विगतका वर्षदेखि सञ्चालनमा रहेका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ।

छोरी जन्माउने आमालाई विगतमा १ हजार पोषण भत्ता दिइँदै आएकोमा उक्त रकम २ हजार पुर्‍याइएको छ भने लैगिंक हिंसा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

हिंसामा परेका महिलालाई स्वरोजगार, उपचार तथा पुनर्स्थापना गरिने बताइएको छ। यसैगरी गरिब परिवारलाई प्रोत्साहन गर्ने कार्यक्रमअन्तरगत महिनामा २० युनिटभन्दा कम विद्युत् उपभोग गर्ने व्यक्तिको महसुल गाउँपालिकाले तिर्ने कार्यक्रम ल्याइएको छ।

अधिकांश विगतका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका उपाध्यक्ष कार्कीले बताइन्। आगामी आवको बजेटमा बेरोजगारी हटाउन कृषि र पशुपालनलाई प्राथमिकतामा राखिएको छ।

बैतडीका १० ओटा स्थानीय तहमध्ये डिलाशैनी गाउँपालिकाले समयमा नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेस गरेको छैन। असार १० गतेभित्र पालिकाहरूले आफ्नो सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट पेस गर्नुपर्ने भए पनि डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो। 

तयारी अपुग भएकाले अबको एक हप्ताभित्रै बजेट आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.